२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । अध्ययन वा रोजगारीका क्रममा विभिन्न देशमा गएका नेपालीहरू देश फर्कनुभन्दा उतै स्थायी बसोबास अनुमति तथा नागरिकता लिनेक्रम बढ्दो क्रममा छ । सम्बन्धित देशको नागरिकतासम्बन्धी कानुनअनुसार दोहोरो नागरिकता लिन नपाइने भएपछि नागरिकता त्याग्नेहरूको संख्या बढेको छ ।
केही दिनअघि जनसांख्यिक असन्तुलनको अवस्था आउने खतरालाई रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीले नै ३० वर्षसम्ममा तीन सन्तान जन्माउन सुझाव दिएसँगै नेपालमा अन्तरदेशीय स्थानान्तरणले जनसांख्यिक असन्तुलन बढेको पुष्टि गरेको पाइएको छ ।
देशको राजधानी रहेको काठमाडौं उपत्यकामा नागरिकता त्याग्नेहरू बढेका छन् । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा नागरिकता त्याग्नेहरूको अभिलेख राख्न शाखा नै व्यवस्था गर्नुपर्ने अवस्था सिर्जना हुन लागेको हो ।
काठमाडौं जिल्लामा आर्थिक वर्ष २०८१–०८२ मा मात्रै ८ सय ५४ जनाले नागरिकता परित्याग गरे । नागरिकता परित्याग गर्नेको चाप बढेपछि त्यसका लागि अभिलेख र शाखा नै व्यवस्थापन गर्नुपर्ने अवस्था आउन लागेको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी अशोककुमार भण्डारी बताउँछन् । आव २०८०–०८१ मा १ हजार ३४ जनाले नागरिकता परित्याग गरेको सहायक प्रजिअ तथा सूचना अधिकारी भण्डारीले जानकारी दिए ।
उपत्यकाको अर्को जिल्ला ललितपुरमा पनि नागरिकता परित्याग गर्नेहरूको संख्या बढ्दो छ । आव २०७९–०८० मा १४ जनाले मात्रै नागरिकता परित्याग गरेकामा आव २०८०–०८१ मा यो संख्या १५ गुणाले बढी २ सय १३ जनामा पुगेको सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेले बताइन् । यसैगरी, आव २०८१–०८२ मा पनि नागरिकता त्याग गर्नेको संख्या २ सय १७ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरे बताउँछिन् ।
अन्तर्राष्ट्रिय आप्रवासन नीतिको प्रभाव
पछिल्ला दिनमा अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्यूजिल्यान्ड, आयरल्यान्डजस्ता देशको आप्रवासन नीतिमा भएको फेरबदलले नागरिकता त्याग्नेहरू बढेको हुनसक्ने ललितपुरकी सहायक प्रमुख जिल्ला अधिकारी घिमिरे बताउँछिन् ।
अमेरिकामा ट्रम्प प्रशासनले आप्रवासी नीति परिवर्तन गरेपछि अमेरिकाको नागरिक भइसकेकाहरूले नेपाली नागरिकता त्याग्ने चाप बढेको हुनसक्ने घिमिरेले बताइन् ।
नागरिकता त्याग गर्ने व्यवस्था भएदेखि भक्तपुर जिल्लामा १ सय ३८ जनाले नागरिकता त्याग गरेका छन् । आव २०८१–०८२ मा नागरिकता त्याग गर्नेहरू ८३ जना रहेको जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी भण्डारीले जानकारी दिए ।
अन्य मुलुकको नागरिकता लिइसकेका व्यक्तिले नेपाल आएर सम्बन्धित जिल्लाका प्रशासन कार्यालयमा निवेदन दिने भएकाले सबै जिल्लाको नागरिकता परित्यागको तथ्यांक मन्त्रालयमा तत्कालै उपलब्ध हुने प्रणाली नभएको गृह मन्त्रालयका सूचना अधिकारीले बताए । ‘हामीसँग अहिले तत्काल अद्यावधिक छैन, तपाईंहरूलाई आवश्यक भए सूचना मागको निवेदन दिनूस्, मगाएर उपलब्ध गराऔंला, अहिले हामीसँग यो डाटा तत्काल छैन,’ सूचना अधिकारी रवीन्द्र अधिकारीले भने ।
विदेशको नागरिकता लिन नेपाली नागरिकता त्याग गरेको प्रमाण आवश्यक हुने भएपछि नेपालीहरूले नागरिकता परित्याग गर्छन् । अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएपछि आप्रवासन नीतिमा हेरफेर गरी दोहोरो नागरिकतामा कडाइ गरेपछि धेरै नेपालीले नागरिकता त्याग गरिरहेका छन् ।
यस्तै क्यानडा, बेलायत, अस्ट्रेलिया, आयरल्यान्डजस्ता देशले पनि आफ्नो देशको कानुनलाई मात्रै नभइ सम्बन्धित नागरिकका देशको कानुनको पनि अध्ययन गरेर नागरिकता दिन थालेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij