२०८२ भाद्र २२ गते आइतवार
काठमाडौं । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।
आइतबार आयोजित १७औँ नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले ‘मध्य नेपालको सुन्दर शहरः समृद्ध र सुसंस्कृत भरतपुर महानगर’ भन्ने मूल नारालाई साकार पार्ने लक्ष्यका साथ बजेट प्रस्तुत गरेको घोषणा गरे ।
बजेटले अधुरा तथा क्रमागत आयोजनाहरूको निरन्तरता, शहरी पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई मुख्य प्राथमिकतामा राखेको छ।
कुल बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक आयबाट रु १ अर्ब ८० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु २ अर्ब १५ करोड ७६ लाख, संघीय राजस्व बाँडफाँडबाट रु ३१ करोड ९१ लाख, र प्रदेश राजस्व बाँडफाँडबाट रु १४ करोड ४ लाख ४१ हजार अनुमान गरिएको छ।
साथै, जनसहभागिताबाट रु ५ करोड, बैंक मौज्दातबाट रु ७० करोड र सडक बोर्ड नेपालबाट रु ३ करोड प्राप्त हुने प्रक्षेपण गरिएको छ।
क्षेत्रगत प्राथमिकता र विनियोजन
शहरी पूर्वाधार: बजेटले शहरी पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको छ। अधुरा तथा क्रमागत आयोजना सम्पन्न गर्न रु ६० करोड, बहुवर्षीय ठेक्काको भुक्तानीका लागि रु २४ करोड ५० लाख र वडास्तरीय आयोजनाका लागि कुल रु ९४ करोड ७८ लाख विनियोजन गरिएको छ।
साथै, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरो कार्य सम्पन्न गर्न साझेदारीका लागि रु ४ करोड र महानगरको प्रशासनिक भवन निर्माणका लागि पनि रु ४ करोड छुट्याइएको छ।
कृषि तथा पशुविकास: ‘उत्पादन वृद्धिमार्फत् आत्मनिर्भर महानगर’ बनाउने लक्ष्यका साथ कृषि तथा पशुविकास कार्यक्रमका लागि रु ९ करोड बजेट विनियोजन गरिएको छ। यसमा कृषकको क्षमता अभिवृद्धि, एग्रो टुरिजम प्रवर्द्धन र दूध उत्पादनमा अनुदान जस्ता कार्यक्रम समावेश छन्।
शिक्षा र स्वास्थ्य: गुणस्तरीय शिक्षामा पहुँच बढाउन शैक्षिक कार्यक्रमका लागि रु १० करोड ५० लाख र स्वास्थ्य सेवा सुधारका लागि रु ३ करोड भन्दा बढी बजेट विनियोजन गरिएको छ। भरतपुर अस्पतालमा निःशुल्क ओपिडी टिकट अनुदानलाई निरन्तरता दिइनेछ।
सामाजिक विकास र रोजगारी: ‘छोरीहरुको लागि बाल उमङ्ग जीवन बीमा’ कार्यक्रमलाई निरन्तरता दिइएको छ। युवा तथा खेलकुद विकासका लागि रु १ करोड ५० लाख, मेयर कप र उपमेयर कप खेलकुदका लागि क्रमशः रु ३० लाख र रु १२ लाख विनियोजन भएको छ। साथै, उद्यमशीलता विकास र रोजगारी सिर्जनाका लागि रु १ करोड छुट्याइएको छ।
वातावरण र सरसफाइ: मासिक ७ हजार लिटरसम्म खानेपानी निःशुल्क गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै वातावरण, सरसफाइ र हरियाली प्रवर्द्धनका लागि रु ४ करोड बजेट विनियोजन गरिएको छ।
बजेट प्रस्तुत गर्दै उपप्रमुख अधिकारीले यो बजेटले महानगरवासीको जीवनस्तरमा प्रत्यक्ष सकारात्मक परिवर्तन ल्याउने र दीगो विकासको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij