२०८२ मंसिर १६ गते मंगलवार
काठमाडौं । रुपन्देही । बुटवल कृषि उपज केन्द्रका लागि ६८ वटा सटर लामो समय टेन्डर आह्वान गरेर नखोलिएको भन्दै कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि विभागले अविलम्ब खोल्न निर्देशन दिएको छ । २०८१ भदौ २४ गते कृषि बजार व्यवस्थापन समितिले ६८ वटा सटर भाडामा लगाउने गरी बोलपत्रको सूचना प्रकाशन गरेको थियो ।
सोही अनुसार ६८ वटा सटरका लागि २ सय ६७ वटा बोलपत्र दर्ता भएका थिए । तर अहिलेसम्म खोलिएको छैन । कृषि उपज थोक बजार व्यवस्थापन समिति बुटवललाई मङ्सिर १५ गते पत्र लेख्दै विभागका वरिष्ठ कृषि अर्थविज्ञ कलशराम चौधरीले अविलम्ब टेन्डर प्रक्रिया अगाडि बढाउन र अदालतको फैसला कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । सटर बहालसम्बन्धी सम्मानित अदालतको फैसला कार्यान्वयनको लागि विभागले पत्र काटेर सचेत गराएको हो ।
पत्रमा कृषि बजार व्यवस्थापन समितिले २०८१ भदौ २४ गते आह्वान गरेको सटरको बेलपत्रसम्बन्धी मुद्दामा अदालतबाट फैसला भइआएको अवस्थामा पनि सटरको बोलपत्र नखुल्नको कारण समेत माग गरेको हो । अदालतबाट २०८२ कार्तिक २० गते गरेको अन्तिम फैसलाअनुसार सटरको टेन्डर अविलम्ब खोल्नको लागि निर्देशन दिएको थियो ।
विभागले बुटवल उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय रुपन्देही, लुम्बिनी फलफूल तथा तरकारी व्यवसायी सङ्घ रुपन्देहीलाई समेत बोधार्थ पत्र दिँदै ‘सटर बहालसम्बन्धी बोलपत्रको विषयमा सम्मानित जिल्ला अदालत रुपन्देहीबाट अदालतको फैसला कार्यान्वयन गर्ने प्रक्रिया प्रचलित कानूनबमोजिम तुरुन्त अघि बढाउन निर्देशानुसार अनुरोध छ’ भनेर पत्र काटेको हो । साथै विभागको पत्रमा यससम्बन्धी कामको दैनिक प्रगति विवरणसमेत विभागको इमेलमा पठाउन अनुरोध गरेको छ ।
टेन्डरर खुलाउन एक पक्षले र टेन्डरर नखुलाउन अर्को पक्षले स्थानीय सरकार तथा व्यवस्थापन समितिलाई दबाब दिँदै आएको छ भने केही समय अदालती प्रकृयाले पनि यो काम रोकिएको थियो ।
१५ वर्षअघि निर्माण भएको बुटवल कृषि उपज तथा थोक बजार केन्द्रमा कृषि मन्त्रालयको ६०, बुटवल उपमहानगरको २४ र लुम्बिनी फलफूल तरकारी थोक व्यवसायी सङ्घको १६ प्रतिशत लगानी छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij