२०८२ कार्तिक ९ गते आइतवार
काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ मार्फत् राजसंस्था पुनर्स्थापनाको पक्षमा उभिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देश छोडेर जान भनियो भने पनि त्यसका लागि तयार भएको बताएका छन् ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले भने, ‘तपाईंहरुले भन्नुहुन्छ, दुर्गा तँ देश छोडेर जा, तेरो कारणले यो सबै बिग्रियो भन्नुहुन्छ भने पनि म रेडी, म जान तयार । म जान्छु । मलाई लोभ छैन । मलाई केही चाहिँदैन ।’
आफू २०५७ सालदेखि नेकपा माओवादी हुँदै एमाले र अहिले यहाँसम्म आइपुगेको चर्चा गर्दै उनले जानेर नजानेर जेजे गरे पनि अब सुध्रिएर देश बनाउन लाग्नुपर्ने बताएका छन् ।
‘ल हिजो जे भयो-भयो, आफैंले बाटो बिर्सियौं । सबैले भुल्यौं । अब त कमसेकम देश जोगाउने, त्यो भुंग्रोमा गएको छ नि नेपाल, त्यसलाई उठाएर कमसेकम न्यानो ठाउँमा लैजाऔं,’ उनले भने, ‘मान्छेले न्यानोपन खोजेको छ । अब यसमा सुध्रिन पर्नेछ ।’
उनले हालैको 'जेनजी' आन्दोलनमा आफू सहभागी हुन खोज्दा रोकिएको र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धन्यवाद दिँदै भने, 'उहाँले मलाई बचाउनुभयो, नत्र म थुनामा हुन्थें।' यद्यपि, उनले सिंहदरबारमा आगो लाग्दा बालेनका नगर प्रहरीले दमकल पठाउनुको साटो आन्दोलनकारीलाई पानी बाँडेको भन्दै आलोचना गरे।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij