२०८२ कार्तिक ८ गते शनिवार
काठमाडौं । जलेर गम्भीर घाइते भएकी गायिका नितु पौडेलले आज कीर्तिपुर बर्न अस्पतालमा अन्तिम सास फेरिन् । गत कात्तिक १ गते अनामनगरस्थित गायक तथा संगीतकार बाबुल गिरीको स्टुडियोमा उनले शरीरमा पेट्रोल छर्किएर आगो लगाएकी थिइन् ।
नितु र बाबुलबीच सात वर्षदेखि प्रेम सम्बन्ध थियो । उनी यो प्रेम सम्बन्धलाई विवाहमा बदल्न चाहन्थिन् । परिवारले अन्य व्यक्तिसँग गर्ने विवाह प्रस्ता ल्याउँदा इन्कार गर्दै आएकी थिइन् । उमेरले ३० वर्ष पुगेकी उनलाई विवाह गर्न घरबाट दबाब थियो ।
नितुलाई नजिकबाट चिन्ने एक संगीतकर्मीका अनुसार दुई वर्षअघि नै विवाह गर्नका लागि परिवारले केटा खोजेका थिए । तर, उनले आफू बाबुलसँग अफेयरमा रहेको र विवाह पनि उनैसँग गर्ने भनेर परिवारलाई आश्वस्त बनाएकी थिइन् । बाबुलको परिवारलाई पनि उनीहरुको सम्बन्धबारे थाहा थियो ।
दुवै कलाकारसँग नजिक रहेका ती संगीतकर्मीका अनुसार पछिल्लो समय उनीहरुबीच विवाहको विषयलाई लिएर विवाद भइरहेको थियो । उनले भने, ‘बाबुलले विवाह गर्न मानिरहेका थिएनन् भन्ने सुनिन्थ्यो। परिवारले मन नपराएको भनेर पन्छाउने प्रयास गरेका थिए रे ।
नितुको अनामनगरस्थित पुरानो गोर्खा एफएम चोक छेवैमा चिया पसल पनि थियो । एक वर्षदेखि उनले सो चिया पसल चलाइरहेकी थिइन् । उनको कोठा पनि अनामनगरमै थियो । बाबुल गिरीको स्टुडियो नितुको चिया पसलबाट दुई मिनेट पैदल दुरीमा छ ।
गत कात्तिक १ गते नितुले आत्मदह गर्नु अगाडि सामाजिक संजालमा एक स्टोरी राखेकी थिइन् । जहाँ उनले ‘आजको दिन सबैभन्दा ठूलो निर्णय लिँदैछु’ भनेर उल्लेख गरेकी थिइन् ।स्रोतका अनुसार नितुको स्टोरीपछि बाबुलले नितुलाई फोन गरेका थिए । उनले भनेका थिए, ‘किन त्यस्तो लेखेको ? बुबा-ममीलाई बोलाऊ । पुलिस चौकीमा आऊ । म पुलिस चौकी जाँदैछु । अब कागज गरेर आ–आफ्नो बाटो लागेर छुट्टिनुपर्छ ।’
नितु एक्लै सिंहदरबार प्रहरी वृत्त पुगिन् । तर, बाबुल आएनन् । स्रोतले भन्यो, ‘बाबुलले फोन नै उठाएनछन् । दुई घण्टा जति पर्खिए पनि बाबुल प्रहरी वृत्त नआएपछि नितु आफ्नै चिया पसलमा फर्किइछन् ।’चिया पसलमा एकछिन बसेपछि नितु दुई मिनेटको दुरीमा रहेको बाबुलको स्टुडियोमै गइन् । प्रत्यक्षदर्शीका अनुसार उनले एउटा जर्किनमा पेट्राल बोकेर हिँडेकी थिइन् ।
जब नितु स्टुडियोमा पुगिन्, ढोकामै थियो बाबुलको जुत्ता । उनी स्टुडियोभित्रै थिए । ‘नितु स्टुडियोमा छिरेपछि त्यहाँ दुईजनाबीच के कुराकानी भयो, बाबुललाई मात्रै थाहा छ । उनले आफू उता भित्तापट्टी फर्किएर काम गर्दै गरेको, नितु पछाडि उभिएको, आफूले थाहै नपाई पेट्रोल खन्याएको, लाइटर पनि ल्याएको, थाहै नपाई सल्काएको बताएका छन्,’ स्रोतले भन्यो ।
रसुवाका साथै नितुको परिवारको काठमाडौंमा पनि घर छ । उक्त घरमा उनका बुवाआमा बस्दै आएका थिए । नितुको दुईजना दाइहरु अस्ट्रेलियामा छन् । नितु भने कोठा लिएर अनामनगरमा बस्दै आएकी थिइन् । उनलाई चिया पसलमा बेलाबेला आमाले सघाउँथिन् । नितुको चिया पसल वरिपरि अन्य धेरै म्युजिक स्टुडियोहरु पनि छन् । ती स्टुडियोमा पनि नितुले चिया पुर्याउने काम गर्थिन् ।
स्रोतका अनुसार बाबुल पनि चिया पसलमा गइरहन्थे । स्टुडियोमा रातिसम्म काम हुने भएकाले बेलाबेला बाबुल नितुकै कोठामा बस्ने समेत गरेका थिए । नितुले पनि बिहान र दिउँसोतिर बाबुललाई स्टुडियोमै भात, खाजा पुर्याइदिने गरेकी थिइन् ।
तर, बाबुलको स्टुडियोमै नितुले आत्मदाह गरेपछि नितुको परिवारले बाबुलविरुद्ध जाहेरी दर्ता गरेको छ । प्रहरी वृत्त, सिंहदरबारमा जाहेरी दर्ता भएको छ । बाबु्ल अहिले त्यहीँको हिरासतमा छन् । आत्मदाह प्रकरणमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij