२०८२ कार्तिक १५ गते शनिवार
काठमाडौं । बाँकेको खजुरा गाउँपालिका-७ स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भौतिक पूर्वाधार अभाव हुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । किमोथेरापी सेवा लिँदै आएका क्यान्सरका बिरामीले शय्या अभावमा दिनभर पालो कुर्नुपर्ने बाध्यता छ ।
दिनभर कुर्दा पनि किमोथेरापीका लागि शय्या पाउन मुस्किल हुने गरेको बिरामीहरूको गुनासो छ । शय्या नपाउँदा किमोथेरापीका लागि दुई दिनसम्म पालो पर्खिनुपर्ने बाध्यता रहेको नेपालगन्ज-२१ का किमोथेरापी सेवाग्राही बिरामी डिगम्बर रानाले बताएका छन् ।
अस्पतालमा बिरामीको चाप दैनिक रूपमा बढ्दो छ । बिरामीको सङ्ख्या बढेपछि अहिले अस्पतालले एउटै शय्यामा दुई बिरामी राखेरसमेत किमोथेरापी सेवा प्रवाह गर्दै आएको छ भने अस्पतालमा सञ्चालनमा रहेको ‘डे केयर वार्ड’ मा शय्या अभाव हुँदा सेवा प्रवाहमा समस्या देखिएको अस्पतालको सूचना अधिकारी डा.प्रवीणकुमार गुप्ताले बताएका छन् ।
उनका अनुसार, अस्पतालमा हाल करिब ५५ शय्या मात्र सञ्चालनमा छन्, त्यसमध्ये किमोथेरापी सेवा प्रवाहका लागि सञ्चालित डे केयर वार्डमा करिब २० शय्या मात्रै रहेका छन् । किमोथेरापी सेवा लिने बिरामीको सङ्ख्या भने दैनिक करिब ५० हुने गरेको छ ।
अस्पतालमा पन्ध्र शय्याको डे केयर वार्ड भवन निर्माण भए पनि हस्तान्तरण नहुँदा थप समस्या भएको छ । डे केयर वार्ड भवन हस्तान्तरण भए किमोथेरापी सेवा लिने बिरामीलाई सेवा प्रवाह गर्न सहज हुने सूचना अधिकारी डा.गुप्ताको भनाइ छ ।
उनका अनुसार, केमोथेरापी एक क्यान्सर उपचार हो जसले क्यान्सर कोषहरूलाई त तिनीहरूको वृद्धि रोकेर वा विभाजन गरेर मार्न औषधिहरू प्रयोग गर्दछ । यो सेवा मुखबाट वा नशाबाट विभिन्न तरिकाले प्रदान गर्न सकिन्छ ।
पश्चिम नेपालको एक मात्र सरकारी क्यान्सर अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका बिरामी उपचारका लागि आउने गरेका छन् । गत आर्थिक वर्ष २०८१\८२ मा मात्र यस अस्पतालबाट ३६ हजार ९३२ बिरामीले बहिरङ्ग विभागबाट सेवा लिएका थिए । त्यसमध्ये ७०८ बिरामीलाई शल्यक्रिया सेवा प्रवाह भएको सूचना अधिकारी गुप्ताले जानकारी दिएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij