२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । औषधि र अक्सिजन सहज बनाउन सर्वोच्चको आदेश औषधि र अक्सिजन सहज बनाउन र थप अस्पताल संचालन गरी कोरोना संक्रमित बिरामीको उपचार सहज बनाउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।
अधिवक्ता शैलेन्द्र प्रसाद अम्वेडकर लगायतले दायर गरेको रिटमाथि मंगलबार सुनुवाई गर्दै सर्वोच्चले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगातका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
न्यायाधीश वमकुमार श्रेष्ठको इजलासले माग बमोजिम आदेश जारी हुनु नपर्ने कुनै कारण भए जेठ ७ गतेभित्रमा पेश गर्न आदेश दिँदै निरुपणका लागि ९ गते पेश गर्न भनेको छ ।
आवश्यक औषधि र अक्सिजनको आपूर्तीको समस्या विरामीसँग प्रत्यक्ष सरोकार राख्ने र अस्पतालमा नभई नहुने भएकाले सहज व्यवस्था गर्न अन्तरिम आदेशमा भनिएको छ ।
‘संक्रमित व्यक्तिहरुको दिनदिनै बढ्दै गइरहेको संख्यालाई दृष्टिगत गरी उपचारबाट कसैले पनि विमुख हुन नपरोस भन्नाको लागि थप साधनयुक्त अस्पतालहरु संचालन गर्ने गराउनेतर्फ आवश्यक पहल गर्नु पर्ने समेतका समस्याहरुको समयमै सम्वोधन हुनु पर्ने देखिएकाले आवश्यक पर्ने औषधि र अक्सिजनको आपूर्ति सहज बनाउनु, थप साधानयुक्त अस्पताल संचालनमा ल्याउनु,’ सर्वोच्चको अन्तरिम आदेशमा भनिएको छ, ‘अस्पतालहरुमा बिरामीको चापलाई ख्याल गरी जनशक्तिको आपूर्ति तत्काल गर्नु ।’
यी विषयको व्यवस्थापनको लागि लागि आवश्यकता अनुसार सरोकारवालाको प्रतिनिधित्व समेत हुने गरी एउटा कार्य समिति समेत निर्माण गर्न सरकारलाई आदेश दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij