२०८२ चैत्र ३० गते सोमवार
काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले चैत २६ गतेदेखि निष्काशन गरेको आइपीओमा बैशाख २ गतेसम्म आवेदन दिन सकिने भएको छ।
कम्पनीले छिटोमा आज चैत ३० गतेसम्म आइपीओ निष्काशन गरेको भएतापनि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरुमा शनिबार र आइतबार बिदा दिने नेपाल सरकारबाट निर्णय भएकोले आइपीओमा अब बैशाख २ गतेसम्म आवेदन दिन पाइने भएको हो ।
कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
जसमध्ये ४ लाख ७० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ९४ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ। त्यस्तै, कम्पनीले सामूहिक लगानी कोषहरुका लागि ३७ हजार कित्ता र कम्पनीका कर्मचारीहरुका लागि १८ हजार ८०० कित्ता शेयर बाँडफाँड गरिसकेको छ।
कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ७ करोड ८० लाख २० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ८० हजार २०० कित्ता साधारण शेयर सर्वसाधारण शेयरधनीहरुका लागि निष्काशन गरेको छ ।
उक्त आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्ने छ भने अधिकतममा ९४ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।
सर्वसाधारण लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij