२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । सरकारले चिया बगानका श्रमिकका लागि नयाँ न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम गत साउन १ गतेदेखि लागू हुने गरी चिया बगानका श्रमिकका लागि नयाँ न्यूनतम पारिश्रमिक निर्धारण गरेको हो ।
नयाँ निर्धारणअनुसार, चिया बगानका श्रमिकले मासिक १० हजार ९६ रुपैयाँ आधारभूत पारिश्रमिक र ५ हजार ६०३ रुपैयाँ महङ्गी भत्तासहित कुल १५ हजार ६९९ रुपैयाँ न्यूनतम पारिश्रमिक पाउनेछन् । दैनिक ज्याला ५६५ रूपैयाँ र प्रति घण्टा ७० रूपैयाँ तोकिएको छ । चिया प्रशोधन वा चिया कारखानामा काम गर्ने श्रमिक तथा चिया बगानका सरदार, नाइके र चौकीदारले समेत दैनिक ७० रूपैयाँ भत्ता पाउनेछन् ।
यो पारिश्रमिकको अतिरिक्त, श्रमिकले श्रम ऐन, २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र प्रचलित कानूनबमोजिम श्रम सम्झौता र नियुक्तिपत्र, सञ्चयकोष र उपदानलगायतका सुविधा अनिवार्य रूपमा प्राप्त गर्नेछन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम न्यूनतम पारिश्रमिक निर्धारण गर्ने अधिकार पाएका निकायले पनि यो सूचनामा तोकिएभन्दा कम नहुने गरी पारिश्रमिक निर्धारण गर्नुपर्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij