२०८२ माघ २२ गते बिहिवार
एजेन्सी । सन् २०२५ मा अमेरिकाका अर्थमन्त्री (ट्रेजरी सेक्रेटरी) स्कट बेसेन्टले दिएको बयानले बजारलाई केही सयमका लागि स्तब्ध बनायो ।
‘सुनको मूल्यवृद्धिले हामीलाई उल्लेख्य रूपमा मद्दत पुर्याएको छ,’ बेसेन्टले भनेका थिए ।
सतही रूपमा हेर्दा यस भनाइको खासै अर्थ लाग्दैनथियो । सामान्यतया सुनको मूल्य बढ्नुलाई एउटा चेतावनीको संकेतका रूपमा लिइन्छ । मुद्रास्फीतिको जोखिम, डलरको कमजोरी र फिएट (कागजी) मुद्राप्रतिको विश्वासमा कमी ती संकेत हुन् । दशकौंदेखि नीतिनिर्माताहरूले सुनको मूल्यवृद्धिलाई उत्सव मनाउने फाइदाको रूपमा नभई नियन्त्रण गर्नुपर्ने समस्याको रूपमा हेर्दै आएका छन् ।
तर, बेसेन्टले कुनै रूपकका आधारमा कुरा गरिरहेका थिएनन् । उनी ब्यालेन्स सिट (वासलात) को भाषामा बोलिरहेका थिए ।
अमेरिकाको ट्रेजरीसँग २६ करोड १५ लाख औंस सुन छ जुन विश्वकै सबैभन्दा ठूलो आधिकारिक भण्डार हो । कागजी रूपमा त्यस सुनको मूल्य प्रति औंस मात्र ४२.२२ डलर कायम गरिएको छ जुन सन् १९७३ को ब्रेटन वुड्स प्रणालीको अन्तिम दिनहरूमा पारित गरिएको एउटा पुरानो लेखा नियमको अवशेष हो । यसले अमेरिकी सुनको सञ्चितिको आधिकारिक मूल्य झन्डै ११ अर्ब डलर मात्र देखाउँछ ।
बजार मूल्यमा हेर्ने हो भने त्यही सुनको मूल्य १० खर्ब डलरभन्दा बढी हुन्छ ।
त्यो अन्तर झन्डै ९९० अर्ब डलरको छ । त्यो कौतुहलको विषय मात्र होइन । यो एउटा वित्तीय उपकरण हो । ट्रेजरीलाई आफ्नो हातमा के छ भन्ने कुरा राम्ररी थाहा भएको बेसेन्टको टिप्पणीले स्पष्ट संकेत दिएको छ ।
अमेरिकाले आफ्नो सुनको मूल्यलाई यसरी मूल्यांकन गर्छ मानौं संसार निक्सन शकबाट कहिल्यै अघि बढेकै छैन ।
प्रति औंस ४२ डलरको दरमा ट्रेजरीको खाताले यसलाई एउटा स्थिर र सांकेतिक सम्पत्तिको रूपमा देखाएको छ । आजको मूल्यमा सुन प्रति औंस २८ सय डलरभन्दा माथि छ र सेप्टेम्बर २०२५ मा केही समयका लागि ३८ सय डलर पुगेको थियो । त्यसको वास्तविकता निकै फरक छ । खातामा देखाइएको मूल्य र बजार मूल्यबीचको अन्तर काल्पनिक सम्पत्ति मात्र होइन । यो वासलातको लुकेको क्षमता हो ।
प्रति औंस २८ सय डलरमा ट्रेजरीको सुनको मूल्य झन्डै ७४० अर्ब डलर हुन्छ । ३८ सय डलर पुग्दा यो १० खर्ब डलरको नजिक पुग्छ । सुनको मूल्यमा हुने प्रत्येक १०० डलरको वृद्धिसँगै ट्रेजरीको सम्पत्ति स्थिति करिब २६ अर्ब डलरले सुधारिन्छ ।
यो किन महत्त्वपूर्ण छ भने अमेरिकाको वित्तीय अवस्था नयाँ चरणमा प्रवेश गरेको छ । वार्षिक २ खर्ब डलरको हाराहारीमा रहेको घाटा अब अस्थायी रहेन । यो संरचनागत भइसकेको छ । यो अवस्था सुधार्नका लागि आवश्यक कर वृद्धि वा खर्च कटौती गर्ने हिम्मत राजनीतिक प्रणालीमा छैन ।
सुनले फरक विकल्प दिन्छ । यसले कठोर आर्थिक उपायहरू बिना नै वासलातमा राहत प्रदान गर्छ । बेसेन्टको टिप्पणी मुद्रास्फीतिको दृष्टिकोणको बारेमा थिएन । त्यो विकल्पहरूको उपलब्धताको बारेमा थियो ।
यस विकल्पको विश्वसनीयता एउटा सरल तथ्यमा निर्भर छ जसअनुसार अमेरिकामा सुन हुनुपर्छ ।
अमेरिकी सुन भण्डारको झन्डै ५६ प्रतिशत केन्टकीको फोर्ट नक्समा राखिएको छ । बाँकी सुन देशभित्रै न्युयोर्कको फेडरल रिजर्भ बैंकका भल्टहरू (जुन म्यानह्याटनको चट्टानमुनि ८० फिट गहिराइमा गाडिएका छन्) र वेस्ट पोइन्ट तथा डेनभरका साना भण्डारहरूमा विभाजित छ ।
यो अमेरिकाको स्वामित्वमा रहेको सुन हो, अमेरिकी भूमिमा छ र अमेरिकी नियन्त्रणमा छ ।
हालै जर्मनीले न्युयोर्कबाट आफ्नो सुनको केही हिस्सा फिर्ता लैजान खोजेको समाचारले बहसलाई अलि अस्पष्ट बनाएको छ । तर, ती कुराहरू यहाँ सान्दर्भिक छैनन् । जर्मनीको सुन सुरक्षाका लागि मात्र राखिएको हो । अमेरिकाको सुन सार्वभौम हो । यी दुई मिसिएका छैनन् ।
जनवरी २०२६ सम्मको रिपोर्ट अनुसार, ट्रेजरीको सुनको मौज्दातमा कुनै परिवर्तन भएको छैन ।
सम्पत्ति वास्तविक छ । स्थान सुरक्षित छ । र यसले दिने विकल्पहरू यथावत छन् ।
अमेरिकाको सुनको स्थिति वास्तवमा कति असामान्य छ भन्ने कुरा कमैले बुझेका छन् ।
अमेरिकाले ८१ सय ३३ टन सुन राखेको छ जुन उसको कुल वैदेशिक सञ्चितिको झन्डै ७६ प्रतिशत हो । यो प्रभुत्व संयोगवश भएको होइन, न त यो हालसालैको कुरा हो । यो एक शताब्दीदेखि विश्वको मौद्रिक प्रणाली टुट्ने र पुनः निर्माण हुने समयमा संकलन गरिएको नतिजा हो ।
बीसौं शताब्दीको आरम्भतिर शास्त्रीय स्वर्ण मानक (गोल्ड स्ट्यान्डर्ड) अन्तर्गत अमेरिकाको व्यापार मुनाफाका कारण निरन्तर रूपमा सुन अमेरिका भित्रियो । फ्य्रांकलिन रुजबेल्टले सन् १९३४ मा गोल्ड रिजर्भ एक्ट अन्तर्गत सुनको मूल्य २० डलरबाट बढाएर ३५ डलर पुर्याई यस प्रक्रियालाई तीव्र बनाए र निजी सुनलाई ट्रेजरीको नियन्त्रणमा ल्याउन बाध्य पारे । यसको परिणामस्वरूप आधिकारिक सञ्चितिमा तत्काल विस्तार भयो ।
दोस्रो विश्वयुद्धले यस स्थितिलाई अझ बलियो बनायो । युरोपले हतियार उत्पादन र पुनःसंरचनाका लागि अमेरिकामार्फत वित्त व्यवस्थापन गर्दा सुन आन्ध्र महासागर पार गरेर अमेरिकातिर पुग्यो । सन् १९४५ सम्ममा अमेरिकासँग विश्वको मौद्रिक सुनको झन्डै ७० प्रतिशत हिस्सा थियो । त्यो २२ हजार टन नजिक पुगेको थियो । ब्रेटन वुड्स सम्झौताले डलरलाई सुनसँग र विश्वलाई डलरसँग जोडेर यसलाई औपचारिकता दियो ।
उल्लेखनीय कुरा त त्यसपछि के भयो भन्ने हो ।
सन् १९७१ मा निक्सनले डलरलाई सुनमा साट्न सकिने व्यवस्था अन्त्य गरेपछि पनि अमेरिकाले आफ्नो सुनको भण्डार बेचेन । सञ्चिति आजको स्तरमा स्थिर रह्यो र पाँच दशकभन्दा बढी समयदेखि वस्तुतः अपरिवर्तित छ । सन् २००० को दशकको सुरुमा बेलायतले ठूलो मात्रामा सुन बेचको थियो । तर, त्यसो नगरी अमेरिकाले तरलता भन्दा पनि संकेतलाई रोज्यो ।
आज चीनले आफ्नो सञ्चितिको झन्डै ५ प्रतिशत सुनमा राख्छ । जापानले करिब ४ प्रतिशत राख्छ । अमेरिकाले ७६ प्रतिशत राख्छ ।
यो असमानता सुनको मूल्य बढ्दै जाँदा झन् महत्त्वपूर्ण हुन्छ । प्रत्येक वृद्धिले कुनै व्यापार वा राजनीतिक लागत बिना नै अमेरिकाको वासलात शक्तिलाई चुपचाप बढाइरहेको हुन्छ । बेसेन्टले यही आधारमा काम गरिरहेका छन् ।
यस दृष्टिकोणबाट हेर्दा बेसेन्टको रणनीति बुझ्न सजिलो हुन्छ ।
साधारण पुनर्मूल्यांकन पहिलो संयन्त्र हो । उच्च मूल्यबाट लाभ उठाउन ट्रेजरीले एक औंस सुन पनि बेच्न आवश्यक छैन । सञ्चितिको पुनर्मूल्यांकनले सरकारको वासलातलाई तुरुन्तै बलियो बनाउनेछ जसले कर नबढाई वा कार्यक्रमहरू कटौती नगरी घाटा पूर्ति गर्न मद्दत गर्नेछ । आंशिक पुनर्मूल्यांकनले पनि ठूलो प्रभाव पार्न सक्छ ।
सम्पत्तिको बिक्री नगरी त्यसलाई मौद्रिकीकरण गर्नु दोस्रो संयन्त्र हो । ट्रेजरीले सुनको बजार मूल्यलाई उपयोग गरेर एउटा सोभरेन लगानी कोष बनाउन, कोषको धितो राख्न वा जारी गरिने ऋणको प्रत्याभूति दिन सक्छ जबकि भौतिक सुनलाई छुनुपर्दैन । यो वासलातको इन्जिनियरिङ हो, वस्तुको सट्टेबाजी होइन ।
मुद्रा संकेत (करेन्सी सिग्नलिङ) तेस्रो संयन्त्र हो । केन्द्रीय बैंकहरूले डलरको अस्थिरता विरुद्ध बीमाको रूपमा रेकर्ड गतिमा सुन सञ्चय गरिरहेको युगमा अमेरिका अझै पनि सुनको सबैभन्दा ठूलो सञ्चयकर्ता हो । सुनको मूल्य बढ्नुले विरोधाभासपूर्ण रूपमा डलर प्रणालीको विश्वसनीयतालाई झन् बलियो बनाउँछ किनकि डलर जारी गर्ने देशसँग विश्वकै सबैभन्दा गहिरो वास्तविक सम्पत्ति आधार रहेको कुरा यसले बजारलाई सम्झाउँछ ।
भूराजनीतिक लाभ चौथो संयन्त्र हो । अन्य देशहरूले सुन फिर्ता ल्याउने कुरा, भण्डारण जोखिम र सञ्चितिको विविधीकरणबारे बहस गरिरहँदा अमेरिकाले आफ्नो सुन स्वदेशमै पारदर्शी रूपमा राखेको छ । विभिन्न मुद्रामा विभाजित विश्वमा यो एक दशकअघिको तुलनामा अहिले बढी महत्त्वपूर्ण छ ।
यी कुनै पनि संयन्त्रका लागि तत्काल कारबाही आवश्यक छैन । त्यही नै यिनीहरूको शक्ति हो । सामान्य अवस्थामा ट्रेजरीले केही पनि गर्दैन । सुनको मूल्य बिस्तारै बढिरहन्छ । विकल्पहरू चुपचाप बढ्दै जान्छन् । वासलातको लचिलोपन विस्तार हुन्छ ।
अझ बढी वित्तीय दबाब भएको अवस्थामा आंशिक पुनर्मूल्यांकन आकर्षक बन्छ । यो संकटको प्रतिक्रियाको रूपमा नभई पूर्व–सतर्कता स्थिरता उपकरणको रूपमा प्रयोग हुन सक्छ ।
साँच्चै नै ऋणको गम्भीर धक्का लागेको अवस्थामा सुन एउटा विकल्पबाट मुख्य आधारमा परिणत हुनेछ । लेखा परीक्षण, पुनर्मूल्यांकन वा औपचारिक वासलात पुनःसंरचना अब निषेधित विषय रहने छैनन् । ती अनिवार्य हुनेछन् ।
धेरैजसो बजार टिप्पणीहरूले यसलाई याद गर्दैनन् किनभने उनीहरू सुनलाई मुद्रास्फीतिको चस्माबाट हेर्छन् । बेसेन्टले यसलाई सम्पत्तिको चस्माबाट हेरिरहेका छन् ।
त्यस भिन्नताले नै सबै कुरा परिवर्तन गर्छ ।
सन् २०२५ को आरम्भतिर लन्डनबाट न्युयोर्कमा ठूलो मात्रामा सुन ओसारिएको देखिएको थियो । त्यो मूल्यको भिन्नता (आर्बाइट्रेज) र भन्सार शुल्क गतिशीलताका कारण भएको थियो । सन् २०२५ देखि अमेरिकाका निजी भल्टहरूमा करिब ४०० मेट्रिक टन सुन सारिएको छ ।
ट्रेजरीको सञ्चितिसँग यसको कुनै सम्बन्ध छैन । तर, यसले एउटा व्यापक बुँदालाई पुष्टि गर्छ । तनाव बढ्दा पुँजीले कानुनी स्पष्टता, गहिरो बजार र भौतिक सुरक्षा भएका ठाउँहरूलाई प्राथमिकता दिन्छ ।
बेसेन्टले पहिले नै आफ्नो चाल देखाइसकेका छन् । सुनको बढ्दो मूल्य समाधान गर्नुपर्ने समस्या होइन । यो त क्षमता निर्माण भइरहेको अवस्था हो ।
वित्तीय तनावको तुलनामा सुनको मूल्यलाई ध्यान दिएर हेर्नुपर्छ । केन्द्रीय बैंकको सञ्चयलाई हेर्नुपर्छ । सम्पत्ति–पक्षीय नीतिबारे ट्रेजरीले प्रयोग गर्ने भाषालाई ध्यान दिनुपर्छ । कुन देशले बजारलाई पहिले नै थाहा भएको कुरालाई औपचारिकता दिन पहिलो कदम चाल्छ, त्यो हेर्नुपर्छ ।
मुद्रा प्रतिस्पर्धाको अर्को चरणमा नाराहरू भन्दा वासलातहरू बढी महत्त्वपूर्ण हुनेछन् । अमेरिकासँग १० खर्ब डलरको एउटा यस्तो कार्ड छ जुन उसले अहिलेसम्म खेलेकै छैन ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij