२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफू कोरोना संक्रमित भई आइसोलेसनमा रहेका बेला ‘श्रद्धाञ्जलि दिने’ व्यक्तिहरुलाई कडा कारबाही गर्न माग गरेका छन् ।
उनलाई १० दिनअघि कोभिड–१९ संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका थिए । सोमबार गराइएको अर्को परीक्षणमा भने संक्रमणमुक्त भएको रिपोर्ट आएको उनले जनाएका छन् ।
तर आफू आइसोलेसनमा बसेर अत्यन्त तनावपूर्ण अवस्थामा रहेका बेला समेत केहि व्यक्ति तथा समूहले दुष्ट नियतका साथ श्रद्धाञ्जलि दिने जस्ता निकृष्ट काम गरेको उनले बताएका छन् ।
सामाजिक सञ्जालमा लेखिएका त्यस्ता पोस्टहरु समेत उनले सार्वजनिक गरेका छन् । केहि व्यक्तिहरुले असान्दर्भिक पोस्टहरुलाई फोटोसपमार्फत् तोडमोड गरी गलत अफवाह फैलाएको समेत थापाले बताएका छन् ।
‘त्यस्ता तत्वहरूलाई तथ्यको आधारमा प्रतिष्पर्धा एवं तर्कको सामना गर्न म चुनौति दिन चाहन्छु । साथै, साइवर कानुन कार्यान्वयनको क्षेत्रमा कार्यरत राज्यका संयन्त्रहरूलाई आफ्नो कर्तव्य निर्वाह गरी दोषीहरू उपर कडा कारबाही गर्न विशेष जोड दिन चाहन्छु,’ उनले सामाजिक सञ्जामा भनेका छन् ।
उनी यसअघि कोरोनाको पहिलो लहरमा पनि संक्रमित भएका थिए । ‘म जिउँदो मान्छेलाई ‘रिप’ लेख्ने, श्रद्धाञ्जलि भन्ने र मृत्युको कामनासमेत गर्ने गरेको नीच व्यवहार मैले दुबै पटक भोगें,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij