२०८२ भाद्र १० गते मंगलवार
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले तेस्रो बिहे गरेका छन् । प्रधानमन्त्री जोन्सनले आफ्नी प्रेमिकासँग शनिबार गुपचुप विवाह गरेका हुन् ।
बेलायती सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री जोन्सनले एकदमै कम व्यक्तिको उपस्थितिमा आफ्नी प्रेमिका क्यारी सिमोन्ड्ससँग विवाह गरेका हुन् ।
प्रधानमन्त्री जोन्सन अहिले ५६ वर्षका भए । उनले आफूभन्दा ३३ वर्ष कम उमेरकी प्रेमिका सिमोन्ड्ससँग बिहे गरेका हुन् । वेस्टमिनस्टर क्याथेड्रलमा प्रधानमन्त्रीको विवाह सम्पन्न भएको बिबिसीले लेखेको छ ।
प्रधानमन्त्री जोन्सनले कोरोना महामारीलाई मध्यनजर गर्दै सानो समारोहमा विवाह गरेको समाचारमा उल्लेख छ । बेलायतमा कोरोना महामारी नियन्त्रणका लागि जारी भएको मापदण्डमा विवाहमा ३० जना मानिसमात्र सहभागी हुन पाइने उल्लेख छ ।
यसअघि दुई विवाह गरेका जोन्सनको दुवै विवाह डिभोर्समा परिणत भएको थियो । जोन्सन र सिमोन्ड्स सन् २०१८ देखि प्रेम सम्बन्धमा थिए ।
उनीहरूले आफ्नो सम्बन्धबारे सन् २०२० मा मात्रै खुलाएका थिए । गत वर्षको अप्रिलमा सिमोन्ड्सले छोरालाई जन्म दिएकी थिइन् । एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij