Logo

२०८२ कार्तिक ८ गते शनिवार

२०८२ कार्तिक ८ गते शनिवार

बागमती कांग्रेस लफडा

बागमती कांग्रेसमा किचलो, सभापति देउवाले दिए दुवै पक्षलाई यस्तो निर्देशन

बागमती कांग्रेसमा किचलो, सभापति देउवाले दिए दुवै पक्षलाई यस्तो निर्देशन


  • 1.1K
    Shares

    बागमती कांग्रेसमा किचलो, सभापति देउवाले दिए दुवै पक्षलाई यस्तो निर्देशन
    images

    काठमाडौं। बागमती प्रदेश सभा अन्तर्गत नेपाली कांग्रेस संसदीय दलको विवाद समाधान हुन सकेको छैन । संसदीय दलका पूर्वनेता तथा पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाले पूर्वसहमति पालनाको प्रतिबद्धता खोजेका छन् ।

    लामाले मुख्यमन्त्री पदबाट सशर्त राजीनामा दिएका थिए । आफूले राजीनामा दिँदा राखेको सर्त कार्यान्वयन हुनुपर्ने अडानका साथ उनी पार्टीको केन्द्रीय नेतृत्वलाई दबाब दिन काठमाडौँमै बसिरहेका छन् ।

    लामासहित उनी पक्षका ९ जना सांसदले आइतबार पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर सहमति कार्यान्वयनका लागि पहल गरिदिन आग्रह गरेको बताइएको छ ।

    लामा पक्षका सांसद गोविन्द लम्सालका अनुसार मुख्यमन्त्री पदबाट राजीनामा दिनु अघि लामाले राखेको सर्त कार्यान्वयन हुनुपर्ने विषयमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराइएको छ । आफ्ना माग सम्बोधन नभए सांसद पदबाट सामूहिक राजीनामा दिने कुरा सभापतिलाई जानकारी गराएको लम्सालले बताए ।

    नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । त्यसअघि नै आफ्ना माग सम्बोधन हुनुपर्ने पूर्वमुख्यमन्त्री लामाको भनाइ छ ।

    लामाले आफ्ना पक्षका तीन जनलाई मन्त्री बनाइनुपर्ने सर्त राखेका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिनु अघि नै ती तीन जनालाई शपथ गराउनुपर्ने आफूहरूको बटम लाइन रहेको उनी पक्षका सांसद लम्सालले प्रस्ट पारे ।

    यस अतिरिक्त प्रदेशमा हुने राजनीतिक नियुक्तिहरूमा समेत सम्मानजनक हक हुनुपर्नेबारे सभापति देउवाको ध्यानाकर्षण गराइएको उनले बताए । सभापति देउवाबाट पूर्वसहमति पालना हुने र माग सम्बोधन गर्ने विषयमा सकारात्मक जबाफ प्राप्त गरेको उनको भनाइ छ ।

    मुख्यमन्त्री बानियाँ र पूर्वमुख्यमन्त्री लामालाई सँगै राखेर सहमति कार्यान्वयन गराउने प्रतिबद्धता सभापति देउवाले जनाएको लम्सालले बताए । उनका अनुसार सभापति देउवाले विश्वासको मत दिने तयारी गर्नु, सहमति पालना हुन्छ भनेर लामा पक्षका सांसदलाई पठाएका छन् ।

    पूर्वमन्त्री एवं बागमती प्रदेश सभा सदस्य हरिप्रभा खड्गीका अनुसार पार्टी सभापति देउवासँग आइतबार पार्टी कार्यालय सानेपामा भएको भेटमा विवाद समाधानका लागि पहल भएको थियो । पार्टी सभापति देउवाले दुवै पक्षलाई समस्या हल गर्न सहज दिशानिर्देश गरिसकेको उनको भनाइ छ ।

    पूर्वमुख्यमन्त्रीले उठाएका माग सम्बोधन गर्न र मुख्यमन्त्री बानियाँलाई एक ढिक्का भएर विश्वासको मत दिन पार्टीभित्रका दुवै पक्षलाई सभापति देउवाले निर्देशन दिएको खड्गीले बताइन् ।

    मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र पूर्वमुख्यमन्त्री लामाबिच छलफल हुन बाँकी रहेको उनको भनाइ छ । उक्त छलफलबाट परिस्थिति अझ सहज हुने उनले बताइन् ।

    पूर्वमुख्यमन्त्री लामाले आफ्नो कोटाबाट गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री बनाउनुपर्ने सर्त राखेका छन् । सोही सर्त राखेर उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । पार्टी सभापति देउवाको उपस्थितिमा भएको सहमति कार्यान्वयनमा मुख्यमन्त्री बानियाँ उदासीन रहेको भन्दै लामा पक्षले विश्वासको मत नदिने चेतावनी दिँदै आएको थियो ।

    कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रवक्ता सुरजचन्द्र लामिछानेले प्रदेश सभाबाट मुख्यमन्त्रीले विश्वासको मत लिइसकेपछि मन्त्रिपरिषद् विस्तार हुने बताए । पार्टीका सभापति लगायत शीर्ष नेतृत्वसँग बसेर मन्त्रिपरिषद् विस्तारको विषय टुङ्ग्याउने उनको भनाइ छ ।

    प्रकाशित मिति :श्रावण २६ २०८२ सोमवार - १६:२४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij