२०८२ भाद्र २७ गते शुक्रवार
काठमाडौं । मीनबहादुर गुरुङले एउटा भिन्नै सपना साँचेर जे व्यवसाय सुरु गरेका थिए, कालान्तरमा त्यसले नेपाली उद्यम–व्यवसाय क्षेत्रमा एउटा भिन्नै मानक बनायो ।
२०४१ सालमा गुरुङले काठमाडौं नक्सालमा एउटा सटर भाडामा लिएर सुरु गरेको ‘भाटभटेनी डिपार्टमेन्टल स्टोर’ नेपालमा लगानी, रोजगारी र स्वदेशमै केही गर्न सकिन्छ भन्ने पर्याय बनेको थियो । एउटा व्यवसाय खडा गर्न कतिविधि मिहिनेत, लगन, आँट, लगानी, निरन्तरता र धैर्य चाहिन्छ भन्ने थाहा पाउन भाटभटेनीका देशभरि रहेका साढे दुई दर्जनभन्दा बढी स्टोर हेरे पुग्छ ।
एउटा सटरबाट सुरु भएको भाटभटेनी सुपर स्टोरलाई ४१ वर्षमा गुरुङले देशव्यापी बनाउन र रोजगारी सिर्जना गर्न कति मिहिनेत गरेका थिए, त्यो उनी बाहेकले सायदै बुझ्लान् । गुरुङ व्यवसाय मात्र गर्ने व्यवसायी होइनन्, समाज सेवामा पनि उत्तिकै खटिने गर्छन् । उनले शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा गरेका आर्थिक सहयोग उदाहरणीय छन् । व्यवसाय र समाज सेवालाई उनले समानान्तर लगिरहेका थिए ।
जेनजी प्रदर्शनकारीको आन्दोलन हिंसात्मक हुँदा सरकारी सम्पत्तिदेखि निजी उद्योग–व्यवसायमा तोडफोड, लुटपाट र आगजनी हुन पुग्यो । जेनजी आन्दोलनको तारो उनै गुरुङका भाटभटेनी सुपर स्टोरहरू बने ।
‘भौतिक र आर्थिक क्षति कल्पना बाहिरको भएको छ,’ भाटभटेनी सुपर स्टोरका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले भने, ‘जेनजी आन्दोलनमा भाटभटेनीका जति पनि स्टोरमा तोडफोड, लुटपाट र आगजनी भएको छ, त्यही कारण त्यहाँ कार्यरत कम्तीमा ५ हजार जनाको रोजगारी गुमेको छ ।’
एक निमेषमा यति ठूलो संख्यामा रोजगारी गुम्नुको अर्थ अर्थतन्त्रमा पनि क्षति पुग्नु रहेको पौडेलको भनाइ छ । भौतिक क्षति अर्बौंको हुन पुगेकोमा कुनै सन्देह नरहेको उनले बताए । ‘कति सामान लुटियो, कति क्षति भयो, कति नगद लुटियो भन्ने यकिन विवरण निकाल्न कम्तीमा एक महिना लाग्छ,’ सीओओ पौडेलले भने, ‘मुख्य कुरो के हो भने एकै पटक हजारौंको रोजगारी गुमेको छ । रोजगारी गुमेका ५ हजार जनाको व्यवस्थापन कसरी गर्ने भन्ने हामीलाई ठूलो चिन्ता छ ।’
उनका अनुसार भाभटेनीका प्रत्येक स्टोरमा औसतमा कम्तीमा ५ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । तिनमा पनि महिला संख्या उच्च छ । भाटभटेनीका वेयरहाउस (गोदाम) देखि सबै स्टोरमा गर्दा बिसौं हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij