२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ध्रुवबहादुर प्रधानले सभामुख देवराज घिमिरेको भूमिकामाथि प्रश्न उठाएका छन् । सोमबार (साउन १९) प्रतिनिधिसभा बैठकमा उनले भिजिट भिसा प्रकरणमा सभामुखले सरकारपक्षीय भूमिका खेलेको आरोप लगाएका हुन् ।
भिजिट भिसा आफैँमा समस्या नभएको उनले उल्लेख गरे । उनले सरकारको नियतमा समस्या रहेको बताए । भ्रष्टाचार र मानव तस्करीका मुद्दामा जनप्रतिनिधिले आवाज उठाउँदा कार्यकारी तहबाट संविधानविरोधी भनेर खारेज गर्न खोजिएको भन्दै उनले आपत्ति जनाए ।
उनले भिजिट भिसा प्रकरणका कारण संसद्मा रहेको विवाद समाधानका निम्ति अग्रसर हुन आग्रह गरे । भिजिट भिसा प्रकरणको छानबिन गर्न संसदीय समिति गठन नगरेसम्म आफ्नो पार्टीको आन्दोलन जारी रहने उनले बताए ।
प्रतिनिधिसभा बैठकमा सांसद ध्रुवबहादुर प्रधानको भनाइ पढ्नोस्–
समस्या भिजिट भिसाको होइन । समस्या नियतको हो । भिजिट भिसामा त सबै जान्छन् । श्रम मन्त्रालयका विभिन्न संयन्त्रहरूले मानिसलाई विदेशमा पठाउने गरेका छन्, जसमा इमिग्रेसन पनि जोडियो, जुन गृह मन्त्रालय मातहत रहेको छ । यसमा कमी–कमजोरी देखियो । ३० लाख जनताको प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले यसको विरोध गर्दा व्यवस्था र संविधानविरोधी भनेर कार्यकारी व्यक्तिबाट अभिव्यक्ति आउनु एकदमै खेदजनक छ । हामी समाधान चाहन्छौँ । सभामुखज्यूले पनि सहयोगका लागि आवश्यक केके गर्नुपर्ने हो गर्नुपर्यो । सरकारपक्षीय भएर सोचिदिनु भएन । त्यसको समाधान निकाल्नको लागि क्षमातावानु हुनुहुन्छ सभामुख महोदय, त्यसतर्फ प्रयास गरौँ । न्युज एजेन्सी नेपाल
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij