२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली फेरि प्रधानमन्त्री पदमा नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार ओलीलाई ‘प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरु भएको दलको संसदीय दलको नेता’ का हैसियतमा प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् ।
गत सोमबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा राखेको विश्वासको मतको प्रस्ताव असफल भएपछि राष्ट्रपतिबाट राति ९ बजेसम्मको समय दिएर संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलको सरकार गठनका लागि आह्वान भएको थियो ।
यस्तो सरकार गठन गर्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गरेको प्रयास असफल भएपछि धारा ७६ को उपधार ३ अनुसार ओली फेरि प्रधानमन्त्री नियुक्त भएका हुन् ।
अब प्रधानमन्त्री ओलीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने छ ।
ओलीले पदको शपथ आज लिँदै
पुनः प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले पदको शपथ आज लिँदै छन्।
संविधानको धारा ७६ (३) अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति उनलाई प्रधानमन्त्रीमा नियुक्ति गरेकी हुन्। उनको शपथ आज दिउँसो साढे २ बजे गराउने तयारी शीतल निवासले गरेको छ।
गत सोमबार संसदमा विश्वासको मत माग्दा बहुमत प्राप्त हुन नसकेपछि ओली पदबाट हटेका थिए। त्यसपछि राष्ट्रपति संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुई दलभन्दा बढी मिलेर बहुमतको सरकार बनाउन ३ दिन अर्थात् हिजो बिहीबार राति ९ बजेसम्मको समय दिएकी थिइन्।
कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने प्रयास गरे पनि समयसीमाभित्र बहुमत जुटाउन सकेनन्। जसले गर्दा प्रधानमन्त्री चयनको प्रक्रिया अर्काे चरणमा प्रवेश गरेको हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij