Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, शिक्षक आन्दोलन टुंगिने सम्भावना

शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, शिक्षक आन्दोलन टुंगिने सम्भावना


  • 20.4K
    Shares

    • images
    शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, शिक्षक आन्दोलन टुंगिने सम्भावना

    काठमाडौं । आन्दोलनरत  शिक्षकको  माग सम्बोधन गर्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गरेको छ। सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले ती माग पूरा गरे शिक्षक महासंघको आन्दोलन भोलि नै रोकिने छ। शिक्षा मन्त्रालयका एक अधिकारीका अनुसार शिक्षक महासंघसँगको छलफलपछि सो प्रस्ताव तयार गरिएको हो।

    ‘शिक्षकहरूको ग्रेड मिलान, विद्यालय कर्मचारी, ईसीडी शिक्षक, शिक्षक अस्पताल खोल्ने, उपचार खर्च दिने, शिक्षकहरूको मर्यादाक्रम तोक्ने, अस्थायी शिक्षकको बिरामी बिदा सञ्चित गर्ने, राहत शिक्षकको दुर्गम भत्तालगायतका विषयमा मन्त्रिपरिषदमा प्रस्ताव लैजाने सहमति शिक्षक महासंघसँग भएको छ,’ ती अधिकारीले भने।

    त्यति माग पूरा भए आन्दोलन फिर्ता लिने वचन शिक्षकहरूले दिएको उनको भनाइ छ।

    ‘शिक्षक महासंघका पदाधिकारीले यी विषय सम्बोधन गर्नुभयो भने हामीलाई आन्दोलन फिर्ता लिन र शिक्षक साथीहरूलाई पनि बुझाउन सजिलो हुन्छ भन्नुभएको थियो,’ उनले थपे, ‘आन्दोलनका कारण शैक्षिक क्षेत्र ठप्प भएकाले मन्त्रालयले पनि यो विषय छिटो टुंग्याउन खोजेको छ। सोही अनुसार मन्त्रिपरिषदमा ७ बुँदे प्रस्ताव लैजाने तयारी भएको हो।’

    शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले शिक्षा मन्त्रालयसँग ७ वटा विषय तत्काल सम्बोधन गर्ने सहमति भएको पुष्टि गरिन्। ‘माग पूरा गर्ने भनेर सहमतिमा हस्ताक्षर त भएको छैन। तर शिक्षा मन्त्रालयले हामीसँगको सहमतिमा नै ७ वटा विषय मन्त्रिपरिषदमा लैजाने तयारी भएको हो। मन्त्रिपरिषद्ले ७ बुँदे प्रस्तावलाई पास गर्‍यो भने आन्दोलनको मोडालिटी परिवर्तन गर्छौं,’ उनले भनिन्, ‘मन्त्रिपरिषदबाट के निर्णय हुन्छ, हामी पनि त्यसको प्रतीक्षामा छौँ।’

    उनले १२ बजे देखि ३ बजेसम्म गर्दै आएको आन्दोलन बिहान ९ देखि १२ बजेको समयमा सारिएको पनि बताइन्। थप निर्णय मन्त्रिपरिषदको निर्णयपछि गरिने उनको भनाइ छ। यससँगै सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषद बैठकले शिक्षकको माग सम्बोधन गर्ने सम्भावना बढेको छ। मन्त्रिपरिषदले निर्णय गरे सोमबार नै शिक्षक महासंघको आन्दोलन टुंगिने छ। 

    शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका शिक्षक महासंघका पदाधिकारीले माग सम्बोधन गर्ने विषयमा छलफल गरेका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहाचिव मदनराज जोशी सहभागी थिए।

    चैत्र २० गते देखि आन्दोलन सुरु गरेका शिक्षकहरूले चैत्र २५ गते देखि शैक्षिकसत्र ठप्प पारेर शैक्षिक आन्दोलन सुरु गरेका थिए। देशभरका शिक्षक काठमाडौँ आएर आन्दोलनमा उत्रिएका थिए। 

    प्रकाशित मिति :बैशाख ७ २०८२ आइतवार - १७:४५:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij