२०८२ कार्तिक १२ गते बुधवार
काठमाडौं । प्रभावित क्षेत्रका स्थानीयको अवरोधका कारण बञ्चरेडाँडा ल्यान्ड फिल साइटमा फोहर विसर्जन प्रभावित भएको छ। काठमाडौं उपत्यकाबाट फोहर बोकेर गएका करिब ४० गाडी बुधबार स्थानीयले फर्काइदिएका छन्।
ककनी गाँउपालिका–१ र २ तथा धुनबेसी नगरपालिका–१, २ र ३ वडाका स्थानीयबासी दुई जिल्लाको सङ्गम ढाँडेस्थित सडकमा बसेर फोहर विसर्जन गर्न आएका गाडीलाई फिर्ता पठाएका हुन्।
काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन हुँदै आएको नुवाकोटको धुनिवेशी नगरपालिका–१ स्थित बञ्चरे कुंडुले ल्यान्ड फिल साइट जाँदै गरेका गाडीलाई प्रभावित स्थानीयले फर्काएका हुन्।
फोहोरमैला व्यवस्थापनको लागि दीर्घकालीन समाधानको लागि संघर्ष गर्दै आएका स्थानीय आफ्ना माग पूरा नभएको भन्दै बुधबारदेखि आन्दोलनमा उत्रिएका छन्।
काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीयबीच विसंं २०७९ जेठ २६ मा भएको १८ बुँदे सहमतिमा उल्लेख भएको फोहर विसर्जन रातको समयमा मात्र गरिने, दुर्गन्ध नआउने प्रबन्ध मिलाउने, फोहर बोकेका गाडीले लिच्चड नचुहाउने, फोहर विसर्जनपश्चात लिच्चड खोलामा जान नदिन वैज्ञानिक व्यवस्थापन गर्नुपर्नेलगायतका १८ बुँदामा सहमति भएको थियो।
उक्त सहमति कार्यान्वयन नहुँदा प्रभावित क्षेत्रमा फोहरबाट दुर्गन्ध फैलिएर सरुवाजन्य रोगको सक्रमण बढेको र दैनिक जनजीवन प्रभावित भएको भन्दै उनीहरूले पटकपटक ध्यानाकर्षण गराएका छन्। सहमति कार्यान्वयनका लागि पहल गर्नु साटो केही अगुवा स्थानीयमाथि काठमाडौं महानगरपालिको सार्वजनिक मुद्दा लगाएको भन्दै उनीहरू थप आक्रोशित छन्। मुद्दा फिर्ताको माग पनि उनीहरूले उठाउँदै आएका छन्।
फोहोरमैला व्यवस्थापनको दिगो समाधान सहितका आफ्ता १८ बुँदे माग पूरा नभए फोहोरमैला विसर्जन गर्न नदिने स्थानीय अगुवा नीराजन सञ्जेलले बताए।
‘फोहार बोकेर आएका गाडीलाई बुधबारदेखि फिर्ता पठाउन थालिएको छ। हामी अझै पनि संवाद र छलफलबाटै समस्याको समाधान होस् भन्ने चाहन्छौं,’ सञ्जेलले भने, ‘तर, काठमाडौं महानगरपालिका र संघीय सरकारले पटकपटक बेवास्ता गरेपछि हामी यो गाडी रोक्न बाध्य भएका हौं।’
स्थानीयले समस्या समाधानका लागि काठमाडौं महानगरपालिका र संघीय सरकारले धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकालाई छलफलमा बोलाउनु पर्ने बताएका छन्।
‘स्थानीय पीडितको माग सम्बोधन गर्न चाहनुभएको हो भने दुवै पालिकालाई तत्काल छलफलमा बोलाउनुपर्यो,’ सञ्जेलले अनलाइनसँग भने, ‘बुधबार पनि हामीले छलफलको लागि पहल हुने आशा लिएका थियौं। त्यसो भएन अब बिहीबार पनि गाडी प्रवेश रोक्नेछौं।’
फोहर विसर्जनकार्य वैज्ञानिक रूपमा व्यवस्थित हुनुपर्ने लगायत विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै स्थानीयले अवरोध गरेको धुनबेसी नगरपालिका–१ का स्थानीय दीपेन्द्र लामाले जानकारी दिए।
संघीय सरकार र काठमाडौं महानगरले प्रभावित स्थानीयमाथि हेपाहा प्रवृत्ति देखाइरहेको स्थानीयको आरोप छ।
‘विद्या सुन्दर शाक्य काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा पनि धेरै समस्या थिए। समाधानको पहल हुन सकेन। हामीले पटकपटक फोहोर रोक्नु पर्ने अवस्था आयो। बालेन्द्र शाह मेयरमा निर्वाचित भएपछि हामीले नयाँ मान्छे हुन्, केही गर्छु भन्ने हुटहुटी लिएका युवालाई सहयोग गर्नुपर्छ भन्यौं र सहयोग नै गर्यौं। हामीले उहाँको टिममै बसेर पनि सहयोग गर्यौं। तर, उहाँले समस्या समाधानमा ध्यान दिनुभएन, उल्टै हामीमाथि मुद्दा लगाउनु भयो,’ सञ्जेलले अनलाइनखबरसँग भने।
स्थानीयहरूले फोहोर फाल्न प्रयोग गाडीका चालकहरूलाई पत्र पठाएरै आन्दोनलबारे जानकारी दिइएको र गाडी लिएर नआउन भनिएको जानकारी दिए। सरकारले प्रहरी सुरक्षाकर्मीको प्रयोग गरेर दमन गरी फोहोर फाल्ने प्रयास गरे त्यो अप्रिय हुने चेतावनी स्थानीयले दिएका छन्।
पोशाकमै प्रदर्शनमा निस्किए विद्यार्थी
स्थानीयले फोहोरका गाडी रोकेकै दिन स्थानीय विद्यालयका विद्यार्थीले प्रदर्शनमा निस्किएका छन्।
धुनीवेशी नगरपालिका– १ का दुईवटा विद्यालयका कक्षा ९ र १० मा पढ्ने विद्यार्थीहरू स्वस्थ भएर बाँच्न पाऔं भन्दै नारावाजी गर्दै प्रदर्शनमा निस्किएका हुन्। उनीहरूले स्वास्थ भएर बाँच्न पाउने, शिक्षा लिन पाउने आफ्ना नैसर्गिक अधिकार रक्षाका लागि काठमाडौं महानगरपालिका र संघीय सरकारको ध्यानाकर्षण गराए।
आआफ्ना अभिभावकलाई जानकारी गराएरै विद्यार्थीहरू प्रदर्शनमा उत्रिएको स्थानीयले बताए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij