२०८२ माघ १४ गते बुधवार
काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा काठमाडौँ महोत्सव एवं काठमाडौँ बिजनेस एक्स्पो सुरु भएको छ ।
स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवद्र्धन गर्ने उदेश्यका आयोजना गरिएको महोत्सव माघ १७ गतेसम्म चल्नेछ ।
महोत्सवको काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले उद्घाटन गरिन्। सो क्रममा डंगोलले महिला, युवा लगायतको सशक्तिकरणका लागि आर्थिक रुपमा आत्मनिर्भर हुनुपर्ने बताइन् ।
आर्थिक रुपमा आत्मनिर्भरका साथै आफूसँग भएका सीपलाई आयआर्जनसँग जोड्नका लागि मेला महोत्सव महत्वपूर्ण हुने उनले बताइन् । उनले काठमाडौं महानगरले पनि एक वडा एक नमूना उद्यमशील कार्यक्रम आयोजना गरिरहेको र गृहिणीहरुलाई सीप सिकाउने काम भइरहेको जानकारी दिइन् ।
महोत्सवमा करिब दुईसय भन्दा बढी व्यावसायिक स्टलहरू रहेका छन् भने घरेलु तथा साना उद्योग, स्टार्टअप र नयाँ उद्यमीहरूलाई बजार पहुँच, व्यावसायिक नेटवर्किङ तथा व्यवसायिक दृश्यता प्रदान समेत गरिने नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij