२०८२ माघ २३ गते शुक्रवार
काडमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एक चुनावी षड्यन्त्रसम्बन्धी भिडियो पोस्ट गरेका छन् । भिडियोमा पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामालाई बाँदरका रूपमा चित्रण गरिएको छ । उक्त भिडियो सार्वजनिक भएपछि प्रमुख डेमोक्रेट नेताहरूले कडा निन्दा गरेका छन् ।
राष्ट्रपति ट्रम्पको स्वामित्वमा रहेको ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट गरिएको करिब एक मिनेट लामो भिडियोको अन्त्यतिर पूर्वराष्ट्रपति ओबामालाई बाँदरको शरीरमा झण्डै एक सेकेन्डका लागि अनुहारसहित देखाइएको छ । ओबामाहरू देखिने दृश्यमा पृष्ठभूमिमा ‘द लायन स्लीप्स टुनाइट’ गीत बजिरहेको सुनिन्छ ।
उक्त भिडियोमा मतपत्र गणना गर्ने कम्पनी डोमिनियन भोटिङ सिस्टमले सन् २०२० को राष्ट्रपति निर्वाचन ट्रम्पबाट चोर्न सहयोग गरेको भन्ने झुटो आरोपलाई पुनः दोहोर्याइएको छ । शुक्रबार बिहानसम्म राष्ट्रपतिको सामाजिक सञ्जाल प्लेटफर्ममा उक्त भिडियो हजारौँ पटक लाइक गरिएको देखिएको थियो ।
क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमको कार्यालयले उक्त पोस्टको आलोचना गरेको छ । न्युसम सन् २०२८ को एक सम्भावित डेमोक्रेटिक राष्ट्रपति उम्मेद्वार हुन् र राष्ट्रपति ट्रम्पका प्रमुख आलोचकहरूमध्ये एक मानिन्छन् ।
“राष्ट्रपतिको घृणित व्यवहार । प्रत्येक रिपब्लिकनले यसको निन्दा गर्नुपर्छ”, न्युसमको प्रेस अफिसको आधिकारिक एक्स खातामा पोस्ट गरिएको छ । पूर्व शीर्ष राष्ट्रिय सुरक्षा सल्लाहकार तथा बाराक ओबामाका निकट विश्वासपात्र बेन रोड्सले पनि उक्त तस्बिरको आलोचना गरेका छन् ।
“यो ट्रम्प र उनका जातिवादी अनुयायीहरूलाई सताउन दिनुहोस् कि भावी अमेरिकीहरूले ओबामालाई हाम्रो इतिहासमा दागका रूपमा होइन, प्रिय व्यक्तित्वका रूपमा अध्ययन र अँगाल्नेछन्”, उनले एक्समा लेखेका छन् ।
बाराक ओबामा अमेरिकी इतिहासका एक मात्र अश्वेत राष्ट्रपति छन् । उनले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति ट्रम्पकी प्रतिद्वन्द्वी कमला ह्यारिसलाई समर्थन गरेका थिए ।
ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकालको पहिलो वर्षमा राष्ट्रपति ट्रम्पले ट्रुथ सोसल तथा अन्य प्लेटफर्महरूमा अति–यथार्थवादी तर बनावटी दृश्यहरूको प्रयोगलाई निरन्तर बढावा दिएका छन् । ती पोस्टहरूमा प्रायः आफ्ना आलोचकहरूको निन्दा गर्दै आफूलाई महिमामण्डित गरिएको देखिन्छ ।
उनले आफ्ना रूढिवादी समर्थकहरूलाई एकताबद्ध र सक्रिय बनाउन उत्तेजक पोस्टहरू प्रयोग गर्दै आएका छन् । गत वर्ष राष्ट्रपति ट्रम्पले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी बनाइएको एउटा भिडियो पोस्ट गरेका थिए, जसमा बाराक ओबामालाई ओभल अफिसमा गिरफ्तार गरिएको र सुन्तला रङको जम्पसुट लगाएर जेलमा देखाइएको थियो ।
त्यसपछि उनले सदनका अल्पसङ्ख्यक नेता हाकिम जेफ्रीजलाई नक्कली जुँगा र सोमब्रेरो लगाइएको एआई क्लिप पनि पोस्ट थियो । जेफ्रीजले उक्त छविलाई खुला जातिवादी व्यवहारको संज्ञा दिएका थिए ।
ह्वाइट हाउसमा फर्किएपछि राष्ट्रपति ट्रम्पले विविधता, समानता र समावेशीकरण, अर्थात् डिइआई कार्यक्रमहरू विरुद्ध अभियान चलाएको भन्दै विरोधीहरूको आलोचना खेपेका छन् ।
राष्ट्रपति ट्रम्पका प्रारम्भिक निर्णयहरूमध्ये एक सङ्घीय सरकारका सबै डिइआई कार्यक्रमहरू, सेनासम्बन्धी नीतिहरू समेत, समाप्त गर्नु रहेको थियो ।
उनले ‘अवेक’ पहलका रूपमा उपहास गरेको सशस्त्र फौजलाई मुक्त गर्ने अभियानअन्तर्गत अमेरिकाको भेदभावपूर्ण इतिहास समेट्ने थुप्रै पुस्तकहरू केही सैन्य एकेडेमीका पुस्तकालयका सेल्फबाट हटाइएको छ ।
अमेरिकाका सङ्घीय भेदभावविरोधी कार्यक्रमहरू सन् १९६० को दशकको नागरिक अधिकार आन्दोलनबाट जन्मिएका थिए । ती आन्दोलनहरू मुख्यतः अश्वेत अमेरिकीहरूको नेतृत्वमा सयौँ वर्षको दासत्वपछि समानता र न्यायका लागि सञ्चालन गरिएका थिए । सन् १८६५ मा दासत्व उन्मूलन भए पनि त्यसपछि अन्य संस्थागत स्वरूपका जातिवाद लागू भएको इतिहास रहेको देखिन्छ । रासस
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij