२०८३ बैशाख २७ गते आइतवार
काठमाडौं । एउटा वैवाहिक समारोहमा सरिक भई भोज खाएका पाहुनाहरू एक्कासि बिरामी परेका छन्। भोज खाएको केही समयपछि उनीहरूमा उच्च रक्तचाप, कडा ज्वरो, पखाला लाग्ने र बान्ता हुने जस्ता लक्षणहरू देखिएका थिए।
भरतपुर महानगरपालिका–४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि ‘फुड पोइजनिङ’ भई बिरामी हुनेको सङ्ख्या ९३ पुगेको छ ।
बिरामी परेकामध्ये ५० जनाको अवस्था अलि जटिल देखिएकाले उनीहरूलाई स्थानीय अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ। बाँकी बिरामीहरू भने सामान्य उपचारपछि घर फर्किएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार वैशाख २३ गते भोज खाएकाहरू बिरामी हुन थालेका हुन् । बिरामीको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ । केहीको काठमाडौँको निजामति कर्मचारी ९सिभिल० अस्पताल, त्रिवि शिक्षण अस्पताललगायत स्वास्थ्य संस्थामा उपचार भइरहेको उनले जानकारी दिएका छन् ।
घटनापछि पार्टी प्यालेसका दुई जनालाई नियन्त्रणमा लिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले यससम्बन्धी थप अध्ययन गर्ने प्रहरी उपरीक्षक पुरीले जानकारी दिएका छन् ।
डिभिजन कार्यालय प्रमुख प्रमोदचन्द्र पौडेलले चिकित्सकले विषाक्त खानाका कारण बिरामी भएको मौखिक रूपमा जनाएको र बाँकी विषयमा आफूहरूले अनुसन्धान गर्ने बताएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij