Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

अब इम्बोस्ड नम्बर अनिवार्य

अब इम्बोस्ड नम्बर अनिवार्य, राइड सेयरिङबारे एकरूपता कायम गरिने

अब इम्बोस्ड नम्बर अनिवार्य, राइड सेयरिङबारे एकरूपता कायम गरिने


  • 680
    Shares

    • images
    अब इम्बोस्ड नम्बर अनिवार्य, राइड सेयरिङबारे एकरूपता कायम गरिने
    images

    काठमाडौं । सवारी साधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नु पर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा मंगलबार बसेको प्रदेशमन्त्री तथा सचिवहरू सहभागी विषयगत समितिको बैठकले असोज १ गते देखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्ने र गराउने निर्णय गरेको हो । 

    सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहरूबाट सवारी दर्ता, नामसारी र नवीकरण गर्दा २०८२ असोज १ गते देखि लागू हुनेगरी अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने र सोको कार्यान्वयनका लागि प्राविधिक सहयोग विभागले उपलब्ध गराउने र गृह मन्त्रालयसँग समन्वय गरी ट्राफिक प्रहरी समेत परिचालन गरी प्रभावकारी नियमन गर्ने बैठकको निर्णय रहेको छ ।  

    यसै गरी सुरक्षण मुद्रण सम्बन्धी ऐन, २०८१ को दफा ९ अनुसार सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबिच छपाइ गर्न बाँकी सवारी चालक अनुमति पत्र छपाइको लागि गत ज्येष्ठ ९ गते समझदारी पत्रमा हस्ताक्षर भएको सन्दर्भमा सुरक्षण मुद्रण केन्द्रले २०८२ आषाढ मसान्त सम्ममा प्रथम चरणको सवारी चालक अनुमति पत्र उत्पादन सुरु गर्ने गरी २०८२ जेठ ९ गते केन्द्र र यातायात व्यवस्था विभागबिच सहमति गरिएकोमा भाद्र मसान्तभित्र यथाशीघ्र छपाइ शुरु गर्न केन्द्रलाई अनुरोध गर्ने पनि बैठकले निर्णय गरेको मन्त्रालयले जनाएको छ । 

    यसैगरी सवारी चालक अनुमति पत्र छपाइका लागि कोशी प्रदेश, बागमती प्रदेश  र गण्डकी प्रदेशले आवश्यक खरिद प्रक्रिया अगाडि बढाइसकेको सन्दर्भमा सवारी चालक अनुमति पत्र छपाइको कार्य अविलम्ब सुचारु गर्न सुरक्षण मुद्रण केन्द्रले अनुमति दिन अनुरोध गर्ने पनि निर्णय भएको छ । 

    बैठकले १० वर्ष अवधिको सवारी चालक अनुमति पत्र वितरणका लागि राजश्वमा एकरूपता कायम गर्ने, तथ्याङ्कहरुलाई डिजिटलाइज गर्ने, भुक्तानी प्रक्रियालाई विद्युतीय माध्यममा लैजाने, सफ्टवेयर प्रणालीलाई चुस्त र व्यवस्थित पार्ने, बेरुजू फर्स्यौटलाई प्रभावकारी बनाउने, राइड सेयरिङबारे एकरूपता कायम गरी लागु गर्ने लगायतका निर्णय पनि गरेको छ । 

    संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । 

    मन्त्री दाहालले संविधान तथा ऐनहरूले निर्दिष्ट गरेको व्यवस्थाहरू कार्यान्वयन गर्दै संघीयता कार्यान्वयनलाई बलियो पार्न आवश्यक रहेको बताए । तीनै तहको समन्वय र सहकार्यबाट संघीयता कार्यान्वयन प्रभावकारी बनाउनु पर्नेमा जोड दिँदै मन्त्री दाहालले समितिका निर्णयहरू कार्यान्वयन मार्फत नागरिकलाई सेवा छरितो पार्ने पार्न सकिने समेत बताए । 

    यस्तै मन्त्रालयका सचिव केशवकुमार शर्माले बैठकबाट विगतमा भएका निर्णयहरूको समीक्षा गर्दै आगामी कार्यदिशाबारे महत्त्वपूर्ण निर्णयहरू भएको बताए । 

    प्रकाशित मिति :श्रावण २० २०८२ मंगलवार - १६:०२:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij