२०८२ माघ ७ गते बुधवार
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग्ने रिटमा खनाल-नेपाल समूहका २६ मध्ये ४ सांसदले हस्ताक्षर गरेनन् भने थप एक सांसद थपिएका छन्।
रिटमा विघटित प्रतिनिधिसभाका १४६ जना सांसदको हस्ताक्षर र सनाखत भएको छ। यसअघि नेकपा एमालेका २६ जनाको हस्ताक्षरसहित १४९ जनाको नाम राष्ट्रपति समक्ष पठाइएको थियो।
रिट दायर गर्ने अन्तिम समयमा एमालेका गोकर्ण विष्ट, गणेश पहाडी, राजबहादुर बुढा र पवित्रा निरौला खरेलले हस्ताक्षर नगरेका हुन्। यस्तै यसअघि हस्ताक्षर नगरेकी कलिला खातुनले सोमबार हस्ताक्षर गरेसँगै एमालेको संख्या २३ पुगेको छ।
आज हस्ताक्षर गर्नेमध्ये नेपाली कांग्रेसबाट ६१ जना, माओवादी केन्द्रबाट ४९, एमालेको खनाल-नेपाल समूहबाट २३ जना, जसपाको बाबुराम भट्टराईरउपेन्द्र यादव पक्षबाट १२ जना र जनमोर्चाका १ जनाले हस्ताक्षर गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij