२०८२ माघ १४ गते बुधवार
जनता समाजवादवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेटलाई ‘नहुने चुनावको एमाले घोषणापत्र’को संज्ञा दिएका छन्।
अर्थमन्त्री विष्णु पौडेलले शनिबार घोषणा गरेको बजेटलाई पूर्वअर्थमन्त्रीसमेत रहेका डा. भट्टराईले ‘सीधासादा जनतालाई ललिपप’ भनेका छन्।
पुरानै नारा र कार्यक्रम बजेटमा राखिएको डा. भट्टराईको टिप्प्णी छ। साथै बजेटमा आफ्नो गृहजिल्ला गोरखाका लागि कुनै कार्यक्रम नराखिएको गुनासो पनि उनले गरेका छन्।
‘अर्थमन्त्रीमार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन। सीधासादा मतदातालाई ललिपप बाँडेको देखियो,’ शनिबार राति सामाजिक सञ्जालमा डा. भट्टराईले लेखेका छन्, ‘पपुलिजममा पनि खासै सिर्जनात्मकता देखिएन। उनै घिसेपिटेका नारा र कार्यक्रम भेटियो। एउटै नयाँ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो!’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij