२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान)ले पर्यटक पथप्रदर्शकहरूका लागि पाँचदिने पुनर्ताजगी तालिमको राजधानीको एस। रामायण होटलमा शुभारम्भ गरेको छ ।
नेपाल पर्यटन बोर्ड र युएनडीपीको सहलगानीमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) सँगको सहकार्यमा सञ्चालित उक्त कार्यक्रमका प्रमुख अतिथि थिए-नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशी भने विशिष्ट अतिथि थिए-हानका महासचिव साजन शाक्य तथा रामबहादुर कुँवर ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले एकाएक विकसित भएको परिस्थितिलाई मध्यनजर राखेर यतिखेर सारा पर्यटन क्षेत्रसँग सम्बद्ध पक्षहरू संयमित हुनुपर्ने बताए । यतिबेला विदेशी पर्यटक आगमनमा ४०% ले गिरावट आए पनि आफ्नो भ्रमण भने त्यस्तै १२-१४ %ले मात्र रद्द गरेकाले हतोत्साहित भइ हाल्न नहुने जोशीको कथन थियो ।
अहिलेको खास चिन्ता र चासो भनेको यहाँ रहेका विदेशी पाहुनालाई कसरी सुरक्षित राख्ने भन्ने हो भन्दै जोशीले पर्यटन क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन सबैभन्दा मेहनत होटलको शिष्टाचार गाइडको व्यवहार र सवारी चालकको मर्यादा हुने उल्लेख गरे ।
उनले यो त्रासको अवस्थाबाट त्राण पाउन सबै एकजुट हुनुपर्छ भन्दै पर्यटन बोर्डले विदेशका सम्बन्धित निकायमा अहिले सुरक्षा सङ्कट नभएको भन्ने व्यहोराको पत्राचार भइसकेको विषयमा आश्वस्त पारे । उनले सम्बद्ध सबै संस्थाले पनि सकारात्मक सूचना प्रवाह गर्नुपर्नेमा जोड दिए ।
टुर्गानका अध्यक्ष थानेश्वर सापकोटाले युएनडीपी, एनटीबीका सीईओ दीपकराज जोशी, श्रद्धा श्रेष्ठ, धर्मराज दवाडी लगायत टुरिजम बोर्ड र सम्पूर्ण एसटीपी प्रतिनिधि तथा सिङ्गो परिवारलाई धन्यवाद टक्र्याए । सापकोटाले तालिमको निम्ति होटल उपलब्ध गराएकामा उमेश गुप्ताका साथै समादरणीय प्रशिक्षक र प्रशिक्षणमा सहभागी सम्पूर्ण पथप्रदर्शकप्रति कृतज्ञता ज्ञापन गरे ।
सेप्टेम्बर १७ देखि २१ सम्म सञ्चालन हुने पाँच दिने तालिममा रामबहादुर कुँवर, एकल सिलवाल, डा.मदनकुमार रिमाल, डा. सोमप्रसाद खतिवडा, डा. निर्मला पोखरेल, अनिल चित्रकार, डा.बज्रमुनि बज्राचार्य, डा.कुलेश थापा लगायतका प्रशिक्षकद्वारा संस्कार, धर्म, संस्कृति, इतिहास, बौद्ध धर्म, कला र वास्तुकला, भक्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र र विदेशी पाहुना सत्कार जस्ता महत्त्वपूर्ण विषयमा प्रशिक्षण दिने छन् भने अन्तिम दिन औपचारिक समापन समारोह पनि आयोजना हुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij