२०८३ बैशाख ८ गते मंगलवार
काठमाडौं । डार्क कमेडी विधाको चलचित्र ‘जिरो डिग्री’ को छायाङ्कन सम्पन्न भएको छ । मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रको ३७ दिनको नियमित तालिकापछि छायाङ्कन सकिएको हो । चलचित्रको सम्पूर्ण छायाङ्कन पोखरा आसपासका रमणीय तथा मौलिक बस्तीहरू अर्मलाकोट, धिताल, घार्मी र बगरमा गरिएको छ ।
सजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन तथा पटकथा रहेको यस चलचित्रमा अभिनेता विजय बराललाई दर्शकले अहिलेसम्मकै फरक अवतारमा देख्न पाउनेछन् । सडक सञ्जाल राम्रोसँग नपुगेको एक विकट गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्कुन्जेल शवलाई सुरक्षित राख्न ‘डिप फ्रिज’ बोकेर गाउँ उक्लिँदा आइपर्ने उथलपुथल र रमाइला परिस्थितिहरूमा चलचित्रको कथा बुनिएको छ ।
चलचित्रमा विजय बराल, प्रकाश घिमिरे, राजन भुसाल, सनिशा भट्टराई, वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक, सन्जोग रसाईली, प्रवेश महतरा क्षेत्री, शारदा सिलवाल, सबिना थापा क्षेत्री, रामबाबु रेग्मी, सुवास गजुरेल र बासु खनाल लगायतको अभिनय रहेको छ । मोती कार्की कार्यकारी निर्माता रहेको यस चलचित्रलाई निशान पौडेलले खिचेका हुन् ।
चलचित्रलाई काठमाडौं उपत्यका बाहिर कुबेर सिने डिस्ट्रिब्युसन र उपत्यकामा डिसिएनले वितरण गर्नेछन् । निर्देशक बरालका अनुसार चलचित्र यस वर्षको बडादसैँ अगावै प्रदर्शनमा आउने भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij