२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । कोरोना भाइरस सङ्क्रमित इलामकी ३९ वर्षीया एक महिलाको नोबेल मेडिकल कलेज, विराटनगरमा उपचारका क्रममा मृत्यु भएको छ । उनको भर्ना भएको दुई घण्टाभित्रै मंगलबार बिहान मृत्यु भएको नोबेल अस्पतालका सूचना अधिकारी नवीन दाहालले जानकारी दिए ।
ती महिलालाई बिर्ता सिटी अस्पतालमा गरिएको प्रारम्भिक एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि गम्भीर अवस्थामा नोबेल अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियाे । सूचना अधिकारी दाहालका अनुसार उनलाई श्वासप्रश्वासमा निकै समस्या थियो र अस्पताल पुर्याउँदा सीपीआर समेत दिनुपरेको थियो ।
यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार नेपालमा कोरोना सङ्क्रमणको दर बढ्दो देखिएको छ । पछिल्लो सात दिनमा मात्रै देशभर २५ जना नयाँ कोरोना भाइरस सङ्क्रमित फेला परेका छन् । सन् २०२५ को सुरुदेखि हालसम्म कुल सङ्क्रमितको सङ्ख्या १८० पुगेको छ । पछिल्लो २४ घण्टामा ८ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
सङ्क्रमणको हिसाबले बागमती प्रदेश सबैभन्दा अगाडि देखिएको छ । पछिल्लो एक हप्तामा भेटिएका २५ सङ्क्रमितमध्ये १८ जना बागमतीका रहेका छन् ।
अन्य प्रदेशको अवस्था :
चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस नेपालमा पहिलो पटक सन् २०२० को जनवरीमा चीनबाट फर्किएका एक विद्यार्थीमा पुष्टि भएको थियो । त्यसको केही महिनापछि यसले भयावह रूप लिएको थियो । हालसम्म कोरोनाका कारण नेपालमा १२ हजार ३२ जनाको मृत्यु भइसकेको छ ।
यसैबीच कोरोनाबाट एक महिलाको मृत्यु भएसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी थालेको छ । मन्त्रालयका सूचना अधिकारी भक्तबहादुर केसीका अनुसार नेपालमा पहिले ल्याइएका खोपहरू पर्याप्त मात्रामा स्टकमा रहेका छन् र छिट्टै खोप लगाउने प्रोटोकल तयार हुँदैछ । परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले मन्त्रालयसँग करिब ७ लाख डोज खोप स्टकमा रहेको जानकारी दिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij