२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले अप्रजातान्त्रिक र असंवैधानिक हस्तक्षेप गरेर राजनीतिक संकट पैदा गरेको बताएका छन् ।
नेपाल प्रेस युनियनको ३१ औँ स्थापना दिवसको अवसरमा जुम मार्फत् आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले प्रधानमन्त्री र राष्ट्रपतिले अप्रजातान्त्रिक र असंवैधानिक हस्तक्षेप गरेर राजनीतिक संकट पैदा गराएको बताएका हुन् । प्रधानमन्त्री र राष्ट्रपतिको कदमले प्रजातन्त्रमा पनि खतरा आइपुगेको उनले बताए ।
आफुले प्रधानमन्त्रीको लागि बहुमत भन्दा बढी सदस्यको हस्ताक्षर गरेर बुझाएको भएपनि राष्ट्रपतिले प्रमाणित गर्ने प्रयास समेत नगरीकन संसद विघटन गरेको उनले उल्लेख गरे । राष्ट्रपतिले प्रधानमन्त्रीले भन्न बित्तिकै मान्नु नहुने भन्दै उनले राष्ट्रपतिले पनि संविधानको ठाडो उल्लंघन गरेको बताए । प्रधानमन्त्री र राष्ट्रपतिका कदमविरुद्ध सर्वोच्च अदालत गएकाले अदालतले न्याय गर्नेमा सभापतिले देउवाले विश्वास व्यक्त गरे ।
कोभिड १९ को संक्रमणले भयानक अवस्था सिर्जना गरेको भन्दै देउवाले सडक आन्दोलनमा जानु नहुने बताए । जनतामा गएर झन कोभिड फैलाउने अपराध गर्नु नहुने उनले स्पष्ट पारे । मिडियालाई आवाज उठाउन र प्रतिनिधि सभा विघटनको विरुद्धमा जनमत सिर्जना गर्न पनि उनले आग्रह गरे । संविधानलाई खतम पार्ने षड्यन्त्र भइरहेको भन्दै उनले त्यस्तो षड्यन्त्रलाई अदालतले परास्त गर्नेमा विश्वास व्यक्त गरे ।
सभापति देउवाले आफुले पार्टीको अधिवेशन गराएन भन्ने कलंक आफ्नो टाउकोमा राख्न नचाहाने पनि बताए । पार्टीको आगामी अधिवेशन सम्पन्न गर्नका लागि आफु तयार रहेको उनले स्पष्ट पारे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij