२०८३ बैशाख १७ गते बिहिवार
काठमाडौं । धनुषाका विभिन्न मठ-मन्दिर तथा गुठीका जग्गामा बनाइएका घरटहरा हटाउने तयारी गरिएको भन्दै स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका छन् ।
‘गुठी, कुटी घर जग्गा व्यवस्थापन संघर्ष समिति’ को आह्वानमा बिहीवार धनुषाका पीडित पक्षले जनकपुरधाममा प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । मधेस प्रदेश सरकारको निर्णय भन्दै सञ्चारमाध्यममा सार्वजनिक भएका सूचनाप्रति असन्तुष्टि जनाउँदै संघर्ष समितिले आज जिल्ला प्रशासन कार्यालय, धनुषामा ज्ञापनपत्र बुझाएको छ ।
विगत लामो समयदेखि बसोवास गर्दै आएका हजारौं परिवारलाई विस्थापित गर्ने उद्देश्यले यस्तो कदम चाल्न लागिएको भन्दै उनीहरूले आपत्ति प्रकट गरेका छन् । ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार वि।सं। २०६८ सालमै जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान, नापी र मालपोत कार्यालयको संयुक्त टोलीले स्थलगत निरीक्षण गरी घर-जग्गाको नाप-नक्शा र प्रमाणीकरण गरिसकेको थियो । गुठीको जग्गालाई उचित मूल्य निर्धारण गरी ‘रैकर’ ९निजी० सरह बनाउने प्रक्रिया अगाडि बढिरहेका बेला एक्कासि घरटहरा भत्काउने आशयको सूचना सार्वजनिक हुनु अनपेक्षित रहेको संघर्ष समितिको ठहर छ ।
समितिले गुठी संस्थान ऐन, २०३३ को दफा २५ लाई उद्धृत गर्दै २०४६ साल चैत २६ गतेअघि नै निर्माण भइसकेका घरहरू ‘रैतान नम्बरी’ मा परिणत हुनुपर्ने कानुनी व्यवस्था रहेको स्मरण गराएको छ । दशकौंदेखि बसोबास गरिरहेका स्थानीयलाई विस्थापित गर्दा गम्भीर मानवीय र आर्थिक संकट निम्तिने चेतावनी समेत दिइएको छ ।
जनकपुरधाम उपमहानगरपालिका लगायत जिल्लाका विभिन्न स्थानमा हजारौं परिवार पुस्तौंदेखि यस्ता जग्गामा बस्दै आएका छन् । ती घरहरू निर्माण गर्दा तत्कालीन समयमा कुनै पनि निकायले अवरोध नगरेको यथार्थलाई बिर्सेर अहिले हटाउन खोज्नु न्यायपूर्ण नभएको प्रदर्शनकारीहरूको तर्क छ ।
संघर्ष समितिले सरकारलाई आफ्नो निर्णयमाथि पुनर्विचार गर्न र पुस्तौंदेखि भोगचलन गर्दै आएका स्थानीयको उठिबास नलगाउन माग गरेको छ । माग पूरा नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी समेत उनीहरूले दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij