२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा प्राचीन नेपाली सभ्यता र वेदको मर्मबाट निर्देशित भएको बताएका छन्।
धार्मिक अनुष्ठानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाल ५ हजार वर्ष पुरानो गौरवशाली इतिहास भएको देश भएको र यहाँको ज्ञान–विज्ञानको परम्परा विश्वकै अग्रणी रहेको दाबी गरेका हुन् । उनले ‘सर्वे भवन्तु सुखिनः’ भन्ने मन्त्रलाई नै आधुनिक युगमा समृद्धिको आधार बनाइएको उल्लेख गरेका छन् ।
सम्बोधनका क्रममा ओलीले ‘हिन्दु राष्ट्र’ र ‘सनातन धर्म’ बीचको भिन्नता प्रस्ट्याउँदै सनातनलाई नेपालको मूल सभ्यता र पहिचानका रूपमा व्याख्या गरेका छन् । ‘हिन्दु राष्ट्र’ भन्ने शब्द पछिल्ला केही शताब्दीमा मात्र प्रयोगमा आएको भन्दै उनले सनातन परम्परा सबै धर्म मान्ने नेपालीहरूको साझा सम्पती भएको धारणा राखेका छन् । ओलीले चिकित्सा विज्ञानको शुरुवात नेपालकै भूमिबाट भएको बताउँदै ऋषि विश्वामित्र र सुश्रुतको योगदानको चर्चा गरेका छन्
।
उनले नेपाललाई ‘देवभूमि’, ‘तपोभूमि’ र ‘ज्ञानभूमि’ को संज्ञा दिँदै हराउँदै गएको नेपालको गौरव पुनस्र्थापित गर्ने आफ्नो संकल्प रहेको बताएका छन्।
ओलीले भने, ‘यो भूमिमा आज, यो भूमि कस्तो भूमि हो, यहाँका पुर्खा के सोच्थे भने अघि गुरुले एउटा मन्त्र भन्नुभयो,सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग्भवेत् । सबै सुखी हुन्, सबै मान्छे सुखी हुन् कसैले पनि दुःख नपाओस्, कोही पनि कुनै आपतमा नपरोस्, डर त्रासको वातावरण नहोस्, सर्वत्र शान्ति होस् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij