२०८२ भाद्र १ गते आइतवार
स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० आई शृङ्खलामा नेदरल्याण्ड्सलाई पराजित गर्दै नेपाल विजयी भएको छ ।
स्कटल्याण्डको ग्लासगोमा गए राति सम्पन्न खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै तीन खेलमा ४ अङ्क जोडेको नेपाल नेट रनरेटमा नेदरल्यान्ड्सलाई पछाडि पार्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।
खेलमा एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलव चार ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्यो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रनको योगदान दिए । उनले ५१ बलमा ६ चौकाको सहयोगमा ६५ रनको अर्धशतकीय पारी खेले ।
त्यसैगरी, नेपालका अर्का ओपनर आसिफ शेखले कुशलसँग पहिलो विकेटका लागि २२ रनको साझेदारी गर्दै ६ बलमा सात रनका साथ आउट भए । दोस्रो विकेटका लागि कुशलले भीम सार्कीसँग मिलेर ५४ रनको साझेदारी गरे । भीमले १६ बलमा दुई चौका र एक छक्काको सहयोगमा २७ रनमा आउट भए ।
कप्तान रोहितकुमार पौडेलले सात बलमा पाँच रन जोड्दै आउट भए । आरिफ शेखले २३ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ३९ रन जोडे । उपकप्तान दीपेन्द्रसिंह ऐरीले १२ बलमा १६ रनमा अविजित रहे । लोकस बम चार बलमा १२ रनमा अविजित रहे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij