२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहित ४ नेतालाई स्पष्टीकरण सोध्दै पत्र पठाएका छन् ।
हालैका केही दिनहरुमा ठाकुरको काम कार्बाही र क्रियाकलापहरु पार्टीको नीति विधि विपरित भइरहेको भन्दै स्पष्टीकरण मागिएको पत्रमा उल्लेख छ ।
पार्टी विधानको धारा ४९ मा भएको अनुशासनको कार्बाही सम्वन्धी व्यवस्थाअनुसार उक्त प्रष्टीकरण सोधिएको हो । ठाकुरलाई तीन दिन भित्र पार्टी केन्द्रीय कार्यालयमा जवाफ पठाउन भनिएको छ । चित्तबुझ्दो जवाफ नआएमा कार्बाहीको चेतावनी दिएको छ ।
९ बुँदामा सोधिएको प्रष्टीकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने असंवैधानिक कदमलाई पार्टी निर्णय र नीति विपरित किन साथ दिएको भन्दै प्रश्न गरिएको छ । पार्टीको कार्यकारिणी बैठकमा अनुपस्थित हुने तर आफ्ना समर्थकको बैठक बोलाएर गुटबन्दी गरेको आरोप ठाकुरलाई छ ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा हुँदा हुँदै किन छुट्टै कार्यालय संचालन गरिएको भन्दै स्पष्टीकरणमा मागिएको छ । पार्टीको निर्णय विना निर्वाचन आयोग, राष्ट्रपति कार्यालयमा किन पत्र पठाइएको भन्दै ठाकुरसँग यादवले जवाफ मागेका छन् ।
जेठ ३ गते जारी संयुक्त विज्ञप्तिको पालना नगरेकोमा पनि ठाकुलाई प्रश्न सोधिएको छ ।
पार्टी विधानको धारा २८ बमोजिम संसदीय दलको विधान नवनिसकेको अवस्थामा राजेन्द्र महतोलाई किन र के आधारमा संसदीय दलको नेता घोषणा गरि संघीय संसदलाई पत्र पठाएको भन्दै उनीसँग जवाफ मागिएको छ । पार्टीको आधिकारिक निर्णय विना सरकारसँग वार्ता गर्ने भन्दै लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई सरकारी कार्यदलसँग वार्ता गर्न पठाएको बारे पनि यादवले ठाकुरसँग सोधेका छन् ।
पार्टीलाई आफ्नो पकेट बनाउने र स्वेच्छाचारीता लाद्ने काम ठाकुरबाट भएको उक्त पत्रमा आरोप छ । पत्रमा पार्टीमा गुटबन्दी गर्ने र अनुशासन भंग गर्ने गराउने कार्य भइरहेकोले तपाईंमाथि पार्टी विधानको धारा ४९ बमोजिम अनुशासनको कार्बाही किन नगर्ने भन्दै प्रश्न गरिएको छ ।
यस्तै राजेन्द्र महतोसँग ६ बुँदे, लक्ष्मणलाल कर्णसँग ५ बुँदे, सर्वेन्द्रनाथ शुक्लसँग ५ बुँदे स्पष्टीकरण सोधिएको छ । यस अघि ठाकुरले यादवलाई सात बुँदे स्पष्टीकरण सोधेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij