२०८२ कार्तिक १८ गते मंगलवार
                                                    काठमाडौं । गत भदौ २३ र २४ गते देशभर भएका जेनजी प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र अतिक्रमणका कारण क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’मा हालसम्म ६ करोड २४ लाख सङ्कलन भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयकाअनुसार सोमबार बेलुकासम्म सो कोषमा उक्त रकम जम्मा भएको हो ।
जेनजी प्रदर्शनका क्रममा विभिन्न सार्वजनिक संरचना, सरकारी कार्यालय, तथा स्थानीय निकायका भौतिक संरचनामा क्षति पुगेको थियो । त्यस्ता संरचनाको पुनःनिर्माणका लागि सरकारले गत असोज २८ गते कोषमा आर्थिक सहयोग जुटाउन सर्वसाधारण नागरिक, निजी क्षेत्र, गैरआवासीय नेपाली, विकास साझेदार, दातृ निकाय, उद्यमी तथा विभिन्न सङ्घ-संस्थालाई औपचारिक रूपमा आह्वान गरेको थियो ।
सहयोगकर्तालाई प्रोत्साहन गर्न चालु आर्थिक वर्षभरि प्रदान गरिने आर्थिक सहयोगलाई करयोग्य आय गणनामा कटौतीयोग्य खर्चका रूपमा सूचीकृत गर्ने व्यवस्था पनि गरेको छ । कोषमा सङ्कलित रकम ‘राष्ट्रिय वाणिज्य बैङ्क’ सिंहदरबार शाखामा खोलिएको १९६०१००१०२०७०००४ विशेष खातामार्फत व्यवस्थापन गरिँदैछ ।
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij