Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

शिक्षक आन्दोलन: सरकारले ऐन बनाउने वाचा गरे आन्दोलनको मोडालिटी परिवर्तन, कक्षा १२ को परीक्षामा पनि सामेल हुने

शिक्षक आन्दोलन: सरकारले ऐन बनाउने वाचा गरे आन्दोलनको मोडालिटी परिवर्तन, कक्षा १२ को परीक्षामा पनि सामेल हुने


  • 5.3K
    Shares

    • images
    शिक्षक आन्दोलन: सरकारले ऐन बनाउने वाचा गरे आन्दोलनको मोडालिटी परिवर्तन, कक्षा १२ को परीक्षामा पनि सामेल हुने

    काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन बन्ने विश्वासिलो प्रतिबद्धता आए आन्दोलनको मोडालिटी परिवर्तन गर्ने जनाएको छ। २७ दिनदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले सरकारबाट ऐन बन्ने विश्वासिलो आधार आउनुपर्ने बताएका हुन्।

    महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्, ‘शिक्षा मन्त्रालयले आफूहरूसँगको सहमतिको ९ बुँदे प्रस्ताव कार्यान्वयन गर्ने निर्णय र ऐन बन्ने आधार दियो भने आन्दोलन के गर्ने भनेर निर्णय गछौँ।’

    विद्यालय शिक्षा विधेयक संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत उपसमितिमा छलफलमा नै छ। १६३ दफा रहेको विधेयकका १२७ वटा दफामा छलफल भएर सहमति जुटेको छ। समितिले वैशाख १८ गतेसम्म दफादार छलफल सक्ने जनाएको छ। महासंघकी सहअध्यक्ष पराजुलीले वैशाख १८ गतेसम्म उपसमितिले दफावार छलफल सक्ने जनाएको बताइन्। 

    ‘उपसमितिका सदस्यज्यूहरूले १८ गतेसम्म दफावार छलफल सक्छौँ भन्नुभएको छ। १८ गते छलफल सकेर शिक्षा स्वास्थ्य समितिले १९ गते संसदमा पेस गरेर प्रक्रिया सुरु हुनुपर्‍यो। ऐन यति दिनभित्र जारी गर्छौँ भनेर निर्णय भयो भने आन्दोलन के गर्ने भनेर छलफल गर्छौं। हाम्रो आन्दोलन त ऐन जारी नभएसम्म नै हुन्छ,’ उनले भनिन्, ‘सरकारले १९ गतेसम्म निर्णय गर्‍यो भने आन्दोलन कसरी लैजाने भनेर निर्णय गछौँ।’

    शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले सरकारले विद्यालय शिक्षा ऐन बन्ने विश्वासिलो आधार दिए कक्षा १२ को परीक्षामा सहयोग गर्ने बताएका छन्। ‘कक्षा १२ को परीक्षा पनि नजिकिँदै छ, सरकारले ऐन बन्ने बाटो देखायो भने हामी कक्षा १२ को परीक्षामा सामेल हुने भनेर निर्णय गरेका छौँ,’ महासचिव थापाले भने। 

    राष्ट्रिय परीक्षा बोर्डले वैशाख २१ गते देखि कक्षा १२ को परीक्षा तालिका प्रकाशित गरेको छ। ११ गते सुरु हुने भनिएको सो परीक्षा बोर्डले २१ गतेलाई सारेको थियो। परीक्षा सुरु हुन एक साता मात्र बाँकी छ। शिक्षक आन्दोलन नटुंगिएका कारण कक्षा १२ को परीक्षा के हुन्छ भन्ने अन्योल बढेको छ। शिक्षक महासंघले माग सम्बोधन गर्न मन्त्रिपरिषदबाट निर्णय गर्नुपर्ने बताएको छ।

    प्रकाशित मिति :बैशाख १५ २०८२ सोमवार - १८:३४:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij