२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । शिक्षक र प्रहरीबिचको झडपपछि नेपाल शिक्षक महासंघले बैठक बोलाएको छ । आन्दोलनले ठुलो रूप लिएपछि महासंघले आकस्मिक बैठक बस्ने निर्णय गरेको हो ।
आज दिउँसो ३ बजे बानेश्वरको रत्नराज्य माविमा महासंघले बैठक बोलाइएको छ । बैठकमा महासंघका पदाधिकारीहरू, जिल्ला अध्यक्षहरू, आन्दोलन परिचालन समितिका पदाधिकारीहरूको उपस्थिति हुने छ । बैठकमा आज भएको घटना तथा समग्र आन्दोलनको विषयमा छलफल हुने महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिएका छन् ।
प्रहरीसँगको झडपपछि एक दर्जनभन्दा बढी शिक्षकहरू घाइते भएका छन् भने घाइते भएका शिक्षकहरूलाइ सिभिल हस्पिटल लैजान भनिएको छ र सामान्य चोट लागेका शिक्षकहरूलाई आन्दोलनस्थलमै उपचार भइरहेको नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाले बताएका छन् ।
काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलनमा शिक्षक र प्रहरीसँग झडप भएको छ । शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको छ ।
शिक्षकहरूले निषेधित क्षेत्र तोड्न प्रयास गरेपछि प्रहरीले बल प्रयोगपछि शिक्षकहरूले पनि ढुंगामुढा गर्न थालेका थिए । प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहोरासमेत प्रयोग गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij