२०८२ चैत्र २४ गते मंगलवार
काठमाडौं । नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड दीपक रौनियार निर्देशित ‘राजागंज’: पूजा सर’ले जितेको छ ।
काठमाडौंको सुन्धारास्थित सिभिल मलमा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यतामा सोमबार भएको समापन कार्यक्रममा उक्त फिल्मलाई ट्रफी र पन्ध्र सय अमेरिकी डलर पुरस्कारले सम्मान गरिएको छ ।
सर्वोत्कृष्ट राष्ट्रिय चलचित्र पुरस्कार समुन्द्र भट्ट निर्देशित ‘गुन्यू चोलो: द ड्रेस’ले पाएको छ । यो फिल्म ट्रफी र एक हजार अमेरिकी डलरले सम्मानित भएको छ । भट्टले यही फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड जितिन् । यही चलचित्रबाट नाजिर हुसेनले सर्वोत्कृष्ट नायकको अवार्ड जितेका छन् । चलचित्र ‘कोशेढुङ्गा’बाट सुरक्षा पन्तले सर्वोत्कृष्ट नायिकाको अवार्ड जितिन् ।
राष्ट्रियतर्फ सर्वोत्कृष्ट पटकथाकारको अवार्ड चलचित्र ‘केटी हराएको सूचना’बाट दीपेन्द्र गौचन पाएका छन् । सर्वोत्कृष्ट सिनेमेटोग्राफरको अवार्ड चलचित्र ‘कोशेढुङ्गा’बाटै बाबु श्रेष्ठले पाए।
दक्षिण एसियाली चलचित्र अन्तर्गतको प्रतिस्पर्धामा नेपाली भाषाको भारतीय चलचित्र ‘जार’ सर्वोत्कृष्ट घोषित भएको छ । फुर्वा क्षिरिङ लामा निर्देशित यस चलचित्र ट्रफी र पाँच सय अमेरिकी डलरले सम्मानित भएको छ ।
त्यस्तै, सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्रीको अवार्ड आइसल्यान्डको ‘ग्राउन्ड बिनिथ आवर फिट’ले पाएको छ । इर्सा रोका फ्यानबर्ग निर्देशित यस डकुमेन्ट्रीलाई ट्रफी र एक हजार अमेरिकी डलरले सम्मान गरिएको छ ।
प्रमुख अतिथि हार्तम्छालीले अवार्ड कार्यक्रम आयोजना गरी विदेशी फिल्म उद्योगसँग नेपाली चलचित्रलाई जोड्ने र सम्बन्ध विस्तारको काम गरेको भन्दै निफका अध्यक्ष केपी पाठकलाई धन्यवाद व्यक्त गरेका छन् ।
अध्यक्ष पाठकले निफ सफल पार्न सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गरेका छन् । यस संस्करणको निफ चैत १९ गतेबाट सुरु भएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij