Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

३ लाख नदिएसम्म उड्न दिन्न भनेपछि म्यानपावरमाथि स्टिङ अपरेसन, पक्राउ परे एजेण्ड

३ लाख नदिएसम्म उड्न दिन्न भनेपछि म्यानपावरमाथि स्टिङ अपरेसन, पक्राउ परे एजेण्ड


  • 1.9K
    Shares

    ३ लाख नदिएसम्म उड्न दिन्न भनेपछि म्यानपावरमाथि स्टिङ अपरेसन, पक्राउ परे एजेण्ड
    images

    काठमाडौं । सेक्युरिटी गार्डमा मलेसिया जान लागेका सप्तरीका अजय कुमार यादवको फ्लाइट गत वैशाख २९ गते थियो । सरकारको फ्रि भिसा फ्रि टिकेटको नीति अनुरूप म्यानपावर कम्पनीलाई प्रोसेस गरिदिएकामा बढीमा १० हजार रूपैयाँमात्र तिर्नुपर्नेमा यादवले नगद ७० हजार रुपैयाँ तिरिसकेका थिए ।

    तर, कोटेश्वरको ग्रान्ड स्विट जब नाम गरेको म्यानपावरले ३ लाख रुपैयाँभन्दा एक रुपैयाँ पनि कम लिन्नु भनेपछि उनी मलेसिया उड्न पाएनन् । उता रोजगारदाता कम्पनीले भिसा र टिकट पठाइसकेको थियो । तर, ३ लाख रुपैयाँ नतिर्दा विदेश गएर कमाउँछु भन्ने अजयको सपना साकार हुन सकेन ।

    म्यानपावर कम्पनीले बाँकी २ लाख २० हजार रुपैयाँ तिरे जेठ ३ गते उडाइदिने बतायो । त्यसपछि उनले पैसाको जोहो गरे । नाइट गाडी चढेर शनिबार बिहान काठमाडौँ ओर्लिए । कम्पनीको एक जना कर्मचारीले शनिबार बिहान अजयलाई फोन गरे । पासपोर्ट र अरू कागजात आफूसँग भएको बताउँदै ती कर्मचारीलाई तीनकुने गैरीगाउँस्थित पेट्रोलपम्प अगाडि पैसा लिए भेट्न बोलाए । त्यतिबेलासम्म अजयले युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको सचिवालयलाई आफूले भोगेका समस्या सुनाइसकेका थिए । अजय रामजीकै निर्वाचन क्षेत्रका मतदाता हुन् ।

    अजयको समस्या समाधान गर्न मन्त्री यादवका स्वकीय उपसचिव सरोज यादव आफैँ खटिए । केही सञ्चारकर्मीका साथ तीनकुनेस्थित प्रहरी वृत्त पुगे । त्यहाँ प्रहरी अधिकारीहरूका साथ सो टोली अजय र म्यानपावरका ती कर्मचारी भेट्दै गरेको ठाउँसम्म पुग्यो । म्यानपावरमा भिसा शाखामा काम गर्ने बताउने ती कर्मचारीले सुरुमा अजयसँग पैसा मागे । अजयले पासपोर्ट र कागजात दिएपछि मात्र पैसा दिन्छु भनेपछि केहीबेर भनाभन भयो । त्यतिबेलै प्रहरीले म्यानपावरका ती कर्मचारीलाई नियन्त्रणमा लियो ।

    फ्रि भिसा फ्रि टिकेट नीतिअनुसार १० हजारमा हुने काममा ३ लाख मागेको स्वीकारेपछि ती कर्मचारीलाई तीनकुने प्रहरीले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पुर्‍याइयो । ग्रान्ड स्विट जबका ती कर्मचारीको साथबाट ४ वटा पासपोर्टसहित फ्लाइट टिकेट र अन्य महत्त्वपूर्ण कागजात रहेको पाइयो । उनले चारै जनासँग रकम लिएर कागजात दिने मनसाय बनाएको पाइएको छ ।

    वैदेशिक रोजगारीको नाममा सोझा कामदारहरूलाई ठगी गर्ने र फ्री भिसा फ्री टटिकको नियम उल्लङ्घन गर्दै लाखौं रकम असुल्ने म्यानपावरका एजेन्ट पक्राउको घटनाले कसरी सोझा नागरिक ठगिइरहेका छन् भन्ने प्रमाणित गरेको छ । श्रम मन्त्री यादवका स्वकीय सचिव सरोज भन्छन्, तीनकुनेस्थित गैरीगाउँमा आज एक सोझो नेपाली ठगिनबाट रोकेका छौँ । यो विशेष योजनामा साथ दिनु हुने प्रहरी अधिकारीहरूलाई हार्दिक धन्यवाद ।

    यादव मलेसियामा सेक्युरिटी गार्डको कामका लागि जाने प्रक्रियामा थिए । उनले सो म्यानपावरको झापास्थित शाखा कार्यालयबाट सबै प्रक्रिया पूरा गरेका थिए । मलेसिया जानका लागि सरकारले तोकेको आधिकारिक शुल्क जम्मा १० हजार रुपैयाँ मात्र भए तापनि म्यानपावरले यादवसँग ३ लाख १० हजार रुपैयाँ माग गरेको हो । म्यानपावरले सुरुमा १० हजार छुट गरिदिने भन्दै ३ लाख रुपैयाँमा कुरा मिलाएको थियो । पीडित यादवले टिकट र अन्य प्रक्रियाका लागि भन्दै यसअघि नै ७० हजार रुपैयाँ नगद बुझाए पनि बाँकी पैसा नबुझाएसम्म उनको राहदानी, श्रम स्वीकृति र हवाई टिकट नदिने भन्दै म्यानपावरले बन्धक बनाएको थियो ।

    पक्राउ परेका एजेन्टले सुरुमा आफूले पैसा लिएर मात्र कागजात दिन लागेको दाबी गरे तापनि प्रहरीले ुफ्री भिसा फ्री टिकट भएको देशमा किन ३ लाख रुपैयाँ मागेकोरुु भन्दै प्रश्न गरेपछि उनी चुप बनेका थिए । प्रहरीको सक्रियतामा यादवको राहदानी, श्रम स्वीकृति, बिमा र हवाई टिकट बरामद गरी हस्तान्तरण गरिएपछि यादव आइतबार मलेसिया उड्न पाउने सुनिश्चित भएको छ ।

    यादवले खुसी व्यक्त गर्दै भने, सुरुमा म्यानपावरले पैसा लाग्दैन, अन्तर्वार्ता पास भएपछि सबै मिलाउँला भन्यो । तर जब भिसा आयो, तब ३ लाख नदिए जान पाउँदैनौ भन्दै धम्क्याउन थाल्यो । गरिब मान्छेले ऋण काढेर पैसा ल्याउनुपर्ने, त्यसमाथि यस्तो लुटधन्दा गर्नेलाई कडा कारबाही हुनुपर्छ ।

    श्रममन्त्री यादवको सचिवालयले वैदेशिक रोजगारीमा जाँदा कुनै पनि समस्या परेमा सिधै श्रम मन्त्रालयमा सम्पर्क गर्न अपिल समेत गरेको छ । पक्राउ परेका एजेन्टमाथि थप कानुनी कारबाहीका लागि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

    प्रकाशित मिति :जेठ ३ २०८३ आइतवार - ११:१३:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij