२०८२ चैत्र २ गते सोमवार
समीर राई, अध्यक्ष- केपिलासगढी गाउँपालिका
शिक्षामा गरेको लगानी तत्काल देखिन्न । यसले राजनीतिमा पछि परिएला तर हामीले आज आफूलाई अगाडि देखाउन खोज्दा भोलि पालिका र देश नै पछि पार्ने अवस्था बनाउनु हुँदैन ।
शिक्षा व्यवस्थापन सूचना प्रणाली (ईमीस) हेर्ने हो भने विद्यार्थी संख्या निरन्तर घट्दो छ । म निर्वाचित हुँदा पालिकामा ३६ सय विद्यार्थी थिए, दुई वर्षमा ५०० विद्यार्थी घटेका छन् । हाम्रो जस्तो विकट पालिकाले शैक्षिक सुधार नगर्ने हो भने बसाइँसराइ रोक्न सकिन्न । गाउँबाट बसाइँसराइ रोक्ने हो भने सरकारले शिक्षा सुधार्न काम गर्नुपर्छ ।
नेपालको अझ हाम्रो जस्तो गाउँघरको राजनीति शिक्षकको हातमा छ । जनप्रतिनिधिले जति राम्रो काम गरून्, जनप्रतिनिधि आबद्ध पार्टीमा शिक्षकले वाहवाह भन्छन्, अर्को पार्टीमा आबद्ध शिक्षकहरूले कसरी हो कमजोरी खोजेर हतोत्साहित गर्न खोजिहाल्छन् ।
कर्मचारीभित्र पनि यति धेरै खुलेर राजनीति हुँदैन । शिक्षकमा धेरै नै छ र यसलाई नियन्त्रण गर्नुपर्छ । स्थानीय तहले यस्तो नगर्न आग्रह गर्छ तर हरेक दलका शिक्षक संगठन छन्, उनीहरूले मान्दैनन् ।
स्थानीय विद्यालयका लागि स्थानीय शिक्षककै उत्पादन गर्ने रणनीतिमा पनि काम गरिरहेका छौं । यहाँ शिक्षकहरू कर्णाली र सुदूरपश्चिम बाटसम्म आउनुभएको छ । स्थानीय शिक्षक हुँदा धेरै दृष्टिकोणले सहज शैक्षिक वातावरण बन्छ ।
यसका लागि पालिकाले कक्षाहरू चलाउन थालेको छ । अहिले ९/१० कक्षामा पढ्ने विद्यार्थीलाई भोलि के बन्ने भनेर सोध्यो भने उनीहरूसँग कुनै सपना छैन । ११/१२ कक्षा पढेका विद्यार्थीलाई सोध्दा पनि उनीहरूसँग सपना देखिँदैन ।
हुन त बालबालिकाको सपना परिवार र समाजले बनाइदिने होला । त्यसैले हामीले विद्यार्थीलाई सिकाउनुपर्छ । एकजना विद्यार्थी कर्मचारी बन्न चाहन्छ भने उनलाई लोकसेवा पास गर्ने बाटो कसले देखाइदिने ? गाउँघरमा शहरबजारमा जस्तो धेरै सुविधा छैन ।
हाम्रा विद्यार्थीलाई के पढेर शिक्षक बन्छु भन्ने पनि थाहा छैन । अहिले पालिकाले विद्यार्थी र अभिभावकसँग छुट्टाछुट्टै छलफल गर्दैछ । अलि शिक्षित र सचेत परिवारबाट आउने विद्यार्थीले शैक्षिक लगायत अन्य नतिजा राम्रो ल्याइरहेका छन् ।
गाउँमा पनि अधिकांश कर्मचारी र शिक्षकका सन्तान निजी स्कुलमा पढ्छन् । बाँकी अभिभावकको पनि गिटी कुटेर पनि मेरो बच्चालाई पनि राम्रो शिक्षा दिन्छु भन्ने सोच देखिन्छ । मेरै बच्चाहरू पनि निजीमा पढे तर म त्यतिबेला चुनावबाट निर्वाचित भएको थिइनँ ।
गाउँमा हिँड्दा ग्रामीण बच्चाको अवस्था, गाउँको अवस्था हेरेर दुःख लाग्छ । यी बच्चाहरूको भविष्य के होला भन्ने लाग्छ । हामी ठूलाठूला भाषण गरिरहेका हुन्छौं । ठूलाठूला नारा दिइरहेका हुन्छौं । तर भोलि हाम्रा बस्तीहरू चलाउने यिनै बालबालिका नै हुन् । उनीहरूलाई राम्रा र सक्षम बनाउन सकिएन भने यो ठाउँ राम्रो होला र ?
(पालिका अध्यक्ष राईसँग अनलाइनखबरकर्मी सुदर्शन खतिवडाले गरेको कुराकानीमा आधारित)
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij