Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

इन्डोनेसियामा सांसदको तलब वृद्धिविरुद्ध हिंसात्मक प्रदर्शन, ६ जनाको मृत्यु, संसद्‌मा आगजनी

इन्डोनेसियामा सांसदको तलब वृद्धिविरुद्ध हिंसात्मक प्रदर्शन, ६ जनाको मृत्यु, संसद्‌मा आगजनी


  • 309
    Shares

    इन्डोनेसियामा सांसदको तलब वृद्धिविरुद्ध हिंसात्मक प्रदर्शन, ६ जनाको मृत्यु, संसद्‌मा आगजनी
    images

    काठमाडौं । सांसदहरूको तलब बढाउने निर्णयविरुद्ध इन्डोनेसियाको राजधानी जकार्तासहित विभिन्न भागमा हिंसात्मक प्रदर्शन चर्किएको छ । प्रदर्शनकारीले शुक्रबार राति मकासर सहरको क्षेत्रीय संसद् भवनमा आगजनी गरेका थिए ।

    इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तोले सरकारविरोधी प्रदर्शनमा सहभागी नागरिकलाई प्रमुख सहुलियतस्वरूप सांसदहरूका केही सुविधा र विशेषाधिकार खारेज गर्न राजनीतिक दलहरू सहमत भएको बताएका छन् । प्रदर्शनमा कम्तीमा ६ जनाको ज्यान गएको छ ।

    प्रदर्शन हिंसात्मक बनेपछि इन्डोनेसियाका अधिकारीहरूले सुरक्षा व्यवस्था कडा पारेका छन् । हालै इन्डोनेसियाली प्रहरीको गाडीले मोटरसाइकलमा सवार एक डेलिभरी ब्वाईलाई ठक्कर दिँदा मृत्यु भएको थियो । उक्त घटनापछि स्थिति तनावग्रस्त बनेको थियो ।

    उग्र प्रदर्शनलाई ध्यानमा राख्दै इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले शनिबार आफ्नो चीन भ्रमण रद्द गरेका छन् । उनी दोस्रो विश्वयुद्ध समाप्त भएको ८०औँ वार्षिकोत्सवमा चीनमा सेप्टेम्बर ३ मा आयोजना गरिने विजय दिवस समारोहमा सहभागी हुन जाने कार्यक्रम थियो ।

    प्रबोवोका प्रवक्ताले राष्ट्रपतिले देशको अवस्थामाथि ध्यानकेन्द्रित र परिस्थितिलाई राम्रोसँग व्यवस्थापन गर्न चाहेका कारण चिनियाँ सरकारसँग निमन्त्रणामा आउन नसकेकामा माफी मागेको बताएका छन् ।

    सरकारी अधिकारीहरू र उनीहरूले पाउने सुविधाविरुद्ध नागरिकको आक्रोश बढेको थियो । सांसदका निम्ति तीन हजार ५७ अमेरिकी डलरको मासिक भत्ता निर्धारण गरिएको थियो । त्यो जकार्ताको न्यूनतम तलबभन्दा १० गुणा बढी हो ।

    डेलिभरी ब्वाईको मृत्युका विषयमा सात अधिकारीलाई हिरासतमा लिइएको छ । प्रदर्शनमा २०० भन्दा बढी मानिस घाइते भएका छन् ।

    राष्ट्रपति प्रबोवोले नागरिकलाई शान्ति कायम राख्न अपिल गरेका छन् । उनले घटनाको छानबिन गर्न आदेश दिनुका साथै मृतकका परिवारसँग भेट गरेका छन् ।

    प्रदर्शनकारीले इन्डोनेसियामा बढ्दो महँगी र बेरोजगारीले आममानिसको जीवन कठिन भएको भन्दै सरकारले आउटसोर्सिङ बन्द गर्नुपर्ने, तलब बढाउनुपर्ने, रोजगारी कटौती रोक्नुपर्ने र कर नियममा सुधार गर्नुपर्ने माग गरेका छन् ।

    डेलिभरी ब्वाईको मृत्युपछि प्रहरीविरुद्ध नागरिकको आक्रोश बढेको छ । उनीहरूले प्रहरी विभागका प्रमुखलाई हटाउन र प्रशासनमा सुधारको माग गरिरहेका छन् ।

    इन्डोनेसियाको कानुनी सहायता संस्थाले प्रहरीको कारबाहीको कडा निन्दा गरेको छ । प्रहरीमाथि क्रूरता र मानवअधिकार उल्लंघनको आरोप पनि लगाएको छ । केही प्रदर्शनकारीले प्रहरीले रबरको मात्र नभई केही स्थानमा सक्कली गोली समेत प्रयोग गरेको जिकिर गरेका छन् । रोयटर्सबाट ।

    प्रकाशित मिति :भाद्र १६ २०८२ सोमवार - ११:०४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij