Logo

२०८२ माघ २२ गते बिहिवार

२०८२ माघ २२ गते बिहिवार

एमालेसँग चुनावी तालमेल हुँदैन: प्रचण्ड

एमालेसँग चुनावी तालमेल हुँदैन: प्रचण्ड


  • 435
    Shares

    एमालेसँग चुनावी तालमेल हुँदैन: प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले फागुन २१ को निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल नहुने स्पष्ट पारेको छ । बिहीबार केन्द्रीय कार्यालयमा बसेको निर्वाचन परिचालन समितिको जुम बैठकले एमालेसँग चुनावी तालमेल नहुने स्पष्ट पारेको हो । 

    बैठकमा संयोजक पुष्पकमल दाहाल प्रचण्डले क्षेत्रगत वा कुनै पनि खालको चुनावी तालमेल गर्ने विषयमा एमालेका अध्यक्ष केपी ओलीसँग छलफल नभएको प्रस्ट पारेका थिए । पछिल्लो समय देशभर नेकपाको पक्षमा चुनावी माहोल राम्रो बन्दै गएकाले निष्पक्ष र धाँधलीरहित चुनाव भएमा नेकपा एक नम्बरको पार्टी बन्ने दाबीसहितको ब्रिफिङ प्रचण्डले गरेका हुन् ।

    ‘देशभर हाम्रो पार्टीको पक्षमा चुनावी माहोल राम्रो बन्दै गएको छ । सबै जनाले अझ मेहनत गरेको खण्डमा एक नम्बरको पार्टी बन्छ । अहिले एमाले वा कांग्रेस कुनै पार्टीसँग चुनावी तालमेलबारे कुराकानी भएको छैन’, प्रचण्डको भनाइ उदृद्ध गर्दै नेता राजेन्द्र श्रेष्ठले भने ।

    श्रेष्ठका अनुसार एकहप्ता अगाडि कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले तीन पार्टी मिलेर जाने प्रस्ताव गरेको तर आफूले अस्वीकार गरेको प्रचण्डले जानकारी गराएका थिए । पहिला देउवाले मिलेर जाउँभन्दा ओलीले आफ्नो पार्टीलाई होच्याएर ओलीले कांग्रेस र एमालेबिच मात्र चुनावी तालमेलको प्रस्ताव ओलीले गरेको श्रेष्ठले आरोप लगाए । अहिले स्थिति प्रतिकुल देखिएपछि एमालेले सहकार्यको प्रस्ताव गरेको उनको जिकिर छ ।

    ‘एकहप्ता अगाडि शेरबहादुर देउवाले कांग्रेस, एमाले र नेकपा मिलेर जाऊँ भन्ने प्रस्ताव गर्नुभएको थियो । संयोजकले स्थिति धेरै अगाडि बढी सकेकाले चुनावी तालमेल गर्न नसकिने बताउनुभयो’, श्रेष्ठले रातोपाटीसँग भने, ‘पहिलो हाम्रो पार्टी बन्ने क्रममै थियो । तीन पार्टी मिलेर जाने देउवाको प्रस्ताव केपी ओलीले ठाडै अस्वीकार गरे । हाम्रो पार्टीलाई मिनिमाइज गर्ने काम भयो । अहिले कांग्रेसभित्रै अन्तरघातको खतरा छ । जेनजी विद्रोहपछि एमाले निकै अलोकप्रिय भएको छ । रास्वपा बाहिर जति चर्चा भएको छ, वास्तविक धरातल त्यस्तो देखिँदैन । सबै हिसाबले हामी पहिलो र रास्वपा दोस्रो हुने स्थिति छ ।’

    बैठकमा सहसंयोजक माधव कुमार नेपालले एमालेसँग कुनै हालतमा सहकार्य नहुने बताएका थिए ।

    माघ १९ गते बसेको निर्वाचन परिचालन समितिका सचिवालय सदस्यहरूले निर्वाचनको तयारी, समसामयिक राजनीतिक अवस्था तथा क्षेत्रगत परिस्थितिबारे रिपोर्टिङ गरेका थिए ।  बैठकले केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक माघ २२ गते बस्ने निर्णय गरेको थियो । साथै, नेता तथा कार्यकर्ताको परिचालन, निर्वाचन अपिल प्रकाशन, घोषणापत्रको सम्पादन तथा प्रकाशन, सुरक्षा व्यवस्था, आर्थिक तथा मिडिया परिचालन, आचारसंहिता र निर्वाचन आयोगसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको थियो ।

    अघिल्लो बैठकले निर्वाचन परिचालन प्रभावकारी अनुगमनका लागि प्रदेशगत जिम्मेवारी पनि तोकिएको थियो  । जसअनुसार कोशी प्रदेशमा बेदुराम भुसाल, मधेस प्रदेशमा अग्नि सापकोटा, बागमती प्रदेशमा राजेन्द्र श्रेष्ठ, गण्डकी प्रदेशमा देव गुरुङ, लुम्बिनी प्रदेशमा पम्फा भुसाल, कर्णाली प्रदेशमा प्रमेश हमाल र सुदूरपश्चिम प्रदेशमा रञ्जिता श्रेष्ठलाई जिम्मेवारी प्रदान गरिएको थियो । निर्वाचनमा प्रचारप्रसारलाई प्रभावकारी बनाउनका लागि अग्नि सापकोटाको नेतृत्वमा जगन्नाथ खतिवाडा र गोविन्द आचार्य रहेको केन्द्रीय प्रचार समिति गठन समेत गरेको थियो । 

    प्रकाशित मिति :माघ २२ २०८२ बिहिवार - १५:४१:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij