२०८२ भाद्र १६ गते सोमवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो १ बजे बैठक बस्नेछ ।
बैठकमा समसामयिक राजनैतिक, पार्टी गतिविधि, केन्द्रीय विभागको प्रगति रिपोर्ट, संसदीय दलको रुपन्देही बैठक अपडेट, रुपन्देही उपनिर्वाचन अपडेट लगायतका विषयमा छलफल हुने छ ।
यस्तै, रुपन्देही संगठन अपडेट, कुलिङ अफ पिरियडमा भएको गडबडी छानबिन प्रतिवेदन, प्रदेश इन्चार्जको प्रदेश रणनीतिको रिपोर्टहरू पनि प्रस्तुत हुने बताइएको छ ।
त्यस्तै बैठकमा केन्द्रीय सदस्यहरूले रिपोर्टिङ गर्नेछन् । सदस्यहरूलाई २ मिनेटको समय दिइएको छ । बैठकले पार्टी सचिवालय बैठकका निर्णयहरूमा छलफल गर्दै अनुमोदन गर्ने, विधानको व्याख्या अनुमोदन र केन्द्रीय विभागको प्रमुख मनोनयनको निर्णय पनि गर्नेछ ।
यसैगरी पूर्वकेन्द्रीय सदस्यहरूलाई पुनः जिम्मेवारी दिने, पार्टीको निर्वाचन आयोगमा मनोनयन गर्ने र रणनीतिक समूह गठनका विषयमा पछि छलफल र निर्णय हुने बताइएको छ ।
त्यसैगरी संगठन सबलीकरणका लागि केन्द्रीय समिति, केन्द्रीय विभागलाई थप जिम्मेवारी दिने, विदेशमा रहेका नेपाली नागरिकहरूलाई मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने, सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर बारे प्रगति रिपोर्ट र अभियान थप प्रभावकारी बनाउने विषय पनि बैठकको एजेन्डा रहेको छ ।
यस्तै, अधिवेशन प्रतिनिधि समय विन्दु (केन्द्रीय विभाग, प्रदेश विभागको नयाँ नियुक्ति), मधेश प्रदेश सहमहामन्त्री सिफारिस, पार्टी सचिवालयबाट अनुमोदन भएको पार्टी केन्द्रीय कार्यालयको अनुमानित बजेट प्रस्तुत र सांसदहरूको लेवि लगायतका विषय पनि बैठकको एजेन्डामा समावेश छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij