२०८२ माघ २६ गते सोमवार
काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले अभिनेता सुनिल थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपालको कला र खेलकुद दुवै क्षेत्रका लागि ठूलो क्षति भएको बताएका छन् ।
चलचित्र विकास बोर्डमा आयोजित श्रद्धाञ्जली सभामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आचार्यले थापाको बहुआयामिक व्यक्तित्व र अन्तर्राष्ट्रिय ख्यातिको चर्चा गरेका छन् । आचार्यकाअनुसार सुनिल थापाले नेपाली कलाकारको पहिचानलाई बलिउड, हलिउड र नेटफ्लिक्सजस्ता अन्तर्राष्ट्रिय मञ्चहरूसम्म पु¥याउन महत्वपूर्ण भुमिका खेल्नुभएको थियो ।
उनका फिल्महरू हेर्दा यो नेपाली मान्छे हो भनी गर्व गर्ने अवसर मिलेको स्मरण गर्दै आचार्यले उनको अन्तर्राष्ट्रिय छापको उच्च प्रशंसा गरेका छन् । अभिनय यात्रा शुरु गर्नुअघि थापा भारतको राष्ट्रियस्तरको फुटबल खेलाडी भएको तथ्यलाई समेत आचार्यले उजागर गरेका छन्। उनले थापाको अभावमा भारतीय मित्रहरूबीच ‘सुनिल थापा हाम्रो मान्छे हो’ भनेर गर्वका साथ परिचय दिने गौरवपूर्ण क्षणहरू अब इतिहास बनेको बताएका छन् ।
आचार्यले आफूले थापासँग ‘तँ त साह्रै बिग्रिस नि बद्री’ र ‘जे भो राम्रै भो’ जस्ता लोकप्रिय चलचित्रमा सँगै काम गर्ने अवसर पाएको उल्लेख गरेका छन् । थापाको उत्कृष्ट अभिनय र सहयोगले ती चलचित्रहरूलाई सफल बनाउन ठूलो योगदान पु¥याएको र उहाँ कहिल्यै कसैलाई दुःख नदिने अत्यन्तै सरल र भद्र स्वभावको व्यक्ति भएको आचार्यले स्मरण गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij