२०८२ चैत्र २२ गते आइतवार
१. सरकारका निर्णयहरुः अब हप्तामा दुई दिन बिदा
सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म कायम गरिएको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बताउनु भयो ।
२. दुई वर्ष सकारात्मक बोलौँ,सोचौँ र लेखौँः सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आफ्नो कार्यकालमा पूर्ण निष्पक्ष र तटस्थ रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । शपथ ग्रहणपछि सिंहदरबारस्थित कार्य कक्षमा पुगेर पदभार ग्रहण गर्दै उहाँले उक्त प्रतिवद्धता जनाउनुभएको हो । उहाँले सभामुखको पदको गरिमा, यसको तटस्थता र निष्पक्षतालाई आफूले गहिरोसँग बुझेको बताउनु भयो । सभामुख अर्यालले अहिलेको संसद २०८२ को विशेष निर्वाचनको म्याण्डेटबाट आएको उल्लेख गर्दै यस पटकको सबैभन्दा बलियो प्रतिपक्ष ‘जनता’ भएको बताउनु भयो । सभामुख अर्यालले सदन विशेष गरी प्रतिपक्षको हुनुपर्ने मान्यतामा आफू दृढ रहेको स्पष्ट पार्नुभयो । प्रतिपक्षमा एक जना मात्र सदस्य भएपनि उहाँहरू पावरफुल हुने भन्दै उहाँले प्रतिपक्षको आवाजलाई सम्मानजनक ढंगले उठान र बैठान गर्न आफू लागिपर्ने बताउनु भयो ।
३. अर्यालको शालीनता र व्यवस्थापकीय क्षमताबाट संसद लाभान्वित हुनेछः डा. वाग्ले
अर्थमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले सभामुख पदका उम्मेदवार डोलप्रसाद (डीपी) अर्यालको समर्थन गर्दै उहाँको अनुभव र शालीनताले संसदको गरिमा बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । संसदमा बोल्दै डा. वाग्लेले रास्वपाका संस्थापक नेता एवं उपसभापति अर्याललाई ‘सह–योद्धा र मित्र’ को रूपमा चित्रण गर्दै उहाँको उम्मेदवारीले संसदमा एउटा परिपक्व राजनीतिक र व्यवस्थापकीय अनुभव भित्रिने बताउनुभएको हो । डा. वाग्लेले अर्यालसँग कार्यपालिका र व्यवस्थापिका दुवैको अनुभव रहेको स्मरण गराउनु भयो । अर्यालको व्यक्तिगत गुणको चर्चा गर्दै वाग्लेले उहाँमा उत्कृष्ट व्यवस्थापकीय क्षमता, शालीन समन्वयकारी भूमिका र मध्यमवर्गीय संघर्षबाट खारिएको उन्नत चेत रहेको बताउनु भयो ।
४. अजरबैजानद्वारा इरानका लागि तेस्रो मानवीय सहायता सामग्री पठाइयो
अजरबैजानले इरानका लागि तेस्रो चरणको मानवीय सहायता सामग्री पठाएको छ । राज्य समाचार एजेन्सी अजरट्याकले यसबारे जानकारी दिएको हो । इरानको तत्काल आवश्यकताहरू पूरा गर्ने उद्देश्यले गरिएको यो कदम मार्च ८ मा अजरबैजानी राष्ट्रपति इल्हाम अलियेभ र इरानी राष्ट्रपति मसुद पेजेस्कियानबीच भएको टेलिफोन कुराकानीपछि चालिएको हो । कुल २०० टन तौल भएको यस ढुवानीमा खाद्यान्न, औषधि र चिकित्सा सामग्रीहरू समावेश छन् ।
५. इरानसँगको युद्धमा ३६५ अमेरिकी सैनिक घाइते
फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि ठूलो आक्रमण गरेदेखि हालसम्म ३ सय ६५ अमेरिकी सैनिकहरू युद्धमा घाइते भएका छन् । पेन्टागनको अनलाइन अपडेट अनुसार २ सय ४७ सेना, ६३ नौसेना, १९ मरिन र ३६ वायुसेना घाइते भएका हुन् । त्यस्तै १३ जनाको मृत्यु भएको बताइएको छ । जसमा ७ जना शत्रुतापूर्ण मृत्यु, ६ जना कुवेतमा इरानी आक्रमणमा मारिएका र १ जना साउदी अरबमा घाइते भएपछि मृत्यु भएको बताइएको छ ।
६. उत्तर–पश्चिम पाकिस्तानमा प्रहरी चौकी नजिकै भएको विस्फोटमा ५ जनाको मृत्यु
पाकिस्तानको उत्तर–पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको एक प्रहरी चौकी नजिकै भएको विस्फोटमा पाँच सर्वसाधारणको मृत्यु भएको छ । दुई प्रहरी कर्मचारीसहित अन्य धेरै घाइते भएका छन् । बन्नु जिल्लाको एक प्रहरी चौकीको पछाडिको पर्खालमा विस्फोटक पदार्थले भरिएको सवारी साधन ठोक्किएपछि विस्फोट भएको स्थानीय प्रहरी स्रोतले बताएको छ । शक्तिशाली विस्फोटका कारण प्रहरी चौकीको पर्खाल भत्किएको र भवनभित्रका झ्यालका सिसा फुटेको स्रोतले जनाएको छ ।
७. उत्तरी अफगानिस्तानमा भूकम्प जाँदा ८ जनाको मृत्यु
अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता मोहम्मद युसुफ हम्मादका अनुसार उत्तरी अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प जाँदा आठ जनाको मृत्यु भएको छ । हम्मादले भूकम्पका कारण काबुल प्रान्तमा एउटा घर भत्किँदा त्यसमा रहेका आठ जना बासिन्दाको मृत्यु भएको छ भने एक बालक घाइते भएका बताउनु भयो । भूकम्पको कडा धक्का राजधानी काबुलमा पनि महशुस गरिएको थियो ।
८. जेलेन्स्कीसँगको भेटमा एर्दोगानद्वारा युक्रेन–रुस शान्ति वार्ताका लागि पुनः प्रतिवद्धता व्यक्त
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको भेटमा युक्रेन र रुसबीचको वार्तालाई टर्कीले निरन्तर समर्थन गर्ने कुरामा पुनः जोड दिनुभएको छ । यस क्षेत्रमा शान्ति र स्थिरताको तत्काल आवश्यकता रहेको कुरामा उहाँले विशेष जोड दिनुभयो । इस्तानबुलस्थित डोल्माबाहचे राष्ट्रपतीय कार्यालयमा दुई नेताबीच झन्डै एक घण्टाभन्दा बढी समयसम्म बन्द कोठामा छलफल भएको थियो । वार्ता पश्चात टर्कीको राष्ट्रपतीय सञ्चार निर्देशनालयले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दुई नेताबीच द्विपक्षीय सम्बन्ध, जारी द्वन्द्व समाधानका लागि शान्ति पहल र विस्तृत क्षेत्रीय तथा विश्वव्यापी घटनाक्रमबारे छलफल भएको जनाएको छ ।
९.गृहमन्त्री गुरुङलाई सांसद पुनको सुझाव–कसैको दबाब र प्रभावमा नपर्नू
स्वतन्त्र सांसद महावीर पुनले गृहमन्त्री सुधन गुरुङलाई कसैको दबाब र प्रभावमा नपर्न सुझाव दिनुभएको छ । आईतवार सांसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो सुझाव दिनुभएको हो । विगत पार्टी र पार्टी नेतृत्वको प्रभावकै कारण गृहमन्त्रीले प्रभावकारी काम कारबारही गर्न नसकेको उहाँको भनाइ छ । उहाँले मुलुकमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने सन्दर्भमा गृहमन्त्री गुरुङले थालेको अभियान प्रसंशनीय रहेको पनि बताउनु भयो ।
१०. पदबहाली गर्दै सभामुख अर्यालले भने– संसदमा तटस्थ र निष्पक्ष भुमिका निर्वाह गर्छु
प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पदभार ग्रहण गर्नुभएको छ । आईतवार सिंहदरबारस्थित कार्यकक्षमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । यसअघि आईतवार दिउँसो नै उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको थियो । पदभार ग्रहण गर्दै उहाँले तटस्थ र निष्पक्ष रुपमा सभामुखको भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले संसद मुख्यतः प्रतिपक्षीकै हुने भएकोले सत्तापक्ष र प्रतिपक्षलाई समान व्यवार गर्नुपर्ने बताउनु भयो । उहाँले संसद कानून बनाउने थलो भएको भन्दै आफू मुलुक र जनताका आवश्यकताअनुसार कानून निर्माणमा अग्रसर हुने पनि बताउनु भयो ।
११. कानून निर्माणको कामलाई तिब्र गतिमा अघि बढाउनका लागि प्रतिवद्ध छुः कानूनमन्त्री गौतम
कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानून निर्माणको कामलाई तिब्र गतिमा अघि बढाउन आफू प्रतिवद्ध रहेको बताउनुभएको छ । आईतवार प्रतिनिधि सभा बैठकमा सांसद डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रश्तावको समर्थन गर्ने क्रममा उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभयो । मन्त्री गौतमले संघीय संसदले आगामी दिनमा काम गर्ने थलोको रुपमा स्थापित गराउने गरी आफूले सहयोग गर्ने बताउनु भयो । उहाँले सरकारलाई जवाफदेही बनाउन संघीय संसदको भूमिका प्रभावकारी हुनुपर्नेमा पनि जोड दिनुभयो ।
१२. खाडी मुलुकमा युद्धको मारमा परेका नेपालीहरुलाई सरकारले तत्काल स्वदेश फर्काउने व्यवस्था गरोसः सांसद बोहरा
राष्ट्रिय सभाका सांसद उदयबहादुर बोहराले अमेरिका, इजरायल र इरान युद्धको मारमा परेका खाडी मुलुकमा रहेका नेपालीहरुलाई तत्काल स्वदेश फर्कने व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । आईतवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले सरकारसँग सो माग गर्नुभएको हो । अमेरिका, इजरायल र इरान युद्धका कारण खाडी मुलुकमा रहेका नेपालीहरुको जीवन जोखिममा परेकाले उनीहरुलाई स्वदेश फर्काउने र उनीहरुको सुरक्षाको सुनिश्चित गराउने जिम्मेवारी सरकारको रहेको सांसद बोहराको भनाई थियो ।
१३. डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपभासपति डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित हुनु भएको छ । आईतवार प्रतिनिधिसभा बैठकमा रास्वपाका सभापति रवि लामिछानेले अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रश्ताव पारित भएको हो । सो प्रश्तावलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, भौतिक, पूर्वाधार तथा यातायात एवं शहरी विकासमन्त्री सुनिल लम्सालले समर्थन गर्नुभएको थियो । उपसभापति अर्यालको मात्रै प्रश्ताव आएकाले उहाँ निर्विरोध निर्वाचित हुनुभएको सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले घोषणा गर्नुभयो ।
१४. नवनिर्वाचित सभामुख अर्यालद्वारा सपथ ग्रहण
नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आईतवार शीतल निवासमा आयोजित एक विशेष समारोहमा उहाँलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, कायममुकाय प्रधानन्यायाधीश सपना मल्ल प्रधान, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरु, सांसदहरु लगायतको उपस्थिति रहेको थियो ।
१५. राष्ट्रिय सभामा महिला आयोगको वार्षिक प्रतिवेदन पेश
राष्ट्रिय महिला आयोगको आव २०८१÷८२ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश भएको छ । राष्ट्रिय सभाको आईतवार बसेको बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सो प्रतिवेदन पेश गर्नुभएको हो । संवैधानिक व्यवस्था अनुसार सो आयोगको प्रतिवेदन संघीय संसदमा पेश गर्नुपर्ने हुन्छ ।
१६. सदनको मर्यादा कायम हुनेगरी काम हुन्छः नवनिर्वाचित सभामुख अर्याल
नवनिर्वाचित प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सदनको मर्यादा कायम हुनेगरी आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सभामुख निर्वाचित भएलगत्तै संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको संक्षिप्त जवाफ दिँदै उहाँले संविधान र कानूनको पालना गर्दै सबै सांसदहरुको सम्मान हुनेगरी आफू अघि बढ्ने समेत बताउनु भयो । नवनिर्वाचित सभामुख अर्यालले आफूले निष्पक्ष भूमिका निर्वाह गर्ने बताउनु भयो ।
१७. सरकारले खाना पकाउने ग्याँसको तत्काल आवश्यक व्यवस्था मिलाओस्ः जयन्तिदेवी राई
नेपाली कम्युनिष्ट पार्टीका राष्ट्रिय सभाकी सांसद जयन्तिदेवी राईले खाना पकाउने ग्याँसको तत्काल व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ ।आईतवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले खाना पकाउने ग्याँसको हाहाकार भएको उल्लेख गर्दै त्यसको तत्काल व्यवस्था मिलाउन सरकारलाई दबाब दिनुभएको हो । सांसद राईले उपभोक्ताले पैसा तिरेपछि खाना पकाउने ग्याँस पाउनुपर्ने उल्लेख गर्दै त्यसको व्यवस्था अझै नभएको भन्दै सरकारको. आलोचना समेत गर्नुभयो ।
१८. सरकारले विद्यार्थी संगठनहरु खारेज गर्ने निर्णय तत्काल फिर्ता लिनुपर्छः सुरेशकुमार आलेमगर
नेपाली कम्युनिष्ट पार्टी राष्ट्रिय सभाका सांसद शुरेशकुमार आलेमगरले विद्यार्थी संगठनहरु खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ । आईतवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले सो निर्णय पञ्चायतकालीन निरंकुश तानाशाही व्यवस्थाको झल्को दिएको जिकिर गर्दै तत्काल सो निर्णय खारेज गर्न सरकारलाई सचेत गराउनु भयो । सांसद आलेमगरले कुनैपनि राजनीतिक दलमा संगठनहरु आवद्ध हुने कुरा संविधान र कानूनसम्मत हुने भएकाले सरकारले त्यसलाई प्रतिबन्ध लगाउने काम गर्न नमिल्ने तर्क समेत गर्नुभयो ।
१९. ५६ दिनका लागि ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरिँदै
नेपाल राष्ट्र बैंकले आज ५६ दिनका लागि ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा भएको अधिक तरलता व्यवस्थापन गर्नको लागि निक्षेप संकलन गर्ने भएको हो । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।
२०. नेपाल उद्योग वाणिज्य महासंघको चुनावी महासंग्रामः घिमिरे प्यानलद्वारा उम्मेदवारी दर्ता
नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेर गएको छ । महासंघको यही चैत २९ र ३० गते हुने साधारण सभा तथा निर्वाचनका लागि उपाध्यक्षसहितका विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने क्रम बढेको छ । आईतवार वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठबाट समर्थन पाएको शिवप्रसाद घिमिरेसहितको प्यानलले तामझामका साथ उम्मेदवारी दर्ता गराएको छ । घिमिरेले वस्तुगततर्फको उपाध्यक्षमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन् भने एसोसिएटतर्फको उपाध्यक्षमा प्रबलजंग पाण्डे र जिल्ला÷नगरतर्फ उपाध्यक्षद्वयमा दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्माले उम्मेदवारी दिएको छन् । घिमिरे समूहले १६ सदस्यीय पदका उम्मेदवारसहितको समूह केही दिन अघि सार्वजनिक गरेको थियो ।
२१. रञ्जितको शतकमा लुम्बिनीको तेस्रो जित
ओपनर रञ्जित खड्काको शतकमा लुम्बिनी प्रदेशले जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा तेस्रो जित निकालेको छ । वीरगञ्जमा आईतवार भएको खेलमा रञ्जितको शतकमा लुम्बिनीले विभागीय टोली नेपाल पुलिस क्लबमाथि ५० रनको सहज जित आत्मसात ग¥यो । लुम्बिनीले विभागीय टोलीमाथि जित निकाल्दा युवा ब्याटर रञ्जितले १२८ रनको सतकीय इनिङ खेले । जारी प्रतियोगितामा लुम्बिनीको विभागमाथि दोस्रो जित हो । लुम्बिनीले पछिल्लो खेलमा एपिएफलाई पनि सुपर ओभरमार्पmत हराएको थियो । नारायणी क्रिकेट मैदानमा रञ्जितको शतक प्रेरणामा लुम्बिनीले दुई सय ५७ रनको लक्ष्य दियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij