२०८२ पौष १७ गते बिहिवार
काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको एक टायल्स उद्योगमा दुई जना मजदुर मृत फेला परेका छन् । एक जना नेपाली र एक जना भारतीय मजदुर उद्योगमा मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार मृत फेला पर्नेमा नवलपरासी बर्दघाट नगरपालिका-१३ धनेवाका ४० वर्षीय होमबहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्ला-६६ ग्रामपोस्टका ३० वर्षीय विनोद कुमार रहेका छन् । ग्यासी फायरमा डिउटीमा खटिएका उनीहरू मृत फेला परेको प्रहरीले जनाएको छ ।
ग्यासी फायरको पोकिङ फ्लोरमा गद्दा ओछ्याएर सुतेको अवस्थामा उनीहरू मृत फेला परेको जानकारी कम्पनीका म्यानेजर रमेश न्यौपानेले बिहान सवा ९ बजे प्रहरीलाई गराएका थिए ।
घटनाबारे जानकारी पाउनेबित्तैकै प्रहरी टोलीले घटनास्थल पुगेको पश्चिम नवलपरासीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुशील घिमिरेले जानकारी दिएका छन् ।
घटनास्थलमा मृत फेला परेका दुवै जना मजदुरको शरीरमा कुनै पनि प्रकारको घाउ चोट नदेखिएको उनले बताएका छन् ।
मृतकका आफन्तले भने घटना शंकास्पद भएको भन्दै उद्योग घेराउ गर्दै प्रदर्शन गरिरहेका छन् । उनीहरूले दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने माग राखेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij