Logo

२०८३ कार्तिक १६ गते सोमवार

२०८३ कार्तिक १६ गते सोमवार

युवा पुस्ताको भावना सम्बोधन गर्न संविधान संशोधन आवश्यकः उपसभापति शर्मा

युवा पुस्ताको भावना सम्बोधन गर्न संविधान संशोधन आवश्यकः उपसभापति शर्मा


  • 1.5K
    Shares

    युवा पुस्ताको भावना सम्बोधन गर्न संविधान संशोधन आवश्यकः उपसभापति शर्मा
    images

    काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको समृद्धि र नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न संविधान संशोधनको प्रक्रियालाई गम्भीरतापूर्वक अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । 

    पार्टी केन्द्रिय कार्यालय वीपी स्मृति भवनमा आयोजित कार्यक्रममा बोल्दै शर्माले बदलिँदो समय र युवा पुस्ताको चाहना अनुरूप संविधानलाई गति दिनुपर्ने बताएका हुन् । उपसभापति शर्माले वर्तमान समयमा उब्जिएका प्रश्न र अपेक्षाहरूलाई सही ढङ्गले निरूपण गर्न नसकिए आगामी दशकमा मुलुकले गम्भीर संकटको सामना गर्नुपर्ने चेतावनी दिएका छन्। संविधान संशोधनको विषयलाई दलगत स्वार्थभन्दा माथि राखेर राष्ट्रिय सहमतिका आधारमा अगाडि बढाउनुपर्ने उनको तर्क छ । 

    आवेग र आग्रहबाट मुक्त भएर नागरिक तथा युवा पुस्ताको भावनालाई केन्द्रमा राखी संविधान परिमार्जन गर्नुपर्नेमा उनले जोड दिएका छन्। नेपाली काँग्रेसले संविधान संशोधन र समसामयिक राजनीतिक विषयमा गृहकार्य गर्न उपसभापति पुष्पा भुसालको नेतृत्वमा विज्ञ टोली परिचालन गरेको जानकारी समेत शर्माले दिएका छन् । उहाँले यस प्रक्रियामा पार्टीभित्र र बाहिरका सबै बौद्धिक व्यक्तित्व, आलोचक तथा आम नागरिकको रचनात्मक सुझावको अपेक्षा गरिएको बताएका छन् । 

    उनले भने, ‘अहिलेका युवाहरूको आशालाई विश्वासमा बदल्न सकिएन भने १० वर्षपछिको स्थिति भयावह हुनसक्छ । अहिलेको ‘अल्फा जेनेरेसन’ वयस्क हुँदा फेरि नयाँ विमति र विद्रोह लिएर सडकमा उभिने वातावरण बन्न दिनु हुँदैन । हामी फेरि आमाहरूको काख रित्तिएको र सिंहदरबार जलेको दृश्य हेर्न चाहँदैनौँ ।’

    आजको युवा पुस्ताको मुख्य चाहना ‘लोकतन्त्र र विकास’ (डी एन्ड डी- डेमोक्रेसी एन्ड डेभलपमेन्ट) रहेको उल्लेख गर्दै उपसभापति शर्माले लोकतान्त्रिक ढाँचाभित्रै रहेर यी दुवै लक्ष्य हासिल गर्न काँग्रेस प्रतिवद्ध रहेको स्पष्ट पारेका छन् । देश सबैको साझा आँगन भएको उल्लेख गर्दै उनले सरकार र प्रतिपक्ष दुवैले जिम्मेवार भएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्। 

    प्रकाशित मिति :जेठ ३ २०८३ आइतवार - १५:१७:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij