२०८३ बैशाख १० गते बिहिवार
काठमाडौं । जिल्लावासीलाई सहज र छरितो सेवा प्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय गुल्मीले अब घरमै राहदानी सेवा उपलब्ध गराउन सुरु गरेको छ।
सेवाग्राहीलाई कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्दै सरकारले अघि सारेको सेवा घरदैलोमै भन्ने नीतिअनुसार यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो।
नयाँ व्यवस्थाअनुसार पहिलो चरणमा रेसुङ्गा नगरपालिकाका वडा नम्बर ११, १२ र १४ मा बसोबास गर्ने नागरिकलाई लक्षित गर्दै घरमै पुगेर राहदानीसम्बन्धी सेवा प्रदान गर्न थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यो सेवा विस्तारसँगै विशेषगरी ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अशक्त तथा टाढा दुरीका कारण कार्यालयसम्म पुग्न कठिनाइ भोगिरहेका नागरिकहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।
यस कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्दै जिल्ला हुलाक कार्यालयले घर–घरमै पुगेर राहदानी वितरण गर्ने जिम्मेवारी लिएको कार्यालय प्रमुख खेतबहादुर खत्रीले बताएका छन् ।
यसले सेवाग्राहीलाई राहदानी बनाउनदेखि प्राप्तिसम्मको प्रक्रिया अझ सहज, छिटो र व्यवस्थित बनाउने विश्वास लिइएको छ ।
सेवा शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले नागरिकलाई प्रविधिमैत्री र पहुँचयुक्त सेवा प्रदान गर्नु राज्यको दायित्व भएको उल्लेख गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij