Logo

२०८२ चैत्र १५ गते आइतवार

२०८२ चैत्र १५ गते आइतवार

पछिल्लो २४ घण्टामा ३३ विपद्का घटनाः २ जनाको मृत्यु, २ करोडभन्दा बढीको आर्थिक क्षति

पछिल्लो २४ घण्टामा ३३ विपद्का घटनाः २ जनाको मृत्यु, २ करोडभन्दा बढीको आर्थिक क्षति


  • 540
    Shares

    • images
    पछिल्लो २४ घण्टामा ३३ विपद्का घटनाः २ जनाको मृत्यु, २ करोडभन्दा बढीको आर्थिक क्षति

    काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपालका विभिन्न २० जिल्लामा २४ घण्टाको अवधिमा ३३ वटा विपद्का घटनाहरू भएका छन् । चैत १४ गते बिहान १० बजेदेखि चैत १५ गते बिहान १० बजेसम्मको अवधिमा भएका यी घटनाहरूमा परी २ जनाले ज्यान गुमाएका छन् ।

    प्राधिकरणकाअनुसार पछिल्लो २४ घण्टामा बाढी र जनावरको आक्रमणबाट १–१ गरी कुल २ जनाको मृत्यु भएको छ । यसै अवधिमा चट्याङबाट ३, सर्पदंशबाट २, आगलागीबाट १ र पहिरोबाट १ गरी कुल ७ जना घाइते भएका छन् । विपद्का घटनाहरूबाट अनुमानित २ करोड ३ लाख ७० हजार ६४१ रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । साथै २३ चौपायाको क्षति भएको विवरण प्राप्त भएको छ । उद्धार र राहत कार्यका लागि देशका विभिन्न स्थानमा ३ सय २१ जना प्रहरी परिचालन गरिएको थियो । 

    पछिल्लो २४ घण्टामा सबैभन्दा बढी हावाहुरीका १२ वटा घटनाहरू भएका छन् । त्यसैगरी आगलागीका ९, चट्याङका ५, पहिरो र सर्पदंशका २–२ तथा बाढी, अविरल वर्षा र जनावर आक्रमणका १–१ वटा घटना दर्ता भएका छन्। आगलागीबाट मात्रै ६ जिल्ला प्रभावित भएका छन् भने हावाहुरीले २ जिल्लामा क्षति पु¥याएको छ । 

    वर्षभरिको तथ्याङ्क (२०८२ वैशाख १ देखि हालसम्म)

    चालु आर्थिक वर्षको वैशाख १ गतेदेखि चैत १५ गतेसम्मको समग्र तथ्याङ्क हेर्दा नेपालमा कुल ७ हजार ३ सय ३७ वटा विपद्का घटनाहरू भएका छन् । यी घटनाहरूमा परी हालसम्म ४ सय ८६ जनाको मृत्यु भएको छ भने ३८ जना अझै बेपत्ता छन् । विपद्का कारण १ हजार ९ सय २६ जना घाइते भएका छन् भने १३ हजार २ सय ६० परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । यस अवधिमा आगलागीबाट सबैभन्दा बढी १०४ जनाको मृत्यु भएको छ । त्यसैगरी सर्पदंशबाट ९९, पहिरोबाट ७६, जनावर आक्रमणबाट ५६ र चट्याङबाट ४७ जनाको ज्यान गएको बुलेटिनमा उल्लेख छ । 

    वर्षा र तापक्रमको अवस्था

    गत २४ घण्टामा देशभरका ३ सय ६६ वर्षा मापन केन्द्रहरूमध्ये १ सय १४ वटा केन्द्रहरूमा वर्षा मापन गरिएको छ । सबैभन्दा बढी वर्षा बारा जिल्लाको रतनपुरी केन्द्रमा २९.४ मि.मि. भएको छ । तापक्रमको विवरणअनुसार, पर्साको वीरगञ्जमा सबैभन्दा बढी ३३.४ डिग्री सेल्सियस अधिकतम तापक्रम रेकर्ड गरिएको छ । त्यस्तै, मुस्ताङको थाकमार्फामा सबैभन्दा कम -१.० डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन गरिएको छ । सोलुखुम्बुको लुक्लामा भने अधिकतम तापक्रम १०.६ डिग्री सेल्सियस रहेको थियो । 

    प्रकाशित मिति :चैत्र १५ २०८२ आइतवार - १४:४३:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij