२०८२ आश्विन २६ गते आइतवार
१. राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरुको महान चाड बडा दशैँ (विजया दशमी) को नवौँ दिन नवकन्याहरुको पूजा गर्नुभएको छ । बुधवार राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति पौडेलले महानवमीको शुभदिनमा नवकन्याहरुको पूजा गर्नुभएको हो । विजया दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा,पाचौँ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी र सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ । विजया दशमीको पहिलो दिन एक वर्षकी कन्या, त्यसपछि क्रमशः २—३—४—५—६—७—८—९ वर्षकी कन्याको पूजा गरिन्छ ।
२. दशैँघर र कोत घरमा दिइयो बली
वसन्तपुरस्थित दशैँघरमा महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बली दिइएको छ । महानवमीका दिन देवी दुर्गालाई बली दिइएकोहो । दुर्गा पूजा लगायत विधिवत कार्य गरी बली नेपाली सेनाले बली दिएको हो । दशैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलीसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवीसास्त्रोक्त पाठ गरिन्छ ।
३. दशैँमा सुनसान बन्यो काठमाडौं
नेपालीहरुको महान पर्व विजया दशमी (बडा दशैँ) मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको छ । दशैँको टिकाको दिन टीका प्रसाद ग्रहण गरेर मात्रै घर बाहिर निस्किने भएकाले पनि आज नवमीमा सडकहरु सुनसान छन् । बडा दशैँ तथा तिहार मनाउन सर्वसाधारणहरु गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासीहरु घरबाहिर ननिस्किँदा काठमाडौं सुनसान भएको हो । सधैँजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै जाँदा सुनसान भएका हुन् । सडकमा हिँडडुल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् भने किनमेलका पसलहरु प्रायः बन्द छन् । —न्युज एजेन्सी नेपाल
४. टल्किए हिमाल, लाग्यो दशैँ, खुल्यो काठमाडौं (फोटो फिचर)
आज महानवमी । नेपालीहरुको महान पर्व विजया दशमी (बडा दशैँ) नेपालीहरुको घर आँगनमा आइसकेको छ । कर्मथलो बनाइरहेकाहरु अहिले गाउँ फर्किएसँगै काठमाडौं उपत्यकासहित शहरुहरु सुनसान छन् । घमाइलो भाम लागेको छ । हिमालहरु टल्किएका छन् । शहरका चोक चोकमा लिङ्गे पिङ मच्चिएको छ । बालबालिकादेखि वृद्धवृद्धासम्म दशैँमा रमाइरहेका छन् । समग्रमा भन्दा दशैँ घमाइलो बन्दै गइरहेको छ । आकाश खुला छ, सडक सुनसान र धुवाँधुलोरहित बनेका छन् । उज्यालो आकाशमुनि काठमाडौंवासीहरु आनन्द महशुस गरिरहेका छन् । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकार अनुप प्रधानले कैद गर्नुभएका खुलेको काठमाडौंका केही तस्बिरहरु ।
५. जेन—जी आन्दोलनः २ हजार ३ सय १६ जनाले गराए उपचार, अस्पताल लैजाँदा र उपचारका क्रममा ४९ जनाले गुमाए ज्यान, ३८ जना अझै अस्पतालमा
जेन—जी आन्दोलनमा ९ सय ४७ जना घाइतेहरु बोक्न एम्बुलेन्सको प्रयोग
भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनका २ हजार ३ सय १६ जना घाइतेले स्वास्थ्य संस्थाहरुबाट उपचार लिएको सरकारले जनाएको छ । भ्रष्टाचार, बेथितिविरुद्ध जेन—जी पुस्ताले आन्दोलन गरेका थिए । जसमा देशभर विभिन्न स्थानमा झडप, तोडफोड, आगजनी भयो । जसमा ७६ जनाले ज्यान गुमाएका छन् । शुरुवातको समयमा देशभरका ८३ वटा अस्पतालले जेन जी आन्दोलनका घाइतेहरुको उपचार गरेको सरकारी तथ्यांक छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले घाइतेहरुमध्ये केहीको भर्ना भएर शल्यक्रिया गर्नुपरेको बताउनु भयो । केही सामान्य उपचार बसेको र केही अहिले पनि भर्नारत रहनुभएको बताउनु भयो । अहिले पनि देशभरका विभिन्न १० वटा अस्पतालहरुमा जेन जी घाइतेहरु उपचाररत छन् ।
६. आज महानवमीः तलेजु मन्दिर सर्वसाधारणका लागि खुला
प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनहरु पूजा आराधनाका लागि पुगेका छन् । हनुमान ढोकास्थित तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला गरिएको हो । वर्षमा एक पटक महानवमीको दिनमा मात्र सर्वसाधारणका लागि खुला गरिने तलेजु भवानीको मन्दिरमा पूजा आराधनाका लागि दर्शनार्थीहरु पुगेका हुन् । हरेक वर्ष आश्विन शुक्ल नवमीका दिन आम सर्वसाधारणका लागि मन्दिर खुला गरिने परम्पराअनुसार आज सोही अवसरमा मन्दिर खुला गरिएको हो । तलेजु मन्दिरमा ३६४ दिनमा दैनिक नित्य पूजा हुन्छ र एक दिन सर्वसाधारणको पूजाका लागि खोलिन्छ ।
७. अस्वस्थ माछा—मासु खाँदा लाग्छन् डेढ सय बढी रोग, यस्तो छः मासु खाने तरिका
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अस्वस्थ माछा—मासुको प्रयोगले १ सय ६० भन्दा बढी रोगहरु निम्तिने खतरा रहेको बताउनुभएको छ । उहाँले चाडबाडको बेलामा खानपानमा हुने असन्तुलन, जीवनपद्धतिमा हुने भद्रगोलका कारणले स्वास्थ्य सम्बन्धी समस्या बढी निम्तिने खतरा रहेको बताउनुभएको हो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले स्वास्थ्य समस्या भइरहेका मानिसहरुमा झनै जटिलता निम्तिनसक्ने भन्दै शतर्कता अपनाउन आग्रह गर्नुभयो ।
८. इण्डोनेसियामा विद्यालय भवन भत्किँदा १ जनाको मृत्यु, दर्जनौं घाइते
इण्डोनेसियाको पूर्वी जाभा प्रान्तमा एक विद्यालय भवन भत्किँदा कम्तिमा एक विद्यार्थीको मृत्यु र दर्जनौं घाइते भएको स्थानीय अधिकारीले बताएका छन् । सिदोआरजो जिल्लाको अल खोजिनी इस्लामिक बोर्डिङ स्कूलमा अनधिकृत रूपमा मर्मत गरिएको भवन दिउँसोको प्रार्थनाको समयमा अचानक भत्किँदा यो घटना भएको हो । पूर्वी जाभाको सुराबाया खोज तथा उद्धार कार्यालयका प्रमुख नानाङ सिगिटले बताउनु भयो । कम्तिमा ३८ जना फसेको आशंका गरिएको छ ।
९.कंगोका पूर्वराष्ट्रपति काबिलालाई मृत्युदण्डको सजाय
प्रजातान्त्रिक गणतन्त्र कंगोका पूर्वराष्ट्रपति जोसेफ काबिलालाई मंगलवार देशको उच्च सैन्य अदालतले देशद्रोह र मानवता विरुद्धको अपराध लगायतका आरोपमा अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ । फैसलाअनुसार काबिलालाई विद्रोह आन्दोलनमा भाग लिने, जानाजानी हत्या, यातना, बलात्कार र उत्तरी किभुको प्रान्तीय राजधानी गोमा शहरमा जबरजस्ती कब्जा गर्ने जस्ता धेरै अपराधहरूमा दोषी ठहराइएको छ । जुन अहिले मार्च २३ आन्दोलन विद्रोहीहरूको नियन्त्रणमा छ । काबिलालाई षड्यन्त्रको लागि १५ वर्षको जेल सजाय पनि सुनाइएको छ । जबकि अदालतले अन्य आरोपहरूको लागि मृत्युदण्डको सजाय सुनाएको छ ।
१०. टर्कीमा मानवरहित समुन्द्री सवारी साधनद्वारा सुरक्षा अभियान शुरु
टर्कीयेको ट्राब्जोन प्रान्तको योरोज बन्दरगाहमा पूर्णस्तरको सुरक्षा अभियान शुरु भएको छ । टर्कीमा मानवरहित समुन्द्री सवारी साधनद्वारा सुरक्षा अभियान शुरु गरिएको हो । मछुवाहरूले मंगलवार कालो सागरमा शंकास्पद विदेशी मूलको मानवरहित समुन्द्री सवारी साधन फेला पारेका बताएका छन् । ट्राब्जोन गभर्नरको कार्यालयले नौसेना सेनाको विशेष अपरेशन टोलीहरू, अन्य सुरक्षा एकाइहरूसँगै, घटनास्थलमा तैनाथ गरिएको बताएको छ ।
११. ट्रम्पले भनेः इजरायल गाजामा युद्ध अन्त्य गर्न सहमत छ तर हमास तयार नभए इजरायललाई पूर्ण समर्थन गर्छु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ट्रम्प प्रशासनले गाजामा द्वन्द्व अन्त्य गर्ने उद्देश्यले प्रश्ताव गरेको २०–बुँदे योजनामा सहमति जनाउनुभएको बताउनुभएको छ । ह्वाइट हाउसमा भएको वार्तापछि यसबारे जानकारी दिइएको हो । मृत्यु र विनाशको अन्त्य गर्न आफू लागिपरेको दाबी ट्रम्पको छ । सम्पूर्ण क्षेत्रको लागि सुरक्षा, शान्ति र समृद्धिको नयाँ अध्याय शुरु गर्ने समय आएको बताउनु भयो ।
१२. डिसेम्बर २०२४ देखि ५ लाख बढी विस्थापित सिरियालीहरू घर फर्किएको टर्किएको दाबी
टर्कीका गृहमन्त्री अली येर्लिकायाले डिसेम्बर २०२४ मा पूर्वसिरियाली राष्ट्रपति बसर अल–असदको शासनको पतनपछि स्वैच्छिक फिर्ती प्रक्रियामार्फत कुल ५ लाख ९ हजार ३ सय ८७ सिरियालीहरू आफ्नो देश फर्किएको बताउनुभएको छ । टर्किएले स्वैच्छिक फिर्तीको समयमा सिरियालीहरूको साथ जारी राखेको येर्लिकायाले सामाजिक सञ्जालमार्फत यसबो जानकारी गराउनुभएको हो । उहाँकाअनुसार २०१६ देखि लगभग १ लाख २५ हजार सिरियालीहरू स्वैच्छिक रूपमा आफ्नो मातृभूमि फर्किएका छन् ।
१३. पाकिस्तानद्वारा फताह–४ क्रूज क्षेप्यास्त्रको परीक्षण
पाकिस्तानले मंगलवार हालै समावेश गरिएको स्वदेशी रूपमा विकसित फताह–४ जमिनबाट प्रक्षेपित क्रूज क्षेप्यास्त्रको प्रशिक्षण प्रक्षेपण सफलतापूर्वक गरेको छ । पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेशन्सकाअनुसार क्षेप्यास्त्र प्रणाली उच्च परिशुद्धताका साथ ७५० किलोमिटर टाढासम्मको लक्ष्यलाई प्रहार गर्न सक्षम छ । उन्नत एभियोनिक्स र अत्याधुनिक नेभिगेसनल एड्सले सुसज्जित यो हतियार प्रणाली भू–भागलाई अँगाल्ने सुविधाहरूको कारणले शत्रुको क्षेप्यास्त्र रक्षा प्रणालीबाट बच्न र उच्च परिशुद्धताका साथ लक्ष्यहरूलाई संलग्न गर्न सक्षम छ । यो प्रक्षेपण आर्मी रकेट फोर्स कमाण्ड अन्तर्गत गरिएको थियो ।
१४. पाकिस्तानमा आत्मघाती आक्रमणमा १० जनाको मृत्यु, ३० जना घाइते
पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा रहेको अर्धसैनिक बलको मुख्यालयलाई लक्षित गरी मंगलवार गरिएको आत्मघाती आक्रमणमा दस जनाको मृत्यु भएको छ । साथै अन्य ३० जना घाइते भएको प्रान्तीय स्वास्थ्यमन्त्री बख्त मुहम्मद काकरले बताउनु भयो । स्थानीय समय अनुसार बिहान ११ः३० बजे प्रान्तीय राजधानी क्वेटामा आक्रमण भएको थियो । एक आतंककारीले फ्रन्टियर कोप्र्स मुख्यालयको बाहिरी पर्खालमा विस्फोटक पदार्थले भरिएको गाडी ठोक्काएका थिए । परिसरमा घुसपैठ गर्ने बित्तिकै आक्रमणकारीहरूलाई सुरक्षा बलले द्रुत प्रतिशोधात्मक कारबाहीमा गोली हानी मारेको थियो ।
१५. भियतनाममा आँधी बुआलोईबाट १९ जनाको मृत्यु, ८८ जना घाइते
भियतनाम समाचार एजेन्सीले मंगलबार रिपोर्ट गरेको तथ्यांकअनुसार भियतनाममा आँधी बुआलोई र त्यसपछिको बाढीबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । अन्य ८८ जना घाइते भएका छन् । रिपोर्टअनुसार तेह्र जना बेपत्ता छन् भने आठ जना अझै सम्पर्क बाहिर छन् । १ लाख ५ हजार भन्दा बढी घरहरू छाना नभएका वा क्षतिग्रस्त भएका छन् । जसमध्ये मध्य हा तिन्ह प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । जसमध्ये ७८ हजार ८ सय भन्दा बढी घरहरू छन् । भियतनामी प्रधानमन्त्री फाम मिन्ह चिन्हले स्थानीय अधिकारीहरू र क्षेत्रहरूलाई प्रभावित बासिन्दाहरूलाई सहयोग गर्न र आँधीको परिणामलाई कम गर्न तत्काल उपायहरू अपनाउन निर्देशन दिनुभएको छ ।
१६. स्पेनका बिदा मनाउने टापुहरूमा रेड अलर्ट
स्पेनका लोकप्रिय बिदा मनाउने टापुहरू इबिजा र फोरमेन्टेरालाई भारी वर्षाका कारण रेड अलर्टमा राखिएको छ । देशको राज्य मौसम विज्ञान एजेन्सीले मंगलवार इबिजा र नजिकैको फोरमेन्टेरा टापुमा १२ घण्टामा १८ सेन्टिमिटरभन्दा बढी वर्षा भएको बताएको छ । यसले थपेको छ कि प्रतिवर्ग मिटर २ सय लिटरसम्मको वर्षाले इबिजालाई भिजाएको छ । गम्भीर बाढीले टापुहरू ठप्प भएका छन् । जसले सडकहरू असहज बनाएको छ । - न्युज एजेन्सी नेपाल
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij