२०८२ मंसिर २४ गते बुधवार
१. सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सुशासन कमजोर भए भ्रष्टाचार मौलाउने बताउनुभएको छ । सोमवार १७ औं राष्ट्रिय मानव अधिकार महाभेला, २०८२ एवं ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भ्रष्टाचार हटाउनका लागि, कम गर्नको लागि अभियान चाल्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम हुनुपर्ने बताउनु भयो । उहाँले जेन–जी मुभमेण्टले नेपालमा नयाँ आयाम थपेको बताउनु भयो । भ्रष्टाचार मौलाए बेथिति बढ्ने र बेथिति भए मानव अधिकार ओझेलमा पर्ने बताउनु भयो ।
२. सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको भेट
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंको औपचारिक भेटवार्ता शुरु भएको छ । नागरिक बचाउ दलका संरक्षक तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक प्रसाईंले सरकारसँग राखेका २७ बुँदे मागका मुख्य बुँदाहरुबारे प्रधानमन्त्री कार्कीसँग विस्तृत छलफल चलिरहेको हो । भेटघाटले राजनीतिक तनावपूर्ण वातावरणमा नयाँ मोड ल्याउनेछ । प्रधानमन्त्री कार्कीको निर्देशनमा समसामयिक राजनीतिक तथा सामाजिक मुद्दाहरुमा छलफलका लागि प्रसाईंलाई मंसिर २२ गतेको समय दिइएको थियो । सोमवार दिउँसो ३ बजे शुरु भएको यो भेटमा प्रसाईंले आफ्नो समूहले गत मंसिर ६ देखि नै राख्दै आएका मागहरुको पूर्ण कार्यान्वयनका लागि सरकारको तत्कालीन प्रतिवद्धता कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
३. सामान्य बढ्यो सुनको मूल्य
सोमवार सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । महासंघकाअनुसार आईतवार २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ५२ हजार ९ सय रुपैयाँ पुगेको छ । चाँदीको मूल्य भने तोला २० रुपैयाँले घटेको महसंघले जनाएको छ । आईतवार प्रतितोला ३ हजार ६०५ रुपैयाँमा कारोबर भएको चाँदी आज घटेर ३ हजार ५८५ रुपैयाँ पुगेको छ ।
४. सामान्य अंकले घट्यो नेप्से
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेको छ । आज बजार बन्द हुँदा नेप्से ३ अंकले घटेर परिसूचक २६०६.६७ बिन्दुमा आएको छ । आज नेप्से घट्दा ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार रुपैयाँ बराबरको १ करोड १ लाख ४६ हजार ४०० कित्ता शेयर कारोबार भएको छ ।
बजार बन्द हुँदा ९९ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १४७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १२ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । दिनभरमा ३३१ वटा कम्पनी कारोबारमा आउँदा ८३ हजार २७३ पटक शेयर किनबेच भएको छ । आज ५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । १३ वटा समूह मध्ये हाइड्रोपावर, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र ट्रेडिङ समूह बाहेक सबै समूह घटेको छ ।
५. मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले इमान्दारितापूर्वक नेपाली जनताको सेवा गर्ने अवसर प्राप्त हुनेमा विश्वस्त रहेको बताउनुभएको छ । प्रतिनिधि सभा निवाृचनका लागि मोरङ—३ बाट सर्वसम्मत सिफारिस हुनुभएका शर्माले सोही कार्यक्रमस्थलमा यस्तो बताउनुभएको हो । उहाँले २०८२ सालमा निर्वाचन हुनेमा आशंका व्यक्त गर्नुहुँदै काँग्रेसले मोरङ—३ मा जस्तै अन्य स्थानमा पनि मेलमिलापसहित प्रतिनिधि सभा सदस्यका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गर्नुपर्ने बताउनु भयो । देशभरका १६४ क्षेत्रले यसलाई रोल मोडलको रुपमा मानेर आम देशभरका नेपाली काँग्रेसका नेता,कार्यकर्ताले आफ्नो आफ्नो क्षेत्रमा आफ्ना उम्मेदवारलाई निर्विरोध गरेर नयाँ सञ्चारसहित काँग्रेसलाई नयाँ उर्जा भरेर मुलुकभर लैजानुपर्ने बताउनु भयो । आफू मन्त्री हुने वा नहुने अर्को पाटो भएपनि इमान्दारितापूर्वक नेपाली जनताको सेवा गर्ने प्रतिवद्धता जनाउनु भयो ।
६. प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले आफ्ना माग पूरा नभए जनविद्रोह हुने चेतावनी दिनुभएको छ । सोमवार साँझ सिंहदरबारमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि उहाँले आफूहरुले राखेका माग पूरा नभए जनविद्रोह हुने र त्यो कसैले नसोचेको हुने चेतावनी दिनुभएको हो । उहाँले प्रधानमन्त्रीसँग आफ्ना मागहरु स्पष्ट रुपमा राखेको बताउनु हुँदै उहाँले आफ्ना माग नागरिकको जनजीविकासँग सम्बन्धित रहेको बताउनु भयो । प्रधानमन्त्री कार्कीले आफूहरुका मागबारे अध्ययन गरेर पुस २ गते निर्णय दिने बताउनुभएको पनि प्रसाईंले जानकारी दिनुभयो । २०६२—०६३ को जनआन्दोलनको म्याण्डेट भनेको संघीयता, धर्मनिरपेक्षता ल्याउने नरहेको भन्दै यसबारे जनमतसंग्रह गर्नुपर्ने माग राखेको बताउनु भयो । सरकारले तोकेको फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचन समयमा नहुने पनि बताउनु भयो ।
७. देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागि परेको बताउनुभएको छ । सोमवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री परियारले १६ औँ पञ्चवर्षिय योजनाले लिएको सबैका लागि सुलभ र पौष्टिक खाद्यान्न सुनिश्चित गर्ने योजनाअनुसार नै सरकारका कार्यक्रम केन्द्रित रहेको दाबी गर्नुभएको हो । राष्ट्रिय रणनीतिहरु प्रदेश तथा स्थानीय तहका खाद्य प्रणाली रुपान्तरण योजनसँग समायोजित गरिएको बताउनु भयो । साना तथा सिमान्तकृत कृषकहरुको क्षमता विकासमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
८. तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या
सुनसरीको रामधुनीका दिनेशकुमार चौधरीको हत्या स्थानीयकै योजनामा भएको खुलेको छ । दुई महिनाअघि रामधुनी २ मा भएको सिटी सफारी चालक चौधरी उपरका गोली हानी हत्याको घटनामा स्थानीय राजकिशोर साह र नन्दकिशोर साहको संलग्नता खुलेको हो । सुनसरी प्रहरीका अनुसार राजकिशोर र नन्दकिशोर दाजुभाई हुन् । उनै साह दाजुभाईकै योजनामा सुपारी दिएर मान्छे बोलाई चौधरीको गोली हानी हत्या गराइएको हो । सिटी सफारी चालक धामीझांक्री भएको र तन्त्रमन्त्र गरी परिवारका सदस्यलाई बिरामी बनाई दुःख दिएको भन्दै हत्या गराइएको खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशव कुमार थेवले बताउनु भयो ।
९.इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयकाअनुसार उत्तरी पश्चिम किनारको नाब्लस शहरको दक्षिणमा रहेको ओडाला गाउँमा इजरायली सैनिकहरूले एक प्यालेस्टिनी पुरुषको गोली हानी हत्या गरेको जनाएको छ । एक संक्षिप्त विज्ञप्तिमा मन्त्रालयले ती व्यक्तिलाई ३८ वर्षीय बहा अब्देल रहमान रशेदको रूपमा पहिचान गरेको छ । प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीले एक छुट्टै विज्ञप्तिमा रशेदको टाउकोमा गोली लागेको छ । स्थानीय स्रोतहरू र बासिन्दाहरूले इजरायली सेनाले गाउँको केन्द्रमा छापा मारेको बताइएको छ । प्रार्थना गर्नेहरू मस्जिदबाट बाहिर निस्किरहेका थिए । जसको क्रममा सैनिकहरूले प्रत्यक्ष गोलाबारुद, अश्रु ग्यास क्यानिस्टर र स्टन ग्रेनेडहरू प्रहार गरेका थिए । प्यालेस्टिनी तथ्याङ्ककाअनुसार अक्टोबर ७, २०२३ देखि पश्चिम बैंक र पूर्वी जेरुसेलममा ९५० भन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन् । जसमध्ये धेरैजसो इजरायली सेनासँगको छापा वा झडपको क्रममा मारिएका छन् ।
१०. ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न
ओमानको कला प्रदर्शनीको नवौं संस्करण ओमानको राजधानी मस्कटमा सम्पन्न भएको छ । ओमान, सिरिया, बेलायत र भारत लगायत देशहरूबाट हस्तशिल्प कलाकृति र चित्रहरूको विविध दायरा प्रश्तुत गर्दै दुई दिने कार्यक्रम सम्पन्न भएको हो । कलात्मक अभिव्यक्तिमार्फत अन्तरसांस्कृतिक सम्बन्धलाई सुदृढ पार्दै किफायती र पहुँचयोग्यतालाई प्राथमिकता दिइएको थियो । यो प्रदर्शनी स्थानीय र अन्तर्राष्ट्रिय कलाकारहरूलाई किफायती मूल्यमा आफ्नो कलाकृति प्रदर्शन र बेच्न एकसाथ ल्याउने प्लेटफर्म भएको छ । यसले कलात्मक शैली र सांस्कृतिक कथाहरूको जीवन्त स्पेक्ट्रम अन्वेषण गर्न उत्सुक बासिन्दाहरू, पर्यटकहरू र कला उत्साहीहरूलाई वार्षिक रूपमा आकर्षित गरेको छ ।
११. गाजा भित्र ‘पहेंलो रेखा’ नयाँ सीमा होः इजरायली सेना प्रमुख
इजरायली सेना प्रमुख इयाल जामिरले ‘पहेंलो रेखा’ सीमांकन गाजापट्टीभित्र नयाँ सीमा रेखा भएको बताउनुभएको छ । पहेंलो रेखाले इजरायली सेनाहरू प्यालेस्टिनी एन्क्लेभमा फिर्ता भएका छैनन् भन्नेकुरालाई चिन्हित गर्ने बताउनु भयो । जुन अक्टोबर १० मा लागू भएको युद्धविराम व्यवस्थाको एक भागको रूपमा हो । पहेंलो रेखा एउटा नयाँ सीमा रेखा भएको र यसले समुदायहरूको लागि अगाडिको रक्षात्मक रेखा र सञ्चालन गतिविधिको रेखाको रूपमा काम गर्ने बताउनु भयो । सेनाले गाजा पट्टीको विस्तृत भागहरूमा सञ्चालन नियन्त्रण ग्रहण गरेको बताउनु भयो । अक्टोबर ११ देखि इजरायली गोलीबारीबाट ३ सय ७० भन्दा बढी मानिसहरू मारिएका छन् । जसले गर्दा अक्टोबर २०२३ मा इजरायल–हमास द्वन्द्व शुरु भएदेखि प्यालेस्टिनीहरूको मृत्यु हुने संख्या ७० हजार ३ सय ६० पुगेको छ ।
१२. प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट
कुवेत स्पेस रकेट टोलीले प्रक्षेपण गर्ने प्रयास गरेको सानो रकेट जहरा गभर्नरेटमा विष्फोट भएको छ । प्रज्वलन भएको केही समयपछि विस्फोट भएको बताएको छ । तमोह–३ नाम दिइएको रकेट लगभग ३.२ मिटर लामो थियो । जसको अधिकतम थ्रस्ट लगभग १२ हजार न्यूटन थियो । यो निर्देशांक, गति, उचाइ, प्रवेग र अन्य उडान डेटा रेकर्ड गर्न डिजाइन गरिएका जिपिएस उपकरणहरूले सुसज्जित थियो । टोलीकाअनुसार यो यसको चौथो प्रक्षेपण प्रयास थियो । यसले आफ्नो विकास प्रयासहरू जारी राख्दै विस्फोटको कारणको अनुसन्धान गर्ने बताएको छ । २०१८ मा स्थापित, कुवेत स्पेस रकेट टोलीले कुवेतको अन्तरिक्ष अनुसन्धान र वैज्ञानिक अन्वेषण पहलहरूमा योगदान पु¥याउने लक्ष्य राख्दै विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितका इन्जिनियरहरू र विशेषज्ञहरूलाई एकसाथ ल्याउँछ ।
१३. भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो
भारतको पश्चिमी राज्य गोवाको एक नाइटक्लवमा भएको विनाशकारी आगलागीमा चार पर्यटकहरूसहित २५ जनाको मृत्यु भएको छ । अन्य धेरै जना घाइते भएका प्रहरीले जनाएको छ । गोवाको राजधानी पणजीबाट लगभग १६ किलोमिटर उत्तरपश्चिममा रहेको उत्तरी गोवा जिल्लाको अर्पोरा गाउँमा रहेको लोकप्रिय नाइटक्लव, बिर्च बाई रोमियो लेनमा आगलागी भएको हो । आगलागीको कारण अझै पत्ता लाग्न सकेको छैन । प्रहरी र अग्निशमन विभागको अनुसन्धान जारी छ । भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल पोस्टमार्फत मृत्युप्रति शोक व्यक्त गर्नुभएको छ र पीडित परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।
१४. आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम
नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले आगामी फागून २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा दुईतिहाई बहुमत ल्याउने दाबी गर्नुभएको छ । सोमवार ललितपुरमा आयोजित कार्यक्रममा उहाँले यस्तो दाबी गर्नुभएको हो । निर्वाचनबाट दुईतिहाई बहुमत ल्याएपछि पार्टीले समाजवादको यात्रा तय गर्ने बताउनु भयो । उहाँले दुईतिहाई मत ल्याउनको अहिलेदेखि नै तयारी थाल्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो । टोल, वडा, पालिका कुनै स्थान खाली नराखी जनताको जानुपर्ने उहाँको भनाई छ । १७ वटा पार्टी एकिकृत भएर पार्टी बनेको उल्लेख गर्नुहुँदै उहाँले जनताको घर दैलोमा पुग्न नेताको अभाव नै नहुने बताउनु भयो ।
१५. ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीको महाधिवेशनलाई पञ्चायती व्यवस्थाको गाउँ फर्क शैलीमा गर्न लागेको आरोप लगाउनुभएको छ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल पक्षधरहरूले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँकाअनुसार २०३२ सालमा पंचायती व्यवस्थामा गाउँ फर्क लागू भएपछि गाउँ फर्कले जसलाई टिकट दिन्छ, सोही व्यक्ति मात्रै पञ्च भएर निर्वाचन लड्न पाउँथे । सोही व्यवस्थलाई ओलीले अहिले पार्टीमा लागू गर्नुभएको उहाँको आरोप छ । उहाँले ओली अध्यक्षमा निर्वाचित भएपछि पार्टीको लोकतान्त्रिक प्रक्रियामै गम्भीर संकट आएको बताउनु भयो । वर्तमान नेतृत्वले आन्तरिक निर्वाचन प्रणालीलाई सिमित व्यक्तिमुखी बनाउने प्रयास गरिरहेको दाबी गर्नुभयो । पाण्डेले केपी ओलीकै नेतृत्वमा ७० वर्षे उमेरहद र दुई पटकभन्दा पार्टीको नेतृत्व गर्न नपाउने व्यवस्था गरिएको स्मरण गर्नुभयो । आठौँ महाधिवेशनमा सर्वसम्मत रूपमा पारित गरिएको लोकतान्त्रिक नेतृत्व विधि पछि ९ औँसम्म चलेको उहाँको भनाई छ ।
१६. पार्टीवाट बिदा लिएमात्रै केपी ओलीको सम्मान बढ्छः कर्ण थापा
नेकपा एमालेका नेता कर्ण थापाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट बिदा लिनुपर्ने बताउनुभएको छ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल पक्षधरहरूले सोमवार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश, जनता र पार्टीका सर्मथक, सुवेच्छुकहरुको भावना बुझेर नेतृत्वबाट विदा लिनुपर्ने बताउनु भयो । ओलीले नेतृत्वबाट बिदा लिएमा सम्मान बढ्ने उहाँको दाबी छ । नेतृत्वबाट बिदा लिएमा ओलीले गरेका महत्वपूर्ण योगदानलाई जनताको बीचमा स्थापित गर्न सकिने उहाँले बताउनु भयो ।
१७. क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले क्रान्तीकारी विकास आजको आवश्यकता भएको बताउनुभएको छ । सोमवार पार्टीले काठमाडौंको सिफल चौरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको संस्कृतिसँग युवालाई जोड्दै मुलुकलाई आर्थिक समुन्नतिको बाटोमा डो¥याउने अभियानमा गोलवद्ध हुन समेत सबै युवाहरुलाई आग्रह गर्नुभयो । आफ्नो पार्टीले विदेशी ऋणको भरमा बाटो र पुल बनाउने कुरा नगर्ने उल्लेख गदै उहाँले श्रमदानमार्फत मुलुकलाई विकास र समृद्धिको दिशामा लैजाने कुरामा प्रतिबद्ध रहेको पनि बताउनु भयो ।
१८. संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले लोकतन्त्र कमजोर हुँदा मानवअधिकारको सुनिश्चिततामा गम्भीर समस्या उत्पन्न हुने भन्दै सबै पक्षलाई सचेत रहन आग्रह गर्नुभएको छ । सोमवार ललितपुरमा आयोजित १७ औँ मानव अधिकार राष्ट्रिय महाभेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले लोकतन्त्र र मानवअधिकार एक–अर्काका परिपूरक भएको उल्लेख गर्दै लोकतन्त्र सुदृढ भए मात्रै मानवअधिकारको प्रभावकारी कार्यान्वयन सम्भव हुने बताउनु भयो । उहाँले वर्तमान परिवर्तित सन्दर्भमा लोकतन्त्रलाई संस्थागत गर्न सरकार प्रतिवद्ध रहेको भन्दै प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सबै सरोकारवालाले आ–आफ्नो स्थानबाट भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
१९. ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र पार्टी केन्द्रिय कार्यालयमा बुझाउनुभएको छ । सोमवार अपरान्ह च्यासलस्थित पार्टीको केन्द्रिय कार्यालयमा आफू पक्षका नेताहरुसहित पुग्नुभएका उहाँले महासचिव शंकर पोखरेललाई अवधारणा पत्र बुझाउनुभएको हो । पार्टीको निर्माण, सञ्चालन, सामूहिक नेतृत्व तथा पार्टी भित्रको नियन्त्रण र सन्तुलनको परिचालन, जनताको बहुदलीय जनवादबाट निर्देशित भएर कसरी चल्नुपर्छ ? भन्ने विषयमा केन्द्रित भएर आफूहरुले सो अवधारणा पत्र तयार पारेको वरिष्ठ उपाध्यक्ष पोखरेलले स्पष्ट पार्नुभयो । उहाँले आफूहरुले सो अवधारणा पत्र महाधिवेशनमा व्यवस्थित रुपमा राख्ने समेत बताउनु भयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशनका लागि प्रतिनिधि चयनमा केही ठाउँमा देखिएको समस्या समाधान भइसकेको समेत बताउनु भयो । अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै सो अवधारणा पत्र बुझाउन अनुकुल नभएपछि पार्टी केन्द्रिय कार्यालयमा बुझाइएको पनि उहाँले बताउनु भयो ।
२०. पार्टीमा नीति होइन, नेता प्रदान भएकाले नयाँ नेतृत्व ल्याउन चाहेका हौँः युवराज ज्ञवाली
नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीको ११ औँ महाधिवेशनमा आफूहरुले सामुहिक नेतृत्व प्रणालीलाई स्थापित गराउन नेतृत्व परिवर्तन गर्न चाहेको बताउनुभएको छ । उपाध्यक्ष ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीले एकलकाटे प्रवृत्ति देखाएको र नेतृत्व प्रदान भन्ने गलत मान्यतालाई अघि बढाएकाले आफूहरुले त्यसको विकल्पमा ईश्वर पोखरेललाई नयाँ नेतृत्वको रुपमा अघि बढाउन बाध्य हुने परेको जिकिर समेत गर्नुभयो । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सामुहिक नेतृत्व विना लोकतन्त्र सफल हुन नसक्ने भएकाले पनि आफूहरुले सामूहिक नेतृत्वलाई अघि बढाउने मान्यतालाई स्थापित गराउनका लागि ११ औ महाधिवेशनमा पोखरेललाई अध्यक्षको रुपमा निर्वाचन गराउन चाहेको समेत बताउनु भयो ।
२१. सरकारप्रति अधिकारकर्मीहरुको असन्तुष्टि
अधिकारकर्मीहरुले वर्तमान सरकारको आलोचना गरेका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अधिवक्ता राजुप्रसाद चापागाईं, मोहना अन्सारीलगायतका अधिकारकर्मीहरुले वर्तमान सरकारले पनि जेन—जी आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको भन्दै आलोचना गरेका हुन् । वर्तमान सरकारले जनतालाई विश्वासमा लिने गरी पारदर्शी ढंगले काम गर्न नसकेको अधिवक्ता चापागाईंले आरोप लगाउनु भयो । उहाँले राजनीतिक नियुक्तिमा जथाभावी गरेर सरकारले पुरानै सरकारको चरित्र प्रर्दशन गरेको भन्दै आपत्ति समेत जनाउनु भयो ।
२२. ‘करेन्सीको भाउ बढ्दा पनि नेपालमा लाभ भन्दा हानी धेरै’
पछिल्लो समय विदेशी विनिमय दरको भाउ बढिरहेको छ । भाउ बढ्दा नेपाललाई लाभ भन्दा पनि नोक्शानी बढी हुने गरेको छ । नेपालमा पर्यटन, रेमिट्यान्स जस्ता क्षेत्रमा विदेशी विनिमय दर बढ्दा लाभ मिलेपनि वस्तुदेखि, प्रविधिसम्म आयात गर्दा नेपालको लागत बढ्न जाने नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउनुहुन्छ । उहाँकाअनुसार अर्थतन्त्रको तागत र आम नागरिकको सेन्टिमेन्टको आधारमा करेन्सीको मूल्य निर्धारण हुने गर्दछ । नेपालको अर्थतन्त्र बलियो हुँदै गएपनि अहिले भने लाभ भन्दा नोक्शानी बढिरहेको उहाँको बुझाइ छ ।
२३. बुटवलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि प्रविधि तथा पर्यटन महोत्सव हुने
रुपन्देहीको बुटबलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सव हुने भएको छ । रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा आगामी पौष ३ गतेदेखि १७ गतेसम्म राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको हो । ‘समृद्ध नेपान निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा आधुनिक स्तरका स्टलहरु राख्न लागिएको रुपन्देही उद्योग संघका अध्यक्ष तथा मेला मूल समिति संयोजक कृष्णप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
२४. रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी
निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास फैलाएको बताउनुभएको छ । सोमवार निर्माण दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले ठेक्का व्यवस्थापन गर्ने नाममा निर्माण उद्योगीहरुलाई राज्यले प्रताडित गर्न नहुने बताउनुभएको हो । उहाँकाअनुसार एकतर्फी रुपमा आम जनतालाई निर्माण उद्योगको मात्रै त्रुटी देखाएर जनतासमक्ष उद्योगीको मानमर्दन गर्ने काम सरकारले बन्द गर्नुपर्छ । रुग्ण ठेक्काको व्यवस्थापन सही रुपमा हुनुपर्ने बताउँदै उहाँले सार्वजनिक ऐनको दफा, ६९ को ३ र ८ यथाशिघ्र खारेज गरेर निर्माण उद्योगलाई चलायमान बनाउनुपर्ने समेत बताउनु भयो । –न्युज एजेन्सी नेपाल
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij