Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

बल्खुको सुकुमबासी बस्तीमा पनि चल्यो डोजर

बल्खुको सुकुमबासी बस्तीमा पनि चल्यो डोजर


  • 330
    Shares

    बल्खुको सुकुमबासी बस्तीमा पनि चल्यो डोजर

    काठमाडौँ । काठमाडौँ  बल्खुको सुकुम्बासी बस्तीमा पनि डोजर चलेको छ। बल्खुको नदी किनार क्षेत्र अतिक्रमण गरी बनाइएका सुकुम्बासी बस्तीमा शहरी विकास मन्त्रालयले आज बिहानदेखि डोजर चलाएर संरचना भत्काउन सुरु गरेको हो। 

    काठमाडौँ उपत्यकामा बागमती नदी तथा सहायक नदी किनारमा रहेका बस्ती आजदेखि फेरि भत्काउन सुरु गरिएको सरकारले जनाएको छ। पहिलो चरणमा सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्ती हटाएको थियो। दोस्रो चरणमा उपत्यकाका नदी किनार अतिक्रमण गरेर बनाइएका थप बस्ती हटाउन थालिएको हो।

    बस्ती भत्काएपछि नदी किनारका बस्तीका नागरिकलाई विवरण संकलन गर्नका लागि दशरथ रंगशाला पुर्‍याइने मन्त्रालयले जनाएको छ। त्यसका लागि रंगशालामा तीन वटा सहायता कक्ष सञ्चालन गरिने पनि स्थानीय प्रशासनले जनाएको छ। पहिलो कक्षमा सूचना तथा तथ्यांक संकलन, दोस्रोमा सुकुम्बासी पहिचानका लागि स्वघोषणा फारम भर्ने तथा आवश्यक सामाजिक विवरण संकलन र तेस्रो कक्षमा गृह मन्त्रालयको टोलीद्वारा डिजिटल तथ्यांक संकलन गर्ने तयारी छ। 

    त्यस्तै, होल्डिङ सेन्टरमा लैजान नसकिने सरसामान जस्तै दराज, टेबुल, खाटको भण्डारण तथा सुरक्षाका लागि सुरक्षा निकायको सहयोग रहने जनाइएको छ। आश्रयस्थल नभएका वा स्वयं व्यवस्थापन गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरसम्म पुर्‍याउन पनि बसको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। 

    संकलित विवरणका आधारमा सुकुम्बासीको पहिचान तथा प्रमाणीकरण गरिने छ। पहिचान हुन नसकेका व्यक्तिलाई भने होल्डिङ सेन्टरबाट फिर्ता पठाइनेछ। पहिचान भएका परिवारलाई निश्चित अवधिसम्म आवश्यक सहयोग प्रदान गरिने र पुनःस्थापनाका लागि थप प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ। 

    विगतमा नदी किनार अतिक्रमण गरी भाडा वा व्यापार सञ्चालन गरेका तथा गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूको छानबिन गरिने र दोषी ठहरिए कानुनी कारबाही गरिने चेतावनी पनि मन्त्रालयले दिएको छ। 

    जिल्ला प्रशासन कार्यालय काठमाडौँले बुधबार एक सूचना जारी गर्दै जिल्लाका विभिन्न स्थानीय तहका नदी किनाराका बस्ती एवं सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वका जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा आज साँझसम्म खाली गर्न आग्रह गरेको थियो।

    images
    प्रकाशित मिति :बैशाख १८ २०८३ शुक्रवार - १०:०७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij